BIZMANDU
www.bizmandu.com

५१ अर्ब लगानी, २२ वर्षपछि प्रिमियर लिग च्याम्पियनः आर्सनलको जितको राज के हो?

२०८३ जेठ १०

५१ अर्ब लगानी, २२ वर्षपछि प्रिमियर लिग च्याम्पियनः आर्सनलको जितको राज के हो?
५१ अर्ब लगानी, २२ वर्षपछि प्रिमियर लिग च्याम्पियनः आर्सनलको जितको राज के हो?


आर्सनललाई इङ्ग्लिस प्रिमियर लिगको च्याम्पियन बन्न दुई दशक लाग्यो। यही साता म्यान्चेस्टर सिटीले बर्नेमाउथसँग १-१ गोलको बराबरी खेलेपछि आर्सनलले सन् २००४ यता पहिलो पटक प्रिमियर लिग उपाधि निश्चित भयो।

Tata
GBIME

२२ वर्षपछि च्याम्पियन बन्नुको पछाडि कारण के होला?

यसका कारण धेरै हुन सक्छन्। यदि आर्सनल असफल भएको भए ती कारण पनि सायद देखिँदैन थिए। तर, आर्सनललाई च्याम्पियन बनाउने सबैभन्दा पहिलो कारण हो – भरोसा। लगातार खराब सिजनहरुको बावजुद प्रशिक्षक आर्टेटामाथि भरोसा क्लबको उच्च व्यवस्थापनसामु ठूलो निर्णय थियो। आर्टेटा हरेक आरोह-अवरोहमा भनिरहन्थे : ट्रस्ट द प्रोसेस

आर्सनलको प्रशिक्षण मैदानको एउटा भित्तामा प्रिमियर लिग ट्रफीको ठूलो छाया चित्र छ। यसमा लेखिएको छ : ‘टुगेदर वी मेक हिस्ट्री’ अर्थात हामी सँगै इतिहास बनाउने छौँ।

खासमा यो मिकेल आर्टेटाको कार्यकालकै सुरुमा राखिएको थियो – गनर्सले उपाधि जित्दा उज्यालो हुने गरी। अन्तत: आर्टेटाले आर्सेनललाई अँध्यारोबाट उज्यालोमा फर्काउन सफल भएका छन्। लिग च्याम्पियन बनिसकेको आर्सनल अब अर्को ठूलो उपलब्धिको पनि नजिक छ। उसले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग मे ३० मा भिड्दैछ।

उसको सफलताको अर्को मुख्य कारण के हुन् सक्छ? जवाफ सिधा छ- लगानी।

आर्सनलका समर्थक। तस्बिर: आर्सनल/फेसबुक

आर्सनल एफ सी इंग्ल्यान्डको राजधानी लन्डनस्थित विश्वकै सबैभन्दा चर्चित फुटबल क्लबहरूमध्ये एक हो। सन् १८८६ मा स्थापना भएको आर्सनललाई इंग्लिस फुटबलमा समृद्ध इतिहास, आकर्षक खेलशैली र ठूलो समर्थक समुदायका कारण विशेष रूपमा चिनिन्छ। क्लबले इङ्ग्लिस प्रिमियर लिग, एफए कप र अन्य घरेलु उपाधिहरू पटक–पटक जितिसकेको छ। सन् २००३/०४ मा पूरा सिजन अपराजित रहँदै लिग जितेको टोलीलाई फुटबल इतिहासमा ‘द इन्भिन्सिबल्स’ का रूपमा चिनिन्छ।

खेलप्रेमीहरूले आर्सनललाई परम्परागत ठूलो क्लब, प्रतिभाशाली युवा खेलाडी उत्पादन गर्ने संस्थाका रूपमा हेर्छन् भने प्रशिक्षक र फुटबल व्यवस्थापकहरूले दीर्घकालीन योजना, संरचित विकास मोडल र आधुनिक फुटबल दर्शन अपनाउने क्लबका रूपमा उदाहरण दिने गरेका छन्। आर्सनलको खातामा ठूलो जितहरु भने थिएनन्, जसका लागि क्लबले गरेको लगानी र राखेको संयम संसारभरका क्लबका लागि उदाहरणीय बनेको छ।

