BIZMANDU
www.bizmandu.com

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाद्वारा आमादब्लम हिमालको सफल आरोहण

२०८३ जेठ ९

इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाद्वारा आमादब्लम हिमालको सफल आरोहण
इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाद्वारा आमादब्लम हिमालको सफल आरोहण


काठमाडौं। इन्डोनेसियाकी महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन्। उनले इन्डोनेसियन वुमेन्स रेड एन्ड ह्वाइट एक्सपिडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन) २०२६ अन्तर्गत उक्त हिमाल आरोहण गरेकी हुन्।

Tata
GBIME

ढाकास्थित इन्डोनेसिया दूतावासका अनुसार नाद्या मे १५ मा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे आमादब्लमको चुचुरोमा पुगेकी थिइन्। कठिन हिमाली भूगोल र प्रतिकूल मौसमबीच गरिएको यो आरोहणलाई इन्डोनेसियाली महिलाको साहस, सहनशीलता र अन्तर्राष्ट्रिय पर्वतारोहणमा क्षमताको प्रतीकका रूपमा लिइएको छ।

यो अभियान इन्डोनेसियाली महिला पर्वतारोहण टोलीको दीर्घकालीन हिमाल आरोहण योजनाको पहिलो चरण हो। टोलीले सन् २०२७ मा नेपालकै मनास्लु हिमाल आरोहण गर्ने र त्यसपछि पाकिस्तानस्थित केटु हिमालतर्फ अभियान अघि बढाउने योजना बनाएको जनाएको छ।

अभियान इन्डोनेसियाको ‘कार्टिनी डे’ को भावना अनुरूप आयोजना गरिएको बताइएको छ। इन्डोनेसियाकी राष्ट्रिय व्यक्तित्व राडेन अजेंग कार्टिनीले महिलाको समान अवसर र विभिन्न क्षेत्रमा सहभागिताको पक्षमा आवाज उठाएकी थिइन्। उनकै प्रेरणाबाट महिलालाई साहसिक खेल तथा पर्वतारोहण क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको जनाइएको छ।

नाद्या अप्रिल २९ मा नेपाल आइपुगेकी थिइन्। उनलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकाल लगायत नेपालस्थित इन्डोनेसियाली समुदायका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

आरोहणका क्रममा नाद्याले बेसक्याम्पदेखि क्याम्प १ र क्याम्प २ सम्मको अनुकूलन यात्रा पूरा गरेकी थिइन्। प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए भने अन्तिम चुचुरो यात्राका क्रममा सोनाम शेर्पा र पुर्बा तामाङ पनि टोलीमा सहभागी भएका थिए।

कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिबीच करिब १९ घण्टाको निरन्तर आरोहणपछि नाद्या सुरक्षित रूपमा चुचुरोमा पुगेकी थिइन्। सफल आरोहणपछि उनी स्वस्थ अवस्थामा काठमाडौं फर्किएकी छन्।

यस उपलब्धिको सम्मानमा ढाकास्थित इन्डोनेसिया दूतावास र नेपालस्थित इन्डोनेसियाली समुदायले नाद्या जियानिफा तथा अर्की इन्डोनेसियाली महिला आरोही फुर्की स्याहरोनीको स्वागत कार्यक्रम आयोजना गरेका थिए। फुर्कीले पनि मे १७ मा आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेकी थिइन्।

यी सफल आरोहणसँगै आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गर्ने इन्डोनेसियाली पर्वतारोहीको संख्या १२ पुगेको छ।

कार्यक्रममा बंगलादेश तथा नेपालका लागि इन्डोनेसियाली राजदूत लिस्ट्योवाटीले महिला आरोहीहरूलाई बधाई दिँदै उनीहरूको उपलब्धिले इन्डोनेसियाली महिलालाई आफ्ना सपना पछ्याउन प्रेरित गर्ने र नेपाल–इन्डोनेसिया समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने बताइन्।