विश्वकप सुरु हुन १८ दिन मात्र बाँकी रहँदा कप्तान लियोनेल मेसी चोटको आशंकाका कारण मैदानबाट बाहिरिँदा अर्जेन्टिना र विश्वभरका फुटबल प्रशंसक चिन्तित बनेका छन्। इन्टर मियामी र फिलाडेल्फिया युनियनबीचको मेजर लिग सकर (एमएलएस) को खेलमा मेसी दोस्रो हाफमा मैदान छाड्न बाध्य भएका थिए।
आइतबार राति भएको इन्टर मियामीको रोमान्चक ६-४ को जितमा कप्तान लियोनेल मेसी खेलको बीचमै मैदानबाट बाहिरिए। २०२६ को विश्वकपका लागि अर्जेन्टिनी राष्ट्रिय टोलीमा सामेल हुनुअघिको यो उनको अन्तिम क्लब खेल थियो।
खेलको ७२औँ मिनेटमा मेसी आफैँले सब्स्टिच्युसनको माग गर्दै ७३औँ मिनेटमा मैदानबाट सिधै टनेलतर्फ लागेका थिए। मैदान छाड्नुअघि ६८औँ मिनेटमा उनले फ्रि-किक प्रहार गरेका थिए भने त्यसपछि इयान फ्रेलाई एउटा पास पनि उपलब्ध गराएका थिए।
त्यतिबेला उनलाई कुनै ठूलो समस्या देखिएको थिएन। तर, त्यसपछिका केही मिनेट उनी मैदानमा हिँडिरहेको अवस्थामा देखिए र अचानक आफ्नो सर्टमाथि सार्दै मियामीको बेन्चतर्फ परिवर्तनका लागि इसारा गरे।
मैदानमा उपस्थित केही दर्शक र पत्रकारहरूका अनुसार मेसीले आफ्नो खुट्टा समातिरहेको देखिएको बताएका छन्। यद्यपि, प्रत्यक्ष प्रसारणमा भने यो प्रस्ट रूपमा देखिएको थिएन।
इन्टर मियामीका मुख्य प्रशिक्षकले खेलपछि मेसीको मेडिकल रिपोर्ट आउन बाँकी रहेको बताएका छन्। मुसलधारे वर्षाका कारण मैदान हिलो र गाह्रो भएको हुनाले मेसी केवल थकितमात्र भएको हुन सक्ने प्रशिक्षकको अनुमान छ।
तर, ३८ वर्षीय मेसी इन्टर मियामीका लागि यसरी बीचमै बाहिरिनु निकै असामान्य मानिन्छ। यो सिजन फिट रहँदा उनले मियामीका लागि प्रायः सबै खेलमा पूरा ९० मिनेट नै खेल्दै आएका छन्।
विश्वकप २०२६ को उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिनाका लागि मेसीको स्वास्थ्य निकै महत्त्वपूर्ण छ। अर्जेन्टिनाले २३ दिनपछि क्यान्जस सिटीमा अल्जेरियाविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्दैछ।
मेसीले यसअघि नै २०२६ को विश्वकपमा आफ्नो उपस्थितिलाई लिएर केही अनौपचारिकता व्यक्त गर्दै शरीरले साथ दिएमा र टोलीका लागि महत्त्वपूर्ण योगदान दिन सक्ने अवस्थामा मात्र खेल्ने बताएका थिए। मेसी यो सिजन मियामीका लागि उत्कृष्ट लयमा छन्, जहाँ उनले १४ खेलमा १२ गोल र ७ असिस्ट गरिसकेका छन्।