+++

२८ अगस्ट २०२१। आर्सनलले म्यानचेस्टर सिटीसँग ५-० को हारसँगै प्रिमियर लिगको तालिकामा सबैभन्दा तल खस्यो। सिजनको पहिलो तीन खेलमै हारले टिम र फ्यान दुबैलाई निराश बनाएको थियो। यस्तो सन् १९५४ यता भएको थिएन।

लगातार टोली खराब लयमा हुुुँदा आफ्नो पहिलो सिनियर कोचिङ भूमिकामा डेढ वर्ष बितिसकेका आर्टेटाले त्यसबेला सायद आफैँमाथि प्रश्न गर्न थालेका थिए। प्रशिक्षक बनेपछि आर्टेटाले साइडलाइन लगाएका मेसुट ओजिलले आर्सनलको खराब लयका बीच सामाजिक सञ्जालमा व्यंग्यात्मक रूपमा लेखे – ट्रस्ट द प्रोसेस।

उनको यो कटाक्ष क्लबमाथि भन्दा पनि आफ्ना पूर्व प्रशिक्षकको तरिकामाथि थियो।

आफ्नै समर्थक, पूर्वखेलाडी र राइभलहरुको कटाक्षका बीच अमेरिकी मालिक स्टान क्रोन्केको नेतृत्वमा बोर्डले आर्टेटामाथि भरोसा राख्यो। उनले व्यवस्थापकको जिम्मेवारी लिएर आफ्नो रणनीतिलाई एप्लाइ गरिरहे र आवश्यक खेलाडीलाई भित्र्याउने र रणनीति बाहिरका खेलाडीलाई बिदा गर्ने काम गरिरहे।

आर्टेटाले आफ्नो पहिलो सिजनको अन्त्यमा एफए कप जितेका थिए र क्लबमा आफ्नो ‘फिलोसपी’को कठिन प्रक्रिया सुरु गरेका थिए। उनले क्लबमा अनुशासन कडा बनाउँदै गर्दै ओजिल तथा पियर-इमेरिक अबामेयाङजस्ता खेलाडीहरूलाई बिदा गर्ने कठिन निर्णय लिएका थिए।

तर, यसबीचमा आर्सनलको यात्रा सहज रहेन्। ट्रफी आउन सोचेभन्दा बढी अर्थात यसपछि पनि करिब ६ वर्ष लाग्यो।

 युवामाथि भरोसा, त्यसपछि ठूलो लगानी

कार्यकालका सुरुवाती वर्षहरूमा आर्टेटाले आर्सेनलको भाग्य फेर्न टिम मालिकलाई विश्वासमा लिँदै युवा खेलाडीहरूमाथि लगानी गर्ने निर्णय लिए।

बुकायो साका र इमाइल स्मिथ रो जस्ता एकेडेमी खेलाडीहरूलाई पहिलो टोलीमा अवसर दिइयो। २०१९ मा ब्राजिलबाट १८ वर्षीय गेब्रियल मार्टिनेल्ली आए। त्यही वर्ष फ्रान्सबाट १८ वर्षीय विलियम सालिबा पनि जोडिए। अर्को केही वर्षमा बेन व्हाइट र मार्टिन ओडेगार्डजस्ता २३ वर्षमुनिका खेलाडीहरू साइन गरिए।

आर्टेटाले यी युवाहरूलाई शीर्ष स्तरका प्रिमियर लिग खेलाडी बनाए। त्यस्तै, अन्तिम कदम चाल्न क्लबलाई डेकलान राइस, भिक्टर ग्यकेरेस र एबेरेची एजेजस्ता अलि अनुभवी र उत्कृष्ट खेलाडीहरू किन्नु जरुरी थियो।

