काठमाडौं। खेलकुदको बजेट घटेर आएको छ। चालु आर्थिक वर्षमा ६ अर्ब ८ करोडको बजेट रहेकोमा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ४ अर्ब ३ करोड रुपैयाँ बजेट घोषणा गरेको हो। यद्यपि, चालु आर्थिक वर्षमा यो बजेट युवा तथा खेलकुदको संयुक्त थियो। अहिले भने युवा श्रम तथा रोजगारमा मिसिँदा र खेलकुद शिक्षामा मिसिएकाले यो खेलकुदकोमात्र बजेट हो।
यसपाला बजेटमा फुटबल र क्रिकेटका पूर्वाधारलाई जोड दिएको छ। फुटबलका १० स्टेडियमको स्तरोन्नती गरेर फ्लडलाइटसहितको ८ हजार क्षमताको रंगशाला बनाउने घोषणा छ। त्यस्तै, देशका ७ स्थानमा कम्तिमा २ हजार क्षमताका इन्डोर मल्टिप्रपोज स्टेडियम बनाउने योजना छ।
अघिल्लो बजेटले क्रिकेट पूर्वाधारलाई जोड दिएको थियो। यसपालाको बजेटले पनि क्रिकेटको पूर्वाधारमा प्राथमिकतामै राखे पनि मोडालिटी परिवर्तनको कुरा गरेको छ। प्रमुख ८ शहरमा आधुनिक क्रिकेट स्टेडियममा बनाउने बताइएको छ।
‘मुलपानी क्रिकेट मैदान तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियम र कैलालीको फाप्ला क्रिकेट रंगशालाको निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौँ।’ बजेटमा भनिएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि ६ अर्ब ८ करोड रुपैयाँको बजेट विनियोजन गरिएको थियो। यो बजेटमार्फत झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए। यसको उल्लेख यो बजेटमा छैन।
‘काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ रंगशाला निर्माण गर्न ४२ करोड विनियोजन गरेको छु,’ बजेटमा भनिएको थियो, ‘कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति गर्न ४० करोड विनियोजन गरेको छु।’
त्यस्तै, कीर्तिपुर क्रिकेट स्टेडियमका बारेमा बजेट मौन छ। यो स्टेडियममा त्रिभुवन विश्वविद्याल र नेपाल क्रिकेट संघ (क्यान) बीचको सम्झौता सकिए पनि नवीकरण भएको छैन।
त्यस्तै, यो बजेटले कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद गराउन र मधेशमा प्रस्तावित ११ औँ राष्ट्रिय खेलकुद गराउन बजेट बिनियोजन गराएको छ।
यस्ता थिए पछिल्ला छ आर्थिक वर्षमा खेलकुदको बजेट
२०८२/८३ को बजेट
२०८२/८३ को बजेटमार्फत झापाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता आयोजना गर्न सकिने अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो। त्यसबाहेक अधिकांश निर्माणाधीन पुरानै खेल संरचनामा बजेट केन्द्रीत थियो।
‘काठमाडौंको मुलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देहीको सिद्धार्थ रंगशाला निर्माण गर्न ४२ करोड विनियोजन गरेको छु,’ उनले भने, ‘कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नति गर्न ४० करोड विनियोजन गरेको छु।’
त्यस्तै, चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेर बीचमै छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको टुंगो लगाउने जनाइएको थियो।
त्यस्तै, सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुदका लागि सरकारले ५४ करोड छुट्याइए पनि यो खेलकुद हुन सकेन।
२०८१/८२ को बजेट
आर्थिक वर्ष २०८१/८२ मा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट छुट्याइएको थियो।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका लागि ६० करोड छुट्याइएको थियो। यद्यपि, राजनीतिक खिचातानीबिच चालु आर्थिक वर्षमा यो प्रतियोगिता आयोजना नै गरिएन। खेलकुद पूर्वाधारमा १ अर्ब ३० करोड छुट्याइएको थियो।
खेलकुदमा निजी क्षेत्रको संलग्नता बढाएर खेलकुद अर्थतन्त्रको विकास गर्ने उल्लेख गर्दै निजी संघ संस्थाको सामाजिक उत्तरदायित्वलाई खेलकुदमा आबद्ध गर्दै लग्ने बजेटमा उल्लेख थियो।
२०८०/८१ को बजेट
यो वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको थियो। आर्थिक वर्ष २०८०/८१ को बजेटमा खेलकुदतर्फ क्रिकेट रंगशाला स्तरोन्नति र निर्माणमा केन्द्रित थियो। काठमाडौंका त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, मुलपानी रंगशाला सम्पन्न लगायत विभिन्न क्रिकेट रंगशाला निर्माणमा बजेट विनियोजन गरिएको हो।
त्यस्तै, खेल पर्यटनमा टेवा पुर्याउने गरी साहसिक खेलकुदको विकासका लागि पनि बजेट विनियोजन गरिएको थियो।
२०७९/८० मा खेलकुद
आर्थिक वर्ष २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड बजेट विनियोजन गरेका थिए। उनले पेस गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि अघिल्लो आर्थिक वर्षको तुलना २८ करोड कम विनियोजन गरिएको थियो।
बजेटमा मुलपानी मैदान निर्माण सम्पन्न गर्ने लक्ष्य राख्दै पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
२०७८/७९ मा खेलकुद
आर्थिक वर्ष २०७८/७९ मा युवा तथा खेलकुदमा बजेट बढेको थियो। आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३६ करोड रकम विनियोजन भएकोमा आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ७४ करोड विनियोजन भएको थियो।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र संचालनमा ल्याउने गरी निर्माण प्रारम्भ गर्नेदेखि मोरङको वैजनाथपुर, काठमाडौंको मुलपानी रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न बजेट छुट्याएका थिए।
त्यस्तै, कास्कीमा निर्माणाधीन पोखरा रंगशाला सोही वर्ष निर्माण सम्पन्न गर्ने घोषणा गरिएको थियो। यसबाहेक सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युट स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था बजेटमा व्यवस्था गरिएको थियो।
त्यस्तै सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने उल्लेख गरिएको थियो।
२०७७/७८ को बजेट
आर्थिक वर्ष २०७७/७८ मा खेलकुदको बजेट २ अर्ब ३६ करोड रुपैयाँ थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले खेलकुदका पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नवौं राष्ट्रिय खेलकुद लगायतका विषयलाई समेट्दै २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेका थिए।