हरेक पटकको सरकारले चर्चा गर्न नछाड्ने विषयमध्ये एक हो – बन्द भएका ठुला सरकारी उद्योग फेरि सञ्चालनमा किन नल्याउने? यो चर्चामा जहिल्यै नछुट्ने कारखाना हो, हेटौंडा कपडा उद्योग। स्वदेशमा कपडा उत्पादन गरौँ, यो सरकारी सम्पत्तिलाई पुनःप्रयोगमा ल्याउँ भनेर सरकारले योजना अघि सार्दा राम्रो भन्नै पर्छ।
सम्भाव्यता विचार गरेर योजना आउँदा हौस्याउनै पर्छ। किनभने हामी आयातमा निर्भर छौँ। धेरै उद्योग यस्ता थिए, जो सञ्चालनमा रहेका भए मुलुकको आयातमाथिको निर्भरता केही घट्न सक्थ्यो। त्यसमाथि स्वदेशी उद्योग सञ्चालनमा आउनु आफैंमा सकारात्मक कुरा हो।
एउटा दिगो र ठूलो कपडा उद्योगले मुलुकको समग्र कपडा कपडाको बजार मागमा प्रभावकारी भूमिका खेल्न सक्छ। हेटौेंडा कपडा उद्योग पुनः सञ्चालनको चर्चा फेरि छ। उद्योगमन्त्री हेटौंडास्थित औद्योगिक क्षेत्र गएर निरीक्षण गरेको र पुनः सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको समाचार पढ्न, सुन्न पाइयो। तर अब देशले केवल ‘पुरानो उद्योग पुनः सञ्चालनमा’ भन्ने समाचार होइन, ‘उद्योग पुनः सञ्चालन यसरी सफल भयो’ भन्ने परिणाम खोज्नुपर्छ।
विगतमा बन्द उद्योगहरु राजनीतिक लोकप्रियताका लागि पुनः सञ्चालनको निर्णय गरेर सरकारले धेरैपटक हेरेको छ। दीर्घकालीन योजनाविनै बल गरिएकाले अभ्यास सफल छैन। टिक्न सक्ने उद्योग चलाउने योजना आउँछ भने त्यसलाई स्वागत गर्नुपर्छ। पुराना, बन्द र रुग्ण उद्योग पुनः सञ्चालनको निर्णयमा हतारिनु जोखिम हुन्छ। सरकारले बजार र सम्भाव्यता अध्ययनविनै आत्तिएर निर्णयमा पुग्नु हुँदैन।
लामो समयदेखि कपडा उत्पादन तथा सम्बन्धित कारोबारमा संलग्न रहँदै आएको अनुभवका आधारमा भन्नुपर्दा, मैले धेरै उतारचढाव देखेको छु। कामको सिलसिलामा छिमेकी देश भारत र चीनले अत्याधुनिक प्रविधि, अटोमेटिक प्रणाली र विश्वस्तरीय मेसिनमार्फत ठूलो मात्रामा कपडा उत्पादन गरिरहेका छन्। हामीले आँट्दा पनि तयारीका लागि होस पुर्याउनु पर्छ।
अत्याधुनिक प्रविधिबाट उत्पादित कपडा बजार आइरहँदा हामीले आफ्नो यथार्थ बिर्सन हुँदैन। इच्छाले मात्रै उत्पादन हुन्न। अत्याधुनिक मेसिन, कामदार र कच्चा पदार्थ चाहिन्छ। स्वदेशी उद्योग सञ्चालनमा ल्याउने नाममा पुराना मेसिन किन्ने वा पुराना मेसिन मर्मत गरेर सीमित किसिमका कपडा मात्र उत्पादन गर्ने खालको लगानी दोहोरिनु हुँदैन।
उद्योग सञ्चालनमा ल्याएर मात्रै हुँदैन, उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ। त्यति भए मात्रै दिगो हुन्छ, लगानी खेर जाँदैन। उत्पादन महँगो, गुणस्तरमा कमजोर र प्रविधि पुरानो भए नेपाली उद्योग भनेर बजारले माया गर्दैन, उत्पादन बजारमा नटिके उद्योग सञ्चालन लामो जाँदैन।
अर्को महत्त्वपूर्ण पक्ष धागो, फाइबर तथा अन्य कच्चा पदार्थको उत्पादन हो। दीर्घकालीन योजनाअनुसार कपडा उद्योगसँगै धागो उत्पादन पनि विकास गर्न आवश्यक छ। उद्योग सञ्चालन हुनुभन्दा पहिले नै त्यसलाई आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति सुनिश्चित गरिनुपर्छ। कपडा रंगाउने उद्योग पनि सँगसँगै स्थापना गर्न सकियो भने मात्र उत्पादन शृंखला पूर्ण हुन सक्छ।
अब नेपाललाई नारा होइन, प्रणाली चाहिएको छ। राजनीतिक भाषणभन्दा उत्पादनमुखी नीति आवश्यक छ। ‘मेड इन नेपाल’ तब मात्र सफल हुन्छ, जब कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै गर्न सकिन्छ।

