काठमाडौं। नेपाली सिनियर टोलीका खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा प्रतिखेल १० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आज खेलाडी वर्गीकरण सार्वजनिक गर्दै टी-२० र ओडीआईको म्याचफी तोकेको हो।
जसअन्तर्गत महिला र पुरुष दुबै टोलीका खेलाडीले खेलेको हरेक टी-२० अन्तर्राष्ट्रिय वापत १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, हरेक ओडीआई खेल वापत १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ओडीआई मान्यता भने नेपाली महिला टोलीको छैन। पुरुष टोलीले भने सन् २०१८ मा एकदिवसीय मान्यता पाएर क्रिकेट विश्वकप लिग-२ मा प्रतिस्पर्धा गर्दै आएको छ। नेपालले एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरसमेत खेलिसकेको छ।
क्यानले आजै खेलाडीको वर्गीकरण पनि गरेको छ। पुरुषतर्फ पाँच क्याटागोरीमा खेलाडीलाई वर्गीकरण गरेर १ लाख २० हजारदेखि ३५ हजारसम्म तलब तोकेको छ। त्यस्तै, महिलातर्फ चार क्याटगोरीमा ५५ हजार देखि २५ हजारसम्म तलब तोकेको छ।