काठमाडौं। नेपाली महिला क्रिकेट टोली एसियन गेस्म छनोटको सेमिफाइनलमा पुगेको छ। आज सम्पन्न खेलमा इण्डोनेसियालाई ४ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
मलेसियाको क्वललाम्पुरस्थित वायोमास मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको इण्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। यसक्रममा कप्तान नि पुटुअयु नन्दाले सर्वाधिक अविजित ५६ रन बनाउँदा नि लुह देवी २३ रनको योगदान दिइन्। बलिङमा मनिषा उपाध्यायले २ विकेट लिँदा रिया शर्माले १ विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक अविजित ४२ रन बनाउँदा सोनी पाख्रिनले २९ तथा कविता कुँवरल १४ रन बनाए।
योसँगै समूह चरणका दुबै खेल जितेर नेपाल सेमिफाइनलमा पुगेको छ। यसअघिको खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो। ६ टोलीसम्मिलित छनोटको समूह ‘ए’मा हङकङ, मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा नेपाल, इन्डोनेसिया र चीन छन्।