काठमाडौं। नेपाली भलिबल टोली काभा वुमन्स भलिबल च्याम्पियनसीपको फाइनल पुग्न असफल भएको छ। आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इरानले नेपाललाई सोझो सेटमा पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा सम्पन्न सेमिफाइनल खेलमा इरानले एकतर्फी जित निकाल्दै घरेलु समर्थकमाझ नेपाललाई निराश बनाएको हो। वरीयतामा निक्कै अघि रहेको इरानले पहिलो सेट २५-२० ले जितेको थियो। दोस्रो सेटमा थप दवाब बढाउँदै २५-१५ ले इरानले जित निकाल्यो। तेस्रो सेटमा त २५-११ को फराकिलो अन्तरको जित निकाल्न इरान सफल भयो।

नेपालले अब शुक्रबार तेस्रो स्थानका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारतलाई आजै पहिलो सेमिफाइनलमा हराएर काजकिस्तानले फाइनलमा स्थान सुरक्षित गरेको थियो। उपाधिका लागि काजकिस्तान र इरान भिड्नेछन्।