काठमाडौं। नेपाली महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। साफ च्याम्पियनसीप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज भारतको गोवामा भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
खेल साँझ सवा ५ बजे सुरु हुनेछ। यो प्रतियोगितामा नेपाल आफ्नो स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिनै खेल्नेछ। साम्बा चोटका कारण उपचारका क्रममा छिन्। उनीसँगै नेपालसँग अर्की महत्वपूर्ण खेलाडी सविता रानामगर पनि हुने छैनन्।
नेपाल आज एञ्जिला तोम्बाफो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ। परम्परागत हिसाबले भुटान नेपालको ‘प्रिय प्रतिद्वन्द्वी’ भएपनि पछिल्लो समय उसले फुटबलमा राम्रो विकास गरेर आएको छ।
सन् २०१८ अघि १३ पटक यी दुई टोली आमनेसामने हुँदा फराकिलो अन्तरको जित निकालिरहेको नेपालले पछिल्लो पटकको भेटमा भने बराबरी खेलेको थियो।
समूह ‘ए’मा नेपालसहित भुटान र श्रीलंका छन्। समूह ‘बी’मा भारत, बंगलादेश र माल्दिभ्स छन्। दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
भारत पुगेर नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान तोम्बाफोले उपाधिकै लक्ष्य रहेको कुरा दोहोर्याए।
समूह ‘बी’बाट समूह विजेता र उपविजेता बनेर पूर्व च्याम्पियन टोलीहरु भारत र बंगलादेश आउने बलियो सम्भावना छ। यस्तोमा उपाधिको लक्ष्य लिएर भारत पुगेको नेपालले सबैभन्दा ठूलो चुनौती सेमिफाइनल र फाइनलमै हुने देखिन्छ।