हामीमध्ये धेरैले सायद ध्यानै दिएका छैनौँ, बजारमा १ र २ रुपैयाँ दरका नोट हराएको पनि दशक बितिसकेको छ। यिनको अनुपस्थितिले हाम्रो दैनिक जीवन, खुद्रा कारोबार र उपभोक्ता व्यवहारमा गहिरो परिवर्तन ल्याएको छ। खुद्रा पैसा फिर्ता नपाउने सामान्य अनुभवदेखि मूल्यवृद्धिको अदृश्य दबाबसम्म, साना नोटको अभाव केवल मौद्रिक विषय होइन, सामाजिक व्यवहारसँग जोडिएको प्रश्न पनि हो।
नेपाल राष्ट्र बैंकले १ र २ रुपैयाँ दरका नोटहरूको छपाइ तथा निष्कासन नगरेको २५ वर्ष नाघिसकेको छ। अभिलेखअनुसार, पछिल्लो पटक १ रुपैयाँ दरको नोट तत्कालीन गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठको दस्तखतमा र २ रुपैयाँ दरको नोट तत्कालीन गभर्नर दीपेन्द्रपुरुष ढकालको दस्तखतमा निष्कासन भएको देखिन्छ।
खासै मूल्य नभएको र लामो समय नटिक्ने भन्दै यसरी साना दरका नोटहरू चलनचल्तीबाट हटाई सोको सट्टा सोही दरका सिक्काहरूलाई प्रचलनमा ल्याउन खोजिएको देखिन्छ। तर, के यसबाट राज्यले र सर्वसाधारणले वाञ्छित लाभ पाइरहेका छन् त? यस विषयमा समग्र रूपमा पुनः छलफल गर्नुपर्ने भएको छ।
उही दरका सिक्का वा नोटमध्ये कुन चाहिँ लिने भनेर कसैले सोधेमा सिधा र स्पष्ट जवाफ हुन्छ, नोट नै लिने। कारण, राख्न र लिएर हिँड्न सहज तथा हलुका हुन्छ। बजार जाँदा सिक्का लिएर कसैले जाँदैन। कथंकदाचित् बजारमा किनमेल गर्दा सिक्का हात लागेमा घर फर्किएपछि कुनै कुनामा त्यसै रहिरहन्छन्। त्यसैले निष्कासित सिक्काहरू पनि अपेक्षाकृत रूपमा प्रचलनमा आएको देखिन्नन्। यसबाट नेपाल राष्ट्र बैंकलाई निरन्तर थप नयाँ सिक्काहरू निष्कासन गर्न दबाब परिरहेको देखिन्छ, जसबाट राज्यको व्ययभार पनि बढिरहेको छ।
बजारबाट १ वा २ रुपैयाँ दरका साना नोटहरू हराउनेबित्तिकै खुद्रा बजारभाउ बढेको प्रत्यक्ष अनुभव गरिएको छ। अहिले यस्तो लाग्दछ कि मानौं १ वा २ रुपैयाँमा केही आउँदैन र न्यूनतम खुद्रा मूल्य ५ रुपैयाँबाट सुरु हुन्छ। अथवा, सोही सामान ठूलो संख्यामा किन्नुपर्दछ। जस्तो कि सलाई किन्नुपर्यो भने १ बट्टा पाइँदैन, पूरै १२ वटाको १ पोका नै किन्नुपर्छ।
५ रुपैयाँभन्दा मुनिका खुद्रा नगद फिर्ता पाइने अवस्था छैन। सट्टामा सस्ता चकलेट लिइदिनुपर्ने अवस्था छ। यत्तिकै छोडिदिन पनि नसकिने, साथ लगेर कसैलाई दिन पनि मन नलाग्ने। यी सबै वस्तुस्थितिले सर्वसाधारणमा व्यापक मानसिक प्रभाव पारिरहेका हुन्छन्।