आर्सनल टोली। तस्बिर: प्रिमियर लिग/फेसबुक

यो सस्तो थिएन। राइस सन् २०२३ मा करिब १०५ मिलियन पाउन्ड (१३८ मिलियन डलर) मा आर्सनल पुगे। यो तत्कालीन रुपमा प्रिमियर लिगको कीर्तिमानी रकम थियो। गत समरमा ग्यकेरेस र एजेलाई मिलाएर करिब १६० मिलियन डलर लगानी भएको थियो।

बढ्दो लगानीका बीच आर्सनललाई दवाब नतिजाको पर्न थालेको थियो।

 असफलताहरूपछिको दृढता र अनौठा तरिकाहरू

पछिल्ला तीन वर्षसम्म प्रिमियर लिगमा आर्सनल उपविजेता बन्दै आयो। उपाधिको छेवैमा पुगेर अफलताको शृङखलापछि आर्सनलका खेलाडी र प्रशिक्षकलाई ‘नियर्ली मेन’ भनेरसम्म खिसी गरियो।

त्यही अनुभव र दृढताले अन्ततः उपाधि जित्ने जग बनायो।

आर्टेटा आफ्नो टोलीमाथि विश्वस्त रहे। आफ्ना अनौठा ‘तिकडम’ लगाइरहे खेलाडीलाई मोटिभेसन गर्न।

उनले खेलाडीहरूलाई मोटिभेट गर्न के सम्म गरेनन्? एक प्रि-सिजन डिनरमा  त पकेटमार भाडामा ल्याइएको कुरा बाहिरिएको थियो।  खेलाडीहरूका सामानहरू चोर्दै, सधैँ सतर्क रहनुपर्ने सन्देश दिन उनले चाहेका थिए। अझ रोचक त एउटा खेलअघि ड्रेसिङ रूममा उनी बल्ब लिएर आए। उनको सन्देश  टोलीलाई बल्बजस्तै चम्किन र इमिरेट्स स्टेडियम उज्यालो पार्न भनेर थियो। केही हप्ताअघि मात्र अभ्यास सत्रमा ठूला स्क्रिनमा फ्यानहरूका टिकटक भिडियो पनि देखाइए।

यसबाहेकका पनि उनका यस्तै किस्सालाई लिएर फुटबल बृत्तमा ठट्यौली पनि चल्ने गर्थ्यो।

सायद अघिल्लो तीन सिजनमा उपविजेताको ट्यागले पनि होला यस सिजनमा आर्सनल मानसिक रूपमा बलियो रह्यो। अर्को राम्रो सुरुवातपछि पनि टिकिरह्यो र सिटीको वर्चस्वलाई पछि पार्दै च्याम्पियन बन्यो। आफ्नो ‘इनकन्सिस्टेन्ट’ टिमको छविलाई फेर्न सफल भयो।

इंग्लिश फुटबलको आधारभूत शैलीकै खेल

आर्सनलको यसपालाको उपाधि यात्रा खासै आकर्षक नभएको भनेर पनि उत्तिकै चर्च चल्ने गर्छ।

केही सिजनदेखि आर्सनल इंग्लिश फुटबलमा शैली फरक थियो। पेप गार्डियोलाको सुन्दर पासिङ र योर्गन क्लपको ‘हेभी मेटल फुटबल’ को ठाउँमा अब सेट-पिस, लामो थ्रो-इन र पछाडिबाट लामो पासजस्ता ‘बेसिक्स’ हावी भए।

यो शैलीमा आर्सेनलले महारथ हासिल गर्‍यो पनि।  कर्नरमा गेब्रियल माग्हालाएस, राइसको सटीक थ्रो र डेड-बल डेलिभरी सानदार रह्यो। त्यस्तै, ग्यकेरेस बलियो र होल्ड-अप स्ट्राइकरको रूपमा उत्कृष्ट छन्।

