BIZMANDU
www.bizmandu.com

इप्पानमा चुनावी सरगर्मीसँगै विधान संशोधनको विवाद, कार्यसमिति सर्वसम्मत कि चुनावबाट?

२०८३ जेठ ११

इप्पानमा चुनावी सरगर्मीसँगै विधान संशोधनको विवाद, कार्यसमिति सर्वसम्मत कि चुनावबाट?
इप्पानमा चुनावी सरगर्मीसँगै विधान संशोधनको विवाद, कार्यसमिति सर्वसम्मत कि चुनावबाट?


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)मा निर्वाचन निजकिँदै गर्दा विधान संशोधनको विषषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ।

Vigo
GBIME
Tata

आगामी जेठ २९ गते हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा नयाँ विधानअनुसार अगाडि बढ्न वा पुरानै विधानलाई टेकेर अगाडि बढ्ने भन्नमा ऊर्जा उद्यमीहरुबीच तीव्र मतभेद देखिएको हो।

विशेष गरी २३ औं साधारण सभाले ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने’ पुरानो प्रावधानलाई हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनको विषयलाई लिएर अहिले संस्थाभित्र दुई खेमा प्रष्ट देखिएका छन्।

जसमा हालका उपाध्यक्ष उत्तम भ्लोन लामाले वरिष्ठ उपाध्यक्षमा आफ्नो नेतृत्वमा टिम घोषणा गरेपछि ऊर्जा व्यवसायीहरु दुई धारमा विभाजित भएका हुन्।

इप्पानमा महासचिव बलाराम खतिवडा र उपमहासचिव प्रकाश दुलालले २३ साधारण सभावको विधान कार्यान्वयन गरेरमात्र चुनाव गराउनुपर्ने माग राखेर उजुरी दिएपछि इप्पानले कानुनी राय सुझाव लिएको थियो।

उक्त समितिले साधारण सभा चालु रहेको विधान अनुसार गर्न र पदाधिकारीहरुको निर्वाचन गर्न सक्ने राय सुझाव दिएको छ।

‘ईप्पानको मिति २०८२।०३।३१ को २३ औं साधारण सभाबाट भएको निर्णयको बुँदा नं. ६(३) को निर्णय महासंघसंग सम्बन्धित भएको र तत्काल महासंघ गठन हुने अवस्था नदेखिएको हुँदा ईप्पानले गर्न लागेको २४ औं वार्षिक साधारण सभा हाल चालु रहेको विधान अनुसार गर्न र पदाधिकारीहरुको निर्वाचन गर्न सक्ने देखिन्छ,’ राय सुझावमा भनिएको छ।

यस विषयमा विवाद चर्किएपछि जेठ ११ गते कार्यसमितिको बैठक बोलाइएको छ। उक्त बैठकबाट विवाद समाधान गर्ने तयारी छ।

पक्ष र विपक्षको मत

वरिष्ठ उपाध्यक्षको उम्मेद्वार उत्तम भ्लोन लामा भने २३ औं साधारण सभाको निर्णय ‘अप्रभुल’ नभएको बताउँछन्।

‘इप्पानको विधान अहिलेसम्म पनि अप्रभु भएको छैन। ६ महिनाभित्र महासंघमा जाने र १ वर्षभित्र अधिवेशन गर्ने भन्ने थियो। तर, यसको प्रमाणीकरण भएको छैन्,’ भ्लोनले भने, ‘संस्थामा लिडरसिप जो आउँदा पनि कुनै फरक मान्दैन। तर, विधान र प्रोक्सीको कुरा ल्याएर केही साथीहरुले अनावश्यक विवाद सिर्जना गर्न खोजेको देखियो।’

अर्को पक्षले २३ औं साधारण सभाबाट पास भएको विधानअनुसार निर्वाचन हुनपर्ने अडान राख्दै आएको छ। इप्पानका महासचिव बलाराम खतिवडा २३ औं साधारण सभाले पारित गरेको विधानअनुसार सबैलाई निर्वाचनमा सहभागी हुन पाउने गरि निर्वाचन हुनुपर्ने माग राख्दै आएका छन्।

‘इप्पानमा हरेक निर्वाचनका बेला विधानको विषयलाई लिएर विवाद आउने गरेको छ,’ खतिवडाले भने, ‘आगामी दिनमा यस्ता खालका विवाद सधैँका लागि अन्त्य होस् भन्ने चाहाने मेरो हो। विभिन्न पदमा चुनाव लड्नका लागि अहिले पनि विभिन्न सर्तहरु छन्। त्यसालाई खुला गरेर सबै सदस्य चुनाव लड्न पाउनु पर्छ भन्ने हो।’

उपमहासचिव प्रकाश दुलाल २३ औं साधारण सभाले पारित गरेको विधानअनुसार निर्वाचन हुनुपर्ने अडानमा छन्।