पछिल्लो पटक १ रुपैयाँको सिक्का टंकण (छपाइ) गर्दा प्रति सिक्का २ रुपैयाँ ३५ पैसा परेको देखिन्छ। यसबाट बुझिन्छ कि सिक्काको टंकण लागत र सोही दरको नोटको छपाइ लागत उस्तै–उस्तै नै छ। यसप्रकार हेर्दा मुद्राको अंकित मूल्य र छपाइ लागतबीचको भिन्नताबाट राज्यलाई प्राप्त हुने लाभ (सेनियोरेज) त यस दरका सिक्का वा नोट दुवै अवस्थामा देखिँदैन। तर कुनमा लागत कम हुन्छ भन्नेमा चाहिँ नोट छपाइकै लागत कम हुन सक्ने अवस्था हुन्छ। किनकि नोटको छपाइ लागत नोटमा कति सुरक्षण विशेषता राखिने हो भन्नेमा निर्भर रहन्छ र साना दरका नोटमा कम वा न्यूनतम सुरक्षण विशेषता मात्र राखे पुग्दछ।
यस विषयवस्तुलाई घचघच्याइरहने सबैभन्दा अमिलो पक्ष भनेको खुद्रा रकमको अभाव देखाई सर्वसाधारणले निरन्तर बेहोर्नुपरिरहेको ठगी वा नोक्सानी हो। सार्वजनिक यातायातका साधनमा भाडादर जतिसुकै तोकिएको किन नहोस्, तिर्नुपर्ने चाहिँ ५ रुपैयाँले भाग जाने रकमकै हुन्छ। फिर्ता माग्ने वा दिने चलन छैन।
कसैले स्वाभिमानपूर्वक मागिहालेमा निजलाई यसरी हेरिन्छ, मानौं उनी मंगल ग्रहबाटै आएका हुन्। वर्षौंदेखि यातायात व्यवसायीका नाममा धन्दा चलाउने लगायतबाट यसप्रकार नाजायज ढंगले रकम असुली भइरहेको र यसको समूल निराकरणतर्फ ठोस कदम नचालिनु विडम्बनापूर्ण छ।
अध्ययनहरूले देखाएका छन् कि विद्युतीय भुक्तानीको विकासक्रम बढ्दै जाँदा कालान्तरमा ठूला–ठूला रकम भुक्तानीका लागि विद्युतीय माध्यमको प्रयोग हुने भए तापनि विशेषतः खुद्रा रकम भुक्तानीका लागि भौतिक रूपमा नगद रकम रहिरहन्छ। अर्थात्, कालान्तरमा ठूला दरका नोट हट्दै जालान्, जुन यथोचित देखिन्छ, तर साना दरका नोट कायमै रहन्छन्। उदाहरणका लागि, करिब ३ वर्षपूर्व छिमेकी मुलुक भारतमा २,००० रुपैयाँ दरका बैंक नोटहरू चलनचल्तीबाट हटाइयो र सर्वसाधारणबाट त्यस निर्णयलाई सहजतापूर्वक लिइयो पनि। अब यस अवस्थामा साना दरका नोटलाई सिक्काले प्रतिस्थापन गर्दै लगियो भने अपेक्षित परिणाम आउँदैन, किनकि सिक्कालाई सर्वसाधारणले नोटसरह व्यवहारमा ल्याउँदैनन्।
विकसित मुलुकहरू, जस्तै संयुक्त राज्य अमेरिकामा १ डलरको नगद नोट कायम नै राखिएको छ भने चीनमा पनि १ युआनको नोट कायम नै रहेको बुझिन्छ। भारतमा भने भारु १ र भारु ५ अद्यापि कायम राखिएको भए तापनि पछिल्ला वर्षहरूमा खुद्रा स्तरमा समेत व्यापक विद्युतीय भुक्तानीको युगान्तकारी लहरपछि व्यवहारमा प्रायः भारु १० को नोट नै न्यूनतम दरका हिसाबले चलनचल्तीमा रहेको देखिन्छ।
कागजी नोटका तुलनामा सिक्काहरू निश्चय नै धेरै टिकाउ हुन्छन्। यसकारण पनि साना दरका हकमा कागजी नोट छोडेर सिक्का नै प्रचलनमा ल्याउनुपर्छ भन्ने मत छ। तर विविध व्यवहारिक कारणवश सर्वसाधारणले सिक्का चलाइराखेका छैनन् भने सो मतको सार्थकता रहँदैन। यस परिप्रेक्ष्यमा हाललाई स्वीकारयोग्य न्यून सुरक्षण विशेषताका साथ १ रुपैयाँ दरको नोट पुनः प्रचलनमा किन नल्याउने ? खुला र विद्वत् छलफल हुनु मनासिब देखिन्छ।