काठमाडौं। हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन)मा केही दिनअघि भएको झडपबारे छानबिन प्रक्रिया अगाडि बढाइएको छ। गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसपी)को संयोजकत्वमा टोली गठन गरी छानबिन सुरु गरेको हो।
गृह सचिव राजकुमार श्रेष्ठले आइतबार रक्षा सचिव र सबै सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आकस्मिक बैठक राखेर छानविन टोली गठन गरेका हुन्।
टोलीलाई तत्काल कार्यस्थलमा खटिन र प्रतिवेदन पेस गर्न भनिएको छ। हुम्ला र बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष टोली घटनास्थलमा परिचालन गरिसकेको मन्त्रालयले जनाएको छ।
हुम्लाको खार्पुनाथको राय र थाली गाउँका बासिन्दाले ठूलो संख्यामा आएर बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गरेका थिए। त्यति मात्र होइन रानीसैन क्षेत्र घुम्न गएका धनगढी उपमहानगरका मेयर गोपाल हमाल लगायतका पर्यटक लखेटिएका थिए।

सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
दुई जिल्लाको सीमा विवादबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न आइतबार नै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेकी थिइन्।