यदि चीन र भारतबाट धागो आयात गरेर नेपालमा केवल कपडा बुन्ने काम मात्र गरियो भने त्यो वास्तविक औद्योगिक क्रान्ति होइन, केवल एसेम्बल उद्योग मात्र हुनेछ। अब नेपाललाई नारा होइन, प्रणाली चाहिएको छ। राजनीतिक भाषणभन्दा उत्पादनमुखी नीति आवश्यक छ। ‘मेड इन नेपाल’ तब मात्र सफल हुन्छ, जब कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै गर्न सकिन्छ।
हामी तयारी पोसाकको कच्चा पदार्थका लागि आयातमा निर्भर छौं। बजारमा सबै थरी नै कपडा आयातितकै वर्चस्व छ। कपडाको बजार छ, कारोबारको भोल्युम पनि ठूलो छ। वार्षिक कारोबार करिब ३ खर्ब ५५ अर्बभन्दा बढीको रहेको अनुमान छ। तर, बजार र कारोबारको आकार हेरेर मात्रै कारखाना सञ्चालनको निर्णय लिइनु हुन्न। गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन दिने ग्यारेन्टी गर्न सकिन्छ भने मात्रै पुरानो कारखाना सञ्चालनको निर्णय मुलुका लागि लाभकारी हुन्छ।
विशेषगरी हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय अहिले आर्थिक, औद्योगिक र राजनीतिक वृत्तमा बहसको विषय भइरहँदा सरकारले हतार गर्नुभन्दा सुझबुझ आवश्यक छ। विगतमा देशकै गौरव मानिएको यो उद्योग लामो समयदेखि बन्द छ। तर अहिले फेरि सञ्चालन गर्ने तयारी भइरहेका समाचार सार्वजनिक भइरहेका छन्।
तर बन्द भएको करिब ३० वर्ष र स्थापना भएको करिब १०० वर्ष पुरानो संरचना पुनः खोल्नेभन्दा पनि आधुनिक प्रविधियुक्त नयाँ उद्योग स्थापना गर्ने दिशामा सोच्नु अझ उपयुक्त हुन्छ। देशलाई आवश्यक पर्ने कपडा स्वदेशमै उत्पादन गर्ने लक्ष्य राख्नु आजको आवश्यकता हो।
अब ५० वर्ष पुराना मेसिन प्रयोग गरेर उद्योग सञ्चालन गर्ने गल्ती दोहोर्याउनु हुँदैन। यदि उत्पादन लागत बढी, गुणस्तर कमजोर र उत्पादन क्षमता कम भयो भने अन्तर्राष्ट्रिय त के स्वदेशी बजारमै प्रतिस्पर्धा गर्न सकिँदैन।

नेपाल जस्तो आयातमा निर्भर देशका लागि कपडा उद्योग केवल एउटा कारखाना मात्र होइन, रोजगारी सिर्जना गर्ने, व्यापार घाटा घटाउने र ‘मेड इन नेपाल’ अभियानको आधार बन्न सक्ने क्षेत्र हो। तर पुराना सोच, कमजोर योजना र प्रविधिविहीन संरचनासहित उद्योग सञ्चालन गरियो भने फेरि पनि असफल परियोजनामा सीमित हुने खतरा उत्तिकै रहन्छ।
आजको विश्व बजारमा भारत र चीनले अत्याधुनिक अटोमेटिक सिस्टम, हाई-स्पिड वीभिङ मेसिन, डिजिटल प्रिन्टिङ र मास प्रोडक्सन प्रविधिबाट सस्तो तथा गुणस्तरीय कपडा उत्पादन गरिरहेका छन्। नेपालले अब ५० वर्ष पुराना मेसिन प्रयोग गरेर उद्योग सञ्चालन गर्ने गल्ती दोहोर्याउनु हुँदैन। यदि उत्पादन लागत बढी, गुणस्तर कमजोर र उत्पादन क्षमता कम भयो भने अन्तर्राष्ट्रिय त के स्वदेशी बजारमै प्रतिस्पर्धा गर्न सकिँदैन।
नेपालमा कपडा उद्योग सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती कच्चा पदार्थको हो। अहिले धागो, रङ तथा अन्य सामग्री अधिकांश रूपमा भारत र चीनबाट आयात गर्नुपर्छ। यसले उत्पादन लागत बढाउँछ। त्यसैले उद्योग खोल्नुभन्दा पहिले नै आवश्यक कच्चा पदार्थको अध्ययन र उत्पादन योजनाको तयारी हुनुपर्छ। भावनात्मक उत्तेजनाले मात्रै उद्योग चलाउन सम्भव हुन्न।
अब नेपालले केवल कपडा बुन्ने उद्योग मात्र होइन, आवश्यक सम्पूर्ण सामग्री स्वदेशमै उत्पादन गर्ने दीर्घकालीन नीति बनाउनुपर्छ। त्यति भएपछि मात्र वास्तविक औद्योगिक आत्मनिर्भरता सम्भव हुन्छ। नत्र विदेशबाट धागो ल्याएर यहाँ सिलाइ गर्ने कामलाई मात्र उद्योग भन्न सकिँदैन।
