काठमाडौं । सगरमाथा दिवसको अवसरमा आज राजधानीमा झाँकीसहित र्याली निकालिएको छ।
आज बिहान ठेमलबाट र्याली निकालिएको थियो। र्यालीमा सांस्कृतिक भेषभूषासहित झाँकी निकालिएको थियो। पदयात्रामा व्यवसायी, आरोही, पर्यटन क्षेत्रसम्बन्धी संघसंस्था, विद्यार्थी, प्रहरी लगायतको उपस्थिति थियो।
र्यालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको पनि उपस्थिति थियो।

सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।
सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनःमापनअनुसार सगरमाथाको उचाइ आठ हजार ८४८ दशमलव ८६ मिटर निर्धारण भएको छ।





