BIZMANDU
www.bizmandu.com

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानी बारे छलफल

२०८३ जेठ १४

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानी बारे छलफल
चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच द्विपक्षीय व्यापार तथा लगानी बारे छलफल


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरबीच नेपाल चेम्बर अफ कमर्स सचिवालयमा भेटवार्ता भएको छ।

Vigo
GBIME
Tata

भेटका क्रममा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानी प्रवर्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षालगायतका विषयमा विस्तृत छलफल भएको जनाइएको छ। सो अवसरमा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि अत्यन्त महत्वपूर्ण आर्थिक साझेदार रहेको बताएका थिए।

विशेषगरी वैदेशिक रोजगारी, विप्रेषण (रेमिट्यान्स) तथा लगानीका सम्भावनाका कारण साउदी अरेबियाको भूमिका नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको उनले उल्लेख गरेका थिए। त्यसक्रममा अग्रवालले हाल नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको जानकारी दिँदै करिब ९ मिलियन डलर बराबरको आयात तथा १ मिलियन डलर बराबरको निर्यात भइरहेको बताएका थिए।

श्रम सहकार्यमा मात्र सीमित नभई व्यापार, पर्यटन, लगानी तथा आर्थिक विकासका क्षेत्रमा समेत सहकार्य विस्तार गर्नुपर्ने उनको धारणा थियो। अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडीबुटी, सूचना प्रविधिलगायतका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनपछि स्थिर सरकार बनेकाले निजी क्षेत्र उत्साहित रहेको र नेपालमा साउदी लगानी विस्तार गर्न आग्रह समेत गरेका थिए।

खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै उनले साउदी अरेबियाले हजारौं नेपाली युवालाई रोजगारी प्रदान गर्दै आएको बताएका थिए। निर्माण, पूर्वाधार, सुरक्षा सेवा, आतिथ्य तथा पर्यटन, स्वास्थ्य सेवा, यातायात तथा लजिस्टिक्स क्षेत्रमा नेपालीहरू कार्यरत रहेको उनले जनाएका थिए।

अग्रवालले साउदी अरेबियाको ‘भिजन २०३०’ कार्यक्रमले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै नियोम, द रेड सी परियोजना तथा क्युदिया जस्ता मेगा परियोजनाहरूमा नेपाली जनशक्ति, ठेकेदार तथा सहयोगी उद्योगहरूले योगदान दिन सक्ने धारणा उनले राखेका थिए।

भेटका क्रममा राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानी तथा आर्थिक साझेदारीका लागि खुला हुँदै गएको बताएका थिए। आगामी सन् २०३४ को फिफा विश्वकप तथा एक्स्पो २०३० जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विभिन्न क्षेत्रमा लगानी सहकार्यका थप अवसर सिर्जना गर्ने उनको भनाइ थियो।

साउदी अरबमा पछिल्लो समय अन्तराष्र्टिय कम्पनीहरु भित्रने क्रम बढेको तथा विदेशी लगानी थप आकर्षित हुँदै गएको समेत उनले जानकारी गराएका थिए।

छलफलका क्रममा पश्चिम एसियाको विकसित परिस्थितिबारे समेत विचार आदानप्रदान भएको थियो। विशेषगरी त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र हितका विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए। राजदूत मिनकरले आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

भेटका अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले नेपालमा लगानीको वातावरण अत्यन्तै सकारात्मक बन्दै गएको बताएका थिए।