काठमाडौं। सरकारी राजस्व दाखिला तथा विभिन्न सरकारी भुक्तानीसँग सम्बन्धित अनलाइन प्रणाली शुक्रबार दिउँसोदेखि केही घण्टाका लागि अवरुद्ध हुने भएको छ। डेटा सेन्टरको पावर ब्याकअप प्रणाली स्थानान्तरण गर्न लागिएकाले राजस्व व्यवस्थापनसँग जोडिएका मुख्य डिजिटल सेवा अस्थायी रूपमा बन्द रहने महालेखा नियन्त्रकको कार्यालयले जनाएको हो।
जारी सूचनाअनुसार शुक्रबार दिउँसो साढे ३ बजेदेखि न्यूनतम ४ घण्टा र अधिकतम १४ घण्टासम्म आरएमआइएस, आइपीएफएमएस, सुत्र, एफएमआइएस लगायतका प्रणाली प्रभावित हुनेछन्। यी प्रणालीमार्फत सरकारी राजस्व संकलन, भुक्तानी, लेखा व्यवस्थापन तथा कार्यालय सञ्चालनसम्बन्धी सेवा प्रवाह हुँदै आएको छ।
प्रणाली अवरुद्ध हुँदा बैंक तथा डिजिटल माध्यमबाट हुने सरकारी राजस्व दाखिला, ट्रेजरी भुक्तानी, कार्यालयका लेखा प्रविष्टि लगायतका काम प्रभावित हुनेछन्। बजेट आउने बेलामा सरकारले सबै प्रकारका राजस्व दाखिला र भुक्तानी कारोबार रोकेको छ। यही समय महालेखाले सदुपयोग गरे पनि ट्राफिक प्रहरीको कार्बाहीमा समस्या हुने देखिएको छ।
ट्राफिक प्रहरीले सडकमा नियम उल्लंघनका घटनामा काटेका चिटको जरिवाना अनलाइनमार्फत तिर्न पाइने छैन। यो बेला डिजिटल दाखिलाको सेवा केही समयका लागि बन्द रहने नेपाल प्रहरीले जनाएको छ।
महालेखाको प्रणाली पुनः सञ्चालनमा नआउन्जेल ट्राफिक जरिवाना अनलाइनबाट दाखिला गर्न नसकिने प्रहरीले स्पष्ट पारेको छ। नेपाल प्रहरीले सेवाग्राहीलाई अनावश्यक अन्योलमा नपर्न आग्रह गर्दै समस्या परे ट्राफिक प्रहरीको हेल्पलाइन नम्बर १०३ मा सम्पर्क गर्न सकिने जनाएको छ।
महालेखा नियन्त्रकको कार्यालयद्वारा सञ्चालन हुँदै आएको ‘राजस्व व्यवस्थापन प्रणाली’ सरकारका विभिन्न निकायबीच राजस्व संकलन र भुक्तानी प्रक्रियालाई एकीकृत गर्ने प्रमुख डिजिटल संरचना हो। पछिल्ला वर्षहरूमा सरकारी सेवा क्रमशः अनलाइनमा आधारित हुँदै गएकाले यस्तो प्रणाली अवरुद्ध हुँदा दैनिक प्रशासनिक तथा वित्तीय गतिविधिमा प्रत्यक्ष असर पर्ने गरेको छ। महालेखाले प्रणाली स्तरोन्नति तथा पूर्वाधार व्यवस्थापनको काम सकिएलगत्तै सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याइने जनाएको छ।