BIZMANDU
www.bizmandu.com

एनसेललाई गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

२०८३ जेठ १३

एनसेललाई गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता
एनसेललाई गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता


काठमाडौं । एनसेलले आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डहरूले उच्च गुणस्तरीय सेवा प्रदान गर्ने तथा वातावरणीय प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

Tata
GBIME

आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणाली (क्वालिटी म्यानेजमेन्ट सिस्टम)को विश्वव्यापी मानक हो। यसले ग्राहकका आवश्यकता तथा नियामक निकायहरूका प्रावधानहरू पूरा गर्न व्यावसायिक प्रतिष्ठानहरूले आवश्यक प्रक्रियाहरू अपनाउने गरेको सुनिश्चित गर्दछ।

त्यसैगरी, आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणाली (एन्भाइरमेन्टल म्यानेजमेन्ट सिस्टम) को मापदण्ड निर्धारण गर्दछ। यसले संघसंस्था तथा व्यवसायहरूलाई उनीहरूको वातावरण प्रतिको जिम्मेवारी, फोहर मैला व्यवस्थापन र विद्यमान कानुन तथा नियमहरू प्रभावकारी रूपमा पालना गर्न मार्गदर्शन गर्दछ।

‘आईएसओ २७००१:२०२२ (आइएसएमएस) र आईएसओ २७७०१:२०१९ (पीआईएमएस) डेटा सुरक्षा तथा गोपनीयताका मान्यताहरू प्राप्त गरेपछि अब आईएसओ ९००१ र आईएसओ १४००१ को मान्यता पाउनु हामीले प्रदान गर्ने सेवाको गुणस्तर प्रति हाम्रो प्रतिबद्धताको प्रमाण हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने।

‘बिजनेस टु कन्ज्युमर (बी टु सी), बिजनेस टु बिजनेस (बी टु बी) वा बिजनेस टु गभरमेन्ट (बी टु जी) जुनसुकै सेवा भए पनि यी मान्यताहरूले एनसेलको व्यवसाय विश्वव्यापी रूपमा मान्य मापदण्डअनुसार बलियो भएको पुष्टि हुने उल्लेख विज्ञप्तिमा गरिएको छ।

एनसेलले पुस २०८१ मा आईएसओ २७००१:२०२२ (आइएसएमएस) र आईएसओ २७७०१:२०१९ (पीआईएमएस)को मान्यता प्राप्त गरेको थियो। उक्त प्रमाणीकरण यो वर्ष पनि नवीकरण गरिएको हो। यस्तो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार सेवा प्रदायक भएको कम्पनीको जिकिर छ।

यी प्रमाणीकरणहरुले नेपालको द्रुत गतिमा विकास भइरहेको डिजिटल परिदृश्यमा कम्पनीको उत्कृष्ट संचालन र दिगोपनप्रति एनसेलले ध्यान केन्द्रित गरेको कुरालाई पुष्टि गर्ने जनाइएको छ।