BIZMANDU
www.bizmandu.com

चिनियाँ एजेन्टले उत्तरी नाका छाडेर दिन थाले बाइसिपलाई प्राथमिकता, साना व्यवसायीलाई समस्या

२०८३ जेठ ११

चिनियाँ एजेन्टले उत्तरी नाका छाडेर दिन थाले बाइसिपलाई प्राथमिकता, साना व्यवसायीलाई समस्या
(250501) -- QINGDAO, May 1, 2025 (Xinhua) -- An aerial drone photo taken on April 30, 2025 shows cargo ships berthing at a container dock of Qingdao Port in Qingdao, east China's Shandong Province. This year, Qingdao port has actively expanded its international shipping routes, especially for the Association of Southeast Asian Nations (ASEAN). The direct cargo shipping routes from Qingdao Port to the ASEAN countries has increased to 50, with the cargo volume from Qingdao to ASEAN countries up six percent year-on-year in the first quarter of this year. (Xinhua/Li Ziheng)


काठमाडौं। चिनियाँ एजेन्टहरूले पछिल्लो समय उत्तरी नाका छाडेर बाइसिप (समुद्री मार्ग) मार्फत सामान पठाउन थालेका छन्। तातोपानी र रसुवा नाका पटक-पटक अवरोध हुने अवस्था देखाउँदै चिनियाँ पक्षले बाइसिपलाई प्राथमिकतामा राख्न थालेको व्यवसायीहरूको भनाइ छ।

Tata
GBIME

यसअघि चिनियाँ सामान आयातका लागि व्यवसायीहरूले मुख्य रूपमा तातोपानी र रसुवा नाका प्रयोग गर्ने गरेका थिए। यी नाकाबाट सामान ल्याउँदा समय र लागत दुवै कम पर्ने भएकाले व्यवसायीको रोजाइ उत्तरी नाकामै थियो। अर्डर गरेको सामान सामान्यतया २० दिनभित्र नेपाल आइपुग्ने गरेको व्यवसायीहरू बताउँछन्।

विशेषगरी साना व्यवसायीले उत्तरी नाका प्रयोग गर्दै आएका थिए। एउटै कन्टेनरमा धेरै व्यवसायीको सामान आउने भएकाले यो मार्ग उनीहरूका लागि सहज मानिन्थ्यो। तर बाइसिप सामान आयात गर्न ठूलो परिमाणमा अर्डर गर्नुपर्ने भएकाले साना व्यवसायीलाई कठिन हुने गरेको छ।

पछिल्लो समय चिनियाँ एजेन्टहरूले स्थलमार्गको साटो बाइसिपलाई प्राथमिकता दिँदा नेपाली व्यवसायीको झन्झट बढेको छ। थोरै-थोरै परिमाणमा सामान आयात कारोबार गर्ने नेपाली व्यापारीको संख्या धेरै छ। व्यवसायीका अनुसार बाइसिपबाट सामान आइपुग्न कम्तीमा ४० दिन लाग्छ। बीचमा अवरोध आए दुई महिनासम्म पनि लाग्ने गरेको छ। लागत केही सस्तो परे पनि साना व्यवसायीका लागि यो विकल्प सहज छैन।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले चीनले उत्तरी नाकाभन्दा बाइसिपलाई बढी प्राथमिकता दिएको बताए। ‘तातोपानी नाका पहिलेदेखि नै बेवास्तामा छ। रसुवा नाका नेपालतर्फको भौगोलिक अवस्थाका कारण पनि कमजोर छ,’ उनले भने, ‘नेपाल–चीनबीचको कूटनीतिक अवस्था पनि यसको एउटा कारण हुन सक्छ।’

उनका अनुसार बाइरोडबाट सामान पठाउँदा बाटो बिग्रिए लामो समय रोकिन्छ। ‘बाइसिपबाट ढिलो भए पनि सामान आइपुग्छ। त्यसैले महासंघले केही समययता व्यवसायीलाई बाइसिपबाट सामान ल्याउन सल्लाह दिन थालेको हो,’ उनले भने।

अध्यक्ष श्रेष्ठका अनुसार समस्या मुख्यतः नेपालतर्फको पूर्वाधारमा छ। ‘चीनपट्टिको बाटो छिट्टै मर्मत हुन्छ, तर नेपालतर्फ बाटो बिग्रिए लामो समय लाग्छ। व्यवसायीको करोडौं लगानी बाटोमै अलपत्र पर्ने भएपछि विकल्प खोज्नुपरेको हो,’ उनले भने।

आरबी व्यापार संघका अध्यक्ष पर्शुराम दाहालले पनि उत्तरी नाका असहज बन्दै जाँदा व्यवसायी बाइसिपतर्फ जान बाध्य भएको बताए। ‘हरेक वर्ष व्यवसायीले उत्तरी नाकामा दुःख पाइरहेका छन्। नाका खुलाएजस्तो गर्ने तर सहज नबनाउने अवस्था छ,’ उनले भने।

दाहालका अनुसार चिनियाँ व्यवसायीलाई कुन नाका प्रयोग भयो भन्ने खास चासो हुँदैन। ‘तर चिनियाँ दूतावासमा नाका सहज बनाउन आग्रह गर्दा बाइसिप प्रयोग गर्नुस् भन्ने जवाफ आउने गरेको छ,’ उनले भने। उनका अनुसार ठूलो परिमाणमा सामान ल्याउने व्यवसायीका लागि बाइसिप सहज भए पनि साना व्यवसायीका लागि सम्भव छैन। ‘सरकारले उत्तरी नाका सहज नबनाए चीनबाट हुने आयात झन् घट्न सक्छ,’ उनले चेतावनी दिए।

नेपाल हिमाल सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले उत्तरी नाकाको अनिश्चितताले आयातको परिमाण घट्दै गएको बताए। ‘चिनियाँ पक्षले औपचारिक रूपमा बाइसिप प्रयोग गर भनेको छैन, तर उनीहरूको व्यवहार हेर्दा त्यही संकेत देखिन्छ,’ उनले भने।

उनले नाका सहज बनाउन विभिन्न पहल भए पनि व्यवहारमा प्रभाव नदेखिएको बताए। ‘व्यवसायीले सिजनमा आयात गरेको सामान बाटोमै रोकिने, क्षति हुने र खर्च बढ्ने समस्या दोहोरिइरहेको छ,’ उनले भने।

तातोपानी भन्सार कार्यालयका प्रमुख अधिकृत तुलसी भट्टराईले पछिल्लो समय चिनियाँ पक्षले आफ्नो स्वार्थअनुसार काम गरिरहेको बताए। ‘व्यवसायीले कुन बाटोबाट सामान ल्याउने भन्ने निर्णय धेरैजसो एजेन्टकै हातमा हुन्छ,’ उनले भने।

नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले पनि चिनियाँ पक्षले अप्रत्यक्ष रूपमा बाइसिपलाई प्राथमिकता दिइरहेको बताए। ‘उत्तरी नाकामा पटक–पटक अवरोध आउने भएकाले उनीहरूले बाइसिपलाई बढी फोकस गरिरहेका छन्,’ उनले भने।