गनर्सको यस सिजनमा लिगमा सबैभन्दा राम्रो डिफेन्स पनि उत्कृष्ट छ।  ३७ खेलमा जम्मा २६ गोल मात्रै।

राइसको नेतृत्व, रायाका बचाउ र ग्योकेरेसका गोलहरू

राइस र गोलकिपर डेभिड रायाले यस सिजनमा विशेष छाप छोडे। दुवै इंग्लिश फुटबलको वर्ष खेलाडीको पुरस्कारका दाबेदारका रुपमा हेरिएको छ।

त्यस्तै मध्यभागमा राइसको नेतृत्व, ऊर्जा र सेट-पिस डेलिभरीले उनलाई टोलीको महत्वपूर्ण सदस्य बनाएको छ। अझ, रायाले आर्सेनललाई १९ क्लिनसिट दिलाए। उनको डिस्ट्रिब्युसन तथा पछाडिबाट पासिङ प्रिमियर लिगमै उत्कृष्ट मान्न सकिन्छ।

त्यसमाथि ग्यकेरेसले पहिलो सिजनमै सबै प्रतियोगितामा २१ गोल गरे। यसरी आर्टेटाको कार्यकालको तुलनामा यस सिजन आर्सेनलको स्कोड गहिराइ र विविधता सबैभन्दा बलियो रह्यो।

इएसपीएन ले पाँच चरणको योजनाको रिपोर्ट बनाएको छ जसको सहायतामा आर्सनललाई  कमजोर स्थितिबाट लिग उपाधि विजेता बनायो।

मिकेल आर्टेटा र तत्कालीन टेक्निकल डाइरेक्टर एडु गास्पारले सन् २०१९ मा मिलेर एउटा गोप्य पाँच-चरणको योजना बनाए। यसको लक्ष्य थियो आर्सेनललाई फेरि इंग्लिश फुटबलको शिखरमा पुर्याउनु। २२ वर्षपछि त्यो सपना पूरा भयो।

यसमा पहिलो थियो – स्कोड सफाइ।  ओजिल, अबामेयाङलगायत खेलाडीले ड्रेसिङ रूमको माहोल बिगारेको ठहर गर्दै उनीहरुलाई पैसा तिरेरै बिदा गरियो। यो ‘क्रूर’ थियो, तर जरुरी थियो भनेर गास्पारले भनेका छन्।

दोस्रो थियो- युवा भर्ती।  साका, मार्टिनेल्ली, सालिबा, ओडेगार्डजस्ता २४ वर्षमुनिका प्रतिभाशाली खेलाडीहरू ल्याइए र विकास गरियो। खेलाडीहरूबीच राम्रो मित्रता र टिम भावना बन्यो।

अर्को थियो  विजेताको मानसिकता। म्यानचेस्टर सिटीमा उपाधि जितिसकेका गेब्रियल जेसस र जिन्चेन्कोलाई ल्याउनुको एउटा मुख्य कारण थियो-  ड्रेसिङ रूममा जित्ने माहोल भित्र्याउन।

त्यस्तै डेकलान राइसलई महँगो शुल्क तिरेर आर्सनलले ल्यायो। १०५ मिलियन पाउन्डमा राइस ल्याउनु योजना थियो। महँगो खर्चिए पनि उनले नेतृत्व, ऊर्जा र सेट-पिस सबैमा अपेक्षाभन्दा राम्रो गरे।

मालिक क्रोन्के परिवारको अटुट समर्थन, तीन वर्षको उपविजेता भएर पाएको अनुभव र यस सिजन २५० मिलियन पाउण्डमाथि (करिब ५१ अर्ब ९३ करोड रुपैयाँ) को लगानीले अन्ततः आर्सनल च्याम्पियन बन्यो।