BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईलाई वरिष्ठ उपाध्यक्ष छान्न अदालतको अनुमति, तीन समूहका अलग अलग भेला

२०८३ जेठ ७

एफएनसीसीआईलाई वरिष्ठ उपाध्यक्ष छान्न अदालतको अनुमति, तीन समूहका अलग अलग भेला
एफएनसीसीआईलाई वरिष्ठ उपाध्यक्ष छान्न अदालतको अनुमति, तीन समूहका अलग अलग भेला


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)लाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको बाटो खुलेको छ।

Vigo
GBIME
Tata

उच्च अदालत पाटनले मनोनीत सदस्यले वरिष्ठ उपाध्यक्षलाई भोट दिन पाउने निर्णय कार्यान्वयन हुन नदिनका लागि दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि एफएनसीसीआईलाई शुक्रबार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको बाटो खुलेको हो।

मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश दीपक खनालको इजलासले आन्तरिम आदेश जारी गर्न बिहीबार अस्वीकार गरेको छ। एफएनसीसीआईले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेको छ।

न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले मनोनीत सदस्यले वरिष्ठ उपाध्यक्षमा भोट हाल्न पाउने निर्णय र शुक्रबारका लागि तय बैठक यथास्थितिमा राख्न बुधबार अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठले वैशाख २४ गते कार्यसमितिको बैठक राखेर जिल्ला उपाध्यक्ष कृष्णप्रसाद शर्माको नेतृत्वमा जुना माथेमा र अरनिको राजभण्डारी सदस्य रहेको समिति बनाइ मनोनीत सदस्यले वरिष्ठ उपाध्यक्षमा भोट हाल्न पाउने गरी कार्यविधि परिवर्तन गरेका थिए।

त्यो निर्णयविरुद्ध पूर्वउपाध्यक्ष किशोर प्रधान उच्च अदालत पाटन पुगेका थिए। उनले नयाँ कार्यविधिको कार्यान्वयन रोक्नका लागि अन्तरिम आदेश माग गरेका थिए।

वरिष्ठ उपाध्यक्षमा अध्यक्ष अन्जनका तर्फबाट सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेको समूहबाट रामचन्द्र संघई र अर्को प्यानलबाट हेमराज ढकाल उम्मेदवार बन्दैछन्। यस्तै अन्जनले मनिषलाल प्रधान र प्रबलजंगले अम्बिका पौडेललाई कोषाध्यक्षको उम्मेदवार बनाउँदैछन्।

कार्यसमितिको बैठकमा चुनाव हुनु अघिल्लो दिन बिहीबार अन्जनको समूहले गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस रिसोर्ट, पाण्डेको समूहले बूढानीलकण्ठस्थित लेमन ट्री र ढकालको समूहले नक्सालस्थित होलिडे इन एस्प्रेस होटलमा भेला राखेका छन्।