BIZMANDU
www.bizmandu.com

चन्द्रागिरि नगरपालिकाले नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गर्ने

२०८३ जेठ ८

चन्द्रागिरि नगरपालिकाले नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गर्ने
चन्द्रागिरि नगरपालिकाले नागढुंगादेखि कलंकीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गर्ने


काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सिसि क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME

चन्द्रागिरिको नागढुंगादेखि कलंकीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सिसि क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि क्यामरा जडान गर्न लागिएको हो। उक्त समझदारीमा नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरेका हुन्।

नगरप्रमुख गिरीले काठमाडौं उपत्यका भित्रिने सबैभन्दा ठूलो र मुख्य नाका नागढुंगा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यस क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए। उनले सिसिटिभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

‘सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ, स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको यो लगानीको हामी उच्च कदर गर्दछौँ र समस्या समाधानमा प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने।

हाल चन्द्रागिरि नगरपालिकाभित्र झण्डै ४०० सिसि क्यामेरा जडान गरिएका छन्। नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले नगरपालिकाभित्र जडान गरिएका क्यामराको संख्या थप गरी एक हजार ५०० पुर्‍याइनुका साथै नगरभित्रको सुरक्षा गर्ने लक्ष्यका साथ सिसि क्यामेरा जडान गर्न नेपाल प्रहरीसँग सम्झौता गरिएको बताए। रासस