विद्युत् आपूर्ति, श्रम व्यवस्थापन र बजार संरचना पनि अर्को महत्त्वपूर्ण पक्ष हो। कपडा उद्योग अत्यधिक ऊर्जा खपत गर्ने क्षेत्र भएकाले स्थिर र सस्तो विद्युत् आपूर्ति आवश्यक हुन्छ। यसका लागि औद्योगिक प्रयोजनका लागि छुट्टै फिडर लाइन, दीर्घकालीन नीति र सहुलियत दर आवश्यक छ।
त्यसैगरी दक्ष जनशक्तिको अभाव पनि ठूलो चुनौती हो। आधुनिक टेक्सटाइल इन्जिनियर, फेसन डिजाइनर र मेसिन अपरेटर उत्पादन गर्न प्राविधिक शिक्षा र उद्योगबीच सहकार्य आवश्यक छ। उद्योग खोल्नुभन्दा पहिले नै जनशक्ति तयार गर्ने योजना बनाउनुपर्छ।
नेपालको कपडा उद्योग केवल सरकारी युनिफर्म वा सीमित उत्पादनमा मात्र सीमित हुनु हुँदैन। आम जनताको दैनिक आवश्यकतासम्म पुग्ने गरी उत्पादन विस्तार गर्नुपर्छ। अहिले दैनिक प्रयोग हुने कपडा, तन्ना, खोल, सिरानी कभरदेखि टावलसम्म अधिकांश वस्तु विदेशबाट आयात हुन्छ। यदि यी वस्तु स्वदेशमै उत्पादन गर्न सकियो भने ठूलो रकम विदेश जानबाट रोकिन सक्छ।
नेपाली कपडा केवल देशभित्र मात्र होइन, विदेशमा समेत निर्यात गर्न सकिने सम्भावना रहन्छ। यसले लाखौं रोजगारी सिर्जना गर्न सक्छ र वर्षौंदेखि बाहिरिने अर्बौं रुपैयाँ देशमै राख्न सक्छ।

आजको उपभोक्ता केवल देशभक्ति होइन, गुणस्तर, डिजाइन र मूल्य पनि हेर्छ। त्यसैले नेपाली उद्योगले पुरानो शैली होइन, आधुनिक फेसन ट्रेन्डअनुसार उत्पादन गर्नुपर्छ। केवल “देशी उत्पादन” भन्ने आधारमा बजार टिक्दैन, गुणस्तर र डिजाइन पनि विश्वस्तरीय हुनुपर्छ।
नेपालमा कपडा उद्योग सफल बनाउन सरकारले दीर्घकालीन रूपमा निम्न कदमहरू चाल्न आवश्यक छ – १. अत्याधुनिक मेसिनमा लगानी, २. धागो तथा कच्चा पदार्थको स्वदेशी उत्पादन, ३. टेक्सटाइल जोनको निर्माण, ४. सस्तो विद्युत् र कर सहुलियत, ५. अवैध आयात नियन्त्रण, ६. प्राविधिक तथा दक्ष जनशक्ति उत्पादन, ७. ‘मेड इन नेपाल’ ब्रान्ड प्रवर्द्धन र ८. सरकार र निजी क्षेत्रबीच सहकार्य।
यदि यी सबै पक्ष समेटेर कपडा उद्योग विकास गर्न सकियो भने नेपालले छोटो समयमै ठूलो औद्योगिक रूपान्तरण गर्न सक्छ। नेपाली कपडा केवल देशभित्र मात्र होइन, विदेशमा समेत निर्यात गर्न सकिने सम्भावना रहन्छ। यसले लाखौं रोजगारी सिर्जना गर्न सक्छ र वर्षौंदेखि बाहिरिने अर्बौं रुपैयाँ देशमै राख्न सक्छ।
त्यो दिन मात्र ‘मेड इन नेपाल’ वास्तवमै गर्वको विषय बन्नेछ, जब नेपालीले लगाउने अधिकांश कपडा आफ्नै देशको उद्योगबाट उत्पादन हुनेछ।

विश्वका धेरै देशहरूले टेक्सटाइल उद्योगलाई आर्थिक विकासको मेरुदण्ड बनाएका छन्। भारत, बंगलादेश र चीनका कपडा उद्योगहरूले लाखौं रोजगारी सिर्जना गरेका छन्। नेपालले पनि सही योजना, आधुनिक प्रविधि र दृढ राजनीतिक इच्छाशक्तिका साथ अघि बढे कपडा उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनाउन सक्छ।
आज नेपाललाई भाषण होइन, उत्पादन चाहिएको छ। नारा होइन, उद्योग चाहिएको छ। र, यस्तो उद्योग चाहिएको छ जसले नेपाली बजारलाई विदेशी कपडाको निर्भरता बाट मुक्त गरोस्। त्यो दिन मात्र ‘मेड इन नेपाल’ वास्तवमै गर्वको विषय बन्नेछ, जब नेपालीले लगाउने अधिकांश कपडा आफ्नै देशको उद्योगबाट उत्पादन हुनेछ।
(तिमिल्सिना थ्रेड गार्मेन्टका सञ्चालक हुन्)