‘हामीहरुले २३ औं साधारण सभाले पास गरेको विधानअनुसार निर्वाचन हुनपर्‍यो भन्ने हो। त्यसकाअनुसार निर्वाचन हुन पर्‍यो भन्ने हो। पुरानै विधानअनुसार अगाडि निर्वाचन गर्नु कुरा भयो भने हामी बहुमत सदस्य पुराएर उजुरी दर्ता गर्छौं,’ दुलालले भने।

चुनावी मैदानमा प्यानल दौडधुप तीव्र

संशोधनको विवाद चर्किएकै बीच नेतृत्व हत्याउन व्यवसायीहरूले आ-आफ्नो प्यानल घोषणा गर्ने क्रम तीव्र पारेका छन्।

यसअघि नै उपाध्यक्ष उत्तम भ्लोन लामाले आफ्नो नेतृत्वमा प्यानल घोषणा गरिसकेका छन्। भ्लोनको नेतृत्वमा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ,  हिम पाठक, सुसन कर्माचार्य र बिक्रम विष्ट रहेका छन्।यस्तै महासचिवमा टिएन आचार्य र उपमहासचिवमा कविता कँडेल रहेका छन्।

उनको टिमको कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त र सचिवमा विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी, शंकर बस्याल र अविज्ञा मल्ल रहेका छन्। सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, वर्णद लामिछाने, इसा श्रेष्ठ र प्रतिमा ज्ञवाली रहेका छन्।

त्यस्तै, वर्तमान कार्यसमितिका महासचिव बलराम खतिवडाको नेतृत्वमा अर्को टिम चुनावी मैदानमा उत्रिने तयारीमा छ। खतिवडाको नेतृत्वमा भरत खर्त्री, प्रकाश दुलाल, मिथुन पौडेल लगाएको सहभागितामा अर्को टिम घोषणा गर्ने तयारी भइरहेको छ।

‘हामी पनि टिम घोषणाको अन्तिम तयारीमा छौं। इप्पानमा हरेक निर्वाचनका बेला विधानको विषयलाई लिएर विवाद आउने गरेको छ,’ खतिवडाले भने, ‘आगामी दिनमा यस्ता खालका विवाद सधैँका लागि अन्त्य होस् र सबैलाई खुला गरेर अगाडि बढ्न पाइयोस् भन्ने नै हाम्रो मुख्य एजेन्डा हो। यसका लागि हामीले साथीभाइहरूसँग व्यापक छलफल गरिरहेका छौं।’

सर्वसम्मतको जोड दिँदै अध्यक्ष र पूर्व अध्यक्षहरु

इप्पानका अध्यक्ष गणेश कार्कीले संस्थाभित्र देखिएको विवादलाई सामान्यकरण गर्दै सबै पक्षलाई समेटर सर्वसम्मत रुपमै अगाडि बढ्ने तयारी भइरहेका बताए।

‘केहीले टिम घोषणा गरिसकेका छन्। अन्य साथीहरुले पनि टिम घोषणा गर्ने तयारी गरिरहेका छन्,’ कार्कीले भने, ‘मेरो भनाइ सर्वसम्मत रुपमा सबैलाई अट्न मिल्ने गरि जानुपर्छ भन्ने हो। त्यसैअनुसार हामीले पहल गरिरहेका छौं।’

कार्कीले निर्वाचन नै गर्नुपर्ने अवस्था आएको खण्डमा पुरानो विधानअनुसार नै निर्वाचन हुने बताए।

‘इप्पान महासंघमा लैजाने र निर्वाचनसम्बन्धि व्यवस्था परिमार्जन गर्न विधान संशोधन गरेका थियौं। हामीले निर्णय त गर्‍यौं। तर, जेनजी आन्दोलनको कारणले संशोधित विधान प्रामाणीकरण हुन सकेन। त्यसैले अहिले कै पुरानै विधानअनुसार चुनाव हुने परिस्थिति छ,’ उनले भने।

त्यस्तै, इप्पानका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद आचार्य पनि सर्वसम्मत रुपमा नै नयाँ कार्यसमिति चयन हुनुपर्ने बताउँछन्।

‘आफ्नो कार्यकाल देखि नै निर्वाचन सर्वसम्मत हुनपर्छ भन्दै आएको छु। त्यसैले यसपालि पनि सबैलाई समेटिने गरि सबैलाई मिलाएर सर्वसम्मत कार्यसमिति चयन हुनुपर्ने भनेर पहल गरिरहेको छु,’ उनले भने।

विधान संशोधनका लागि अब बस्ने साधारण सभाको निर्णय नै अन्तिम निर्णय हुने आचार्यले बताए।

‘विधान संशोधनका लागि कमिटी मेरो नै पालामा बनेको हो। त्यो संशोधन साधारण सभाले अनुमोदन पनि गरेको छ। त्यसैले साधारण सभाले जे निर्णय गर्छ, त्यही अन्तिम निर्णय हुन्छ,’ उनले भने।