BIZMANDU
www.bizmandu.com

एआई युगमा जनशक्ति व्यवस्थापन बारे विशेष सम्मेलन हुँदै, सम्भाव्य सीपमाथि हुनेछ बहस

२०८३ जेठ ७

एआई युगमा जनशक्ति व्यवस्थापन बारे विशेष सम्मेलन हुँदै, सम्भाव्य सीपमाथि हुनेछ बहस
एआई युगमा जनशक्ति व्यवस्थापन बारे विशेष सम्मेलन हुँदै, सम्भाव्य सीपमाथि हुनेछ बहस


काठमाडौं। काठमाडौं फिन्टेकले आगामी बुधबार जेठ १३ गते काठमाडौंमा ‘एचआर इन द एज अफ एआई, डाटा एन्ड डिजिटल’ शीर्षकमा विशेष सम्मेलन आयोजना गर्ने भएको छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकास भइरहेका बेला नेतृत्वको भविष्य, जनशक्ति व्यवस्थापन र डिजिटल कार्यसंस्कृतिबारे केन्द्रित रहेर सम्मेलनमा छलफल गरिने आयोजकले जनाएका छन्।

Tata
GBIME

कार्यक्रममा एचआर, बैंकिङ, एआई तथा डिजिटल रूपान्तरण क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्। सम्मेलनमा एचआरमा एआईको प्रयोग, डाटामा आधारित निर्णय प्रक्रिया, डिजिटल कर्मचारी अनुभव, एआई युगको नेतृत्व शैली, भविष्यको कार्यक्षेत्र र सीप विकासलगायत विषयमा बहस हुनेछ।

कार्यक्रममा भारतका बैंकिङ तथा वित्तीय क्षेत्रका सीएचआरओ हर्ष कुमार, वरिष्ठ सीएचआरओ तथा प्रमाणित एआई व्यावसायिक शिल्पा सक्सेना, एआई र बैंकिङ क्षेत्रका विज्ञ आलोक खत्रीलगायतले आआफ्ना क्षेत्रका अनुभव साझा गर्नेछन्। उनीहरूले संस्थागत कार्यसंस्कृति परिवर्तन, एआईको प्रयोग, नेतृत्व विकास र डिजिटल रूपान्तरणका विषयमा धारणा राख्नेछन्।

काठमाडौं फिन्टेकका अनुसार सम्मेलनको उद्देश्य एचआर क्षेत्रका युवा प्रतिभालाई प्रोत्साहन गर्नु र आधुनिक एचआर अभ्यासबारे स्पष्ट दृष्टिकोण विकास गर्नु हो । एचआरलाई परम्परागत प्रशासनिक भूमिकाबाट बाहिर निकालेर डाटा र ‘पिपल इन्टेलिजेन्स’ मा आधारित रणनीतिक भूमिकातर्फ लैजानुपर्ने सन्देश कार्यक्रमले दिने आयोजकको भनाइ छ।

एआई र डिजिटल प्रविधिको विस्तारसँगै मानव संसाधन व्यवस्थापनको स्वरूप तीव्र रूपमा बदलिँदै गएको छ। कर्मचारी छनोट, कार्यसम्पादन मूल्यांकन, तालिम, डेटा विश्लेषण र नेतृत्व विकासमा एआईको प्रयोग बढ्दै जाँदा संस्थाहरूले नयाँ कार्यशैली अपनाउनुपर्ने दबाब छ। यस्तो अवस्थामा यस्ता सम्मेलनहरूले व्यवस्थापक र एचआरकर्मीलाई बदलिँदो प्रविधि, आवश्यक सीप र भविष्यको कार्यसंस्कृतिबारे बुझ्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

सम्मेलन एचआर प्रबन्धक, उच्च व्यवस्थापक, विभागीय प्रमुख, लाइन म्यानेजर, सुपरभाइजर तथा नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि उपयोगी हुने जनाइएको छ।