काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत अघि सेयर बजार सामान्य अंक बढेको छ। नेप्से परिसूचक बुधबार ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ।
कारोबारमा आएका फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन्। ट्रेडिङको सूचक सबैभन्दा धेरै ०.७३ प्रतिशत बढेको छ।
बजारमा १५१ कम्पनीको सेयर मूल्य बढेको छ। कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। बुंगल हाइड्रोको सेयर १३.३७ प्रतिशतले बढेको छ।
सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ शुक्रबार संघीय संसद्मा पेस गर्दैछ। बजेटअघि सार्वजनिक बिदा परेका कारण अब बजार अर्को साता मात्रै खुल्नेछ।
बजारमा १०५ कम्पनीको सेयर मूल्य घटेको छ। सानिमा डिबेञ्चरको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ। बुधबार बजारमा सूचकसँगै सेयर किनबेच रकम बढेको छ।
मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको बजार बुधबार बढेर ६ अर्ब ३ करोड रुपैयाँको किनबेच भएको छ। फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनपछि उकालो लागेको बजार चैत दोस्रो सातादेखि निरन्तर ओरालो लागिरहेको छ।
लगानीकर्ताहरु वालेन्द्र शाह नेतृत्वको सरकारसँग विश्वस्त हुन नसक्दा बजारमा लगानीका लागि मनोबल बढ्न नसकेको ब्रोकरहरु बताउँछन्।