काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको वर्गीकरण सार्वजनिक गरेको छ। पुरुषतर्फ पाँच र महिला तर्फ चार वर्गमा खेलाडीलाई बाँडेको छ।
पुरुषतर्फका क्रिकेटरको तलब भन्दा महिला क्रिकेटको तलब झण्डै आधा कम देखिन्छ। नेपाली पुरुष टोलीसँग एकदिवसीय मान्यता छ भने महिला टोलीसँग छैन।
पुरुष क्रिकेटरमध्ये सबैभन्दा माथिल्लो ‘ए प्लस’ क्याटागोरीका खेलाडीले मासिक १ लाख २० हजार प्राप्त गर्छन्। महिलातर्फ भने ‘ए’ बाटमात्र सुरु हुन्छ। यसमा खेलाडीले ५५ हजार प्राप्त गर्छन्। पुरुषतर्फ ‘ए’ का खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्छन्।
सम्बन्धित समाचार: तीन क्रिकेटरले पाउनेछन् मासिक १ लाख २० हजार, बाँकी चार क्याटागोरीमा कति तोकियो तलब?
महिलातर्फ क्याटागोरी ‘ए’मा ४ जना खेलाडी छन्। यसमा इन्दु वर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता रानामगर छन्।
‘बी’ मा ३ जना खेलाडी छन्। उनीहरुको तलब मासिक ४० हजार तोकिएको छ। कविता कुँवर, सम्झना खड्का र मनिषा उपाध्याय छन्। यही क्याटागोरीमा पुरुष खेलाडीले ७५ हजार प्राप्त गर्छन्।
त्यस्तै, क्याटागोरी ‘सी’ मा ४ जना खेलाडी छन्। यसमा विन्दु रावल, कविता जोशी, रुवि पोद्दार र रिया शर्मा छन्। उनीहरुले मासिक ३० हजार प्राप्त गर्नेछन्। यही क्याटागोरीमा पुरुष खेलाडी ५५ हजार प्राप्त गर्छन्।
सम्बन्धित समाचार: नेपाली क्रिकेटरले प्रतिखेल टी-२० आईमा १० हजार र ओडीआईमा १५ हजार पाउने
डेभलबमेन्ट ‘डी’ भनेर छुट्याएको अन्तिम वर्गीकरणमा १४ जना खेलाडी छन्। यसमा रोमा थापा, सुमन बिस्ट, इश्वरी बिस्ट, सोनी पाख्रिन, सना प्रवीण, सावित्री धामी, काजल श्रेष्ठ, सीमाना केसी, अन कडायत, यशोदा बिस्ट, लक्ष्मी साउद, ममता चौधरी, अस्मिना कर्मचार्य र रचना चौधरी छन्। यसमा महिला खेलाडीले २५ हजार प्राप्त गर्नेछन्। यही क्याटागोरीमा पुरुष खेलाडीले ३५ हजार प्राप्त गर्नेछन्।