BIZMANDU
www.bizmandu.com

सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन शुक्र र भुवन अगाडि, पछ्याउँदै धनबहादुर

२०८३ जेठ ६

सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन शुक्र र भुवन अगाडि, पछ्याउँदै धनबहादुर
सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन शुक्र र भुवन अगाडि, पछ्याउँदै धनबहादुर


काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र बहादुर राई र भुवन नगरकोटी समग्रमा ८-अन्डर १ सय २८ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।

Tata
GBIME

उनीहरू दुवैले आज ६-अन्डर ६२ को उत्कृष्ट स्कोरमा धन बहादुर थापालाई ३ स्ट्रोकले पछि पारे। धनले आज दिनकै उत्कृष्ट ७-अन्डर ६१ को स्कोर बनाए। उनले समग्रमा ५-अन्डर १ सय ३१ स्कोर दर्ज गरे।

समग्रमा ३-अन्डर १ सय ३३ सहित रामे मगर, भुवन कुमार रोक्का र पहिलो दिनका लिडर दिनेश प्रजापतिले संयुक्तरुपमा चौथो स्थान बाँडे। रामेले आज इभन-पार ६८, भुवन रोक्काले १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ को स्कोर निकाले।

आज १-अन्डर ६७ को कार्ड बनाएका दीपक मगर समग्रमा २-अन्डर १ सय ३४ सहित सातौं स्थानमा छन्। नेपाल नम्बर एक गल्फर निरज तामाङले आज ४-अन्डर ६४ सहित समग्रमा १-अन्डर १ सय ३५ सहित आठौं स्थानमा दोस्रो दिनको खेल सकाए।

यस्तै समग्रमा इभन-पार १ सय ३६ को स्कोरमा रवि खड्का र सञ्जय लामा संयुक्तरुपमा नवौं स्थानमा छन्। रविले आज ३-अन्डर ६५ खेल्दा सञ्जयले ३-ओभर ७१ मा खेल सकाए।

एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्माले समग्रमा २-अन्डर १ सय ३४ सहित स्वप्निल भट्टराईलाई १ स्ट्रोकले पछि पारेका छन्। राहुलले आज २-अन्डर ६६ को कार्ड बनाए। समग्रमा १-अन्डर १ सय ३५ स्कोर जोडेका स्वप्निलले आज ३-ओभर ७१ को स्कोर बनाए। समग्रमा ५-ओभर १ सय ४१ को स्कोरमा कवि थापा तेस्रो स्थानमा रहेका छन्। यस्तै चौथो स्थानमा रहेका बलराम पौडेलले पनि कट बनाए।

३६ होलको समाप्तीमा ८-ओभर १ सय ४४ स्कोर गरेका १८ प्रो र ४ एमेच्योर सहित कुल २२ खेलाडी कट बनाउन सफल रहे। प्रोतर्फ  प्रदीप कुमार लामा, टंक बहादुर कार्की, सुनिल केसी, रमेश अधिकारी, विकास बोगटी, जयराम श्रेष्ठ, सञ्जीब बहादुर नेपाली र सुन्दर राईले कट बनाए।

सूर्य नेपाल प्रालिको प्रायोजनमा पीजीए नेपालद्वारा आयोजित ७२ होलको चार दिने प्रतियोगितामा कूल ५२ खेलाडी प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख १० हजार रहेको छ। विजेताले १ लाख ३० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९० हजार र ७० हजार प्राप्त गर्नेछन्। चौथो र पाँचौं हुने खेलाडीले ५५ हजार र ४६ हजार हात पार्नेछन्। साथै, उत्कृष्ट १८ मा पर्न सफल अन्य प्रोफेसनल खेलाडीले पुरस्कार प्राप्त गर्नेछन्।