BIZMANDU
www.bizmandu.com

सरकारले गर्‍यो सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का, प्रदेश र स्थानीय तहलाई पनि परिपत्र

२०८३ जेठ ७

सरकारले गर्‍यो सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का, प्रदेश र स्थानीय तहलाई पनि परिपत्र
default


काठमाडौं। सरकारले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने निर्णय अनुसार बिहीबार सूचना जारी गरेको हो।

Vigo
GBIME
Tata

विभागले निर्णयको जानकारी प्रदेश र स्थानीय तहलाई पनि परिपत्रमार्फत गरेको छ। इन्धन र इलेक्ट्रिक दुवै प्रकारका सार्वजनिक सवारीसाधनको दर्ता रोक्का भएको हो।

सरकारको परिपत्रमा भनिएको छ, ‘सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्यधिक बायु प्रदूषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाइ उत्पन्न भएको छ। इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी तथा यातायातमा पर्न गएको असहजता र कठिनाइको सम्बोधन गर्न सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ। यस असामान्य परिस्थिति एवं चुनौतीको सम्बोधन गर्न “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाइ वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितको लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई त्यस्तो सवारीको दर्ता रोक्का गर्न आदेश दिन सक्ने ” व्यवस्था भएको हुँदा सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरे सम्म तत्कालका लागि ऐ. ऐनको दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न आवश्यक देखिएकाले तहाँ मन्त्रालय अन्तर्गतका कार्यालय/पालिकाबाट गरिने सार्वजनिक सवारी साधनहरूको (इलेक्ट्रिक सार्वजनिक सवारी साधन समेत) नयाँ दर्ता रोक्का गरिदिनुहुन निर्णयअनुसार ब्यहोरा अनुरोध छ।’

पत्र अनुसार अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का भएको विभागले जनाएको छ।