काठमाडौं। नेपाली महिला भलिबल टोली भारतसँग पराजित भएको छ। आजबाट सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोली भारतसँग ३-२ को सेटमा पराजित भएको हो।
नेपालले पहिलो सेटमा २५-२१ ले जित निकाल्दै सुखद सुरुवात गरेको थियो। राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलको दोस्रो सेट भने नेपालले २५-२० ले गुमायो। तेस्रो सेट पनि १९-२५ ले गुमाएको नेपालले चौथो सेटमा पुनरागमन गर्दै जित निकाल्दा पाँचौँ सेटसम्म खेल तन्किएको थियो। पाँचौँ सेटमा भारतले १५-९ ले जित निकाल्दा नेपाल ३-२ को सेटमा पराजित हुन पुग्यो।
यो प्रतियोगितामा ८ टोली सहभागी छन्। नेपाल रहेको समूह ‘ए’ मा भारत, कीर्गिस्तान र माल्दिभ्स छन् भने समूह ‘बी’मा श्रीलंका, बंगलादेश, इरान र काजकिस्तान छन्।
नेपालले दोस्रो खेलमा भोलि कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।