BIZMANDU
www.bizmandu.com

गोंगबुको एक गेस्टहाउसबाट राजविराजका दुई युवक ४५ राउण्ड गोलीसहित पक्राउ

२०८३ जेठ ९

गोंगबुको एक गेस्टहाउसबाट राजविराजका दुई युवक ४५ राउण्ड गोलीसहित पक्राउ
गोंगबुको एक गेस्टहाउसबाट राजविराजका दुई युवक ४५ राउण्ड गोलीसहित पक्राउ


काठमाडौं। सप्तरीको राजविराजका दुई युवक काठमाडौंमा हातियारको गोली र म्यागजिनसहित पक्राउ परेका छन्।

GBIME
Tata

टोखा-९ गोंगबु शिव मन्दिर क्षेत्रको काबेली गेस्टहाउसबाट पक्राउ पर्नेमा राजविराज-१३ का २७ वर्षीय खगेन्द्र शर्मा र २२ वर्षीय ओमशंकर गुप्ता छन्। उनीहरुका साथबाट ४५ राउण्ड गोली, एसएलआर हतियारको एउटा म्यागजिन र एउटा मेटल नक बरामद भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।

दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियार सम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको तथ्यांक सार्वजनिक गरेको छ।  जसमध्ये उपत्यकाबाट ३ जना, कोशी प्रदेशबाट १ जना, मधेश प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना पक्राउ परेका छन्।    

पक्राउ परेका व्यक्तिहरूबाट चाइनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरूवा बन्दुक २१ थान,  बन्दुक १ थान र एयरगन २ थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ। साथै उनीहरूबाट चाइनिज पेस्तोलको गोली १ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्ड समेत बरामद भएको छ।