BIZMANDU
www.bizmandu.com

भारतले निकासी रोकेपछि चिनीमा कार्टेलिङ, मूल्य बढाउन उद्योगले दिन छाडे मागेजति परिमाण


भारतले निकासी रोकेपछि चिनीमा कार्टेलिङ, मूल्य बढाउन उद्योगले दिन छाडे मागेजति परिमाण
भारतले निकासी रोकेपछि चिनीमा कार्टेलिङ, मूल्य बढाउन उद्योगले दिन छाडे मागेजति परिमाण


विराटनगर। भारतले चिनी निर्यात रोकेको भोलिपल्टै किलोमा २ रुपैयाँ मूल्यवृद्धि गरेका उद्योगीले कार्टेलिङ सुरु गरेका छन्। भारतबाट आयातित चिनी सकिएपछि मूल्य आफू अनुकूल बढाउनका लागि उद्योगीले कार्टेलिङ गर्न थालेका हुन्।

Tata
GBIME

होलसेलरका अनुसार दैनिक १० ट्रक चिनी बिक्री गर्ने उद्योगले अहिले १ देखि बढीमा ३ ट्रक मात्र बजारमा पठाइरहेका छन्। सबै उद्योगीले यही हिसाबले चिनी बिक्री गरिरहेका छन्।

नवलपरासीको बागमती खाँडसारी मिल्सले त बिक्री नै बन्द गरेजस्तै छ। धेरै पटक भनेपछि उद्योगले एक गाडी चिनी दिने गरेको छ। चिनी उद्योग संघले वैशाख २८ मा प्रकाशित गरेको तथ्यांक अनुसार बागमतीसँग ५१ हजार ३६० क्विन्टल चिनी छ। अन्य उद्योगको तुलनामा यो मौज्दात थोरै हो।

संघले सबैभन्दा धेरै चिनी इन्दुशंकर चिनी उद्योगसँग १ लाख ९३ हजार २९५ क्विन्टल र त्यसपछि एभरेस्ट सुगरसँग १ लाख ७२ हजार ६८२ क्विन्टल रहेको जनाएको छ।

काठमाडौं बालाजुको होलसेल कम्पनी आस्मा एन्ड कम्पनीका एमडी सञ्जयकुमार फुयाँलले उद्योगले चिनी नदिएपछि सोमबार साल्ट ट्रेडिङसँग किनेको जानकारी दिए।

‘हेलो सरकार, भारतले चिनी एक्पोर्ट बन्द गर्नेबित्तिकै नेपालका फ्याक्ट्रीले चिनी किन नदिएको? सरकार! जसलाई सोधे पनि बिक्री बन्द रे। यो किन?,’ व्यवसायी फुयाँलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्।

‘उद्योगीहरू हिजोसम्म लैजा लैजा भन्थे। आज माग्दा मुस्किलले एक ट्रक दिन्छन्। भारतले बन्द गर्नुअघि फ्याक्ट्री मूल्य भ्याटसहित किलोको ८८–८९ रुपैयाँ थियो। यसमा ढुवानी खर्च अलग लाग्थ्यो। अहिले ९०–९१ बनाएका छन् । तर पनि मागे जति दिएका छैनन्,’ फुयाँलले बिजमाण्डूसँग भने।

फुयाँल जस्तै चिनीका अरु होलसेलर पनि उद्योगले ढोका बन्द गरेपछि साल्ट ट्रेडिङमा धाउन थालेका छन्। उद्योगले माग अनुसार चिनी नदिएका कारण कालोबजारीमा आफू पनि बदनाम हुने भय होलसेलरहरुमा छ।

‘उद्योगले अहिले सकेसम्म चिनी बेच्न नै चाहेका छैनन्। दिनको एक/दुई गाडी सरकारलाई देखाउन मात्र बिक्री गरेका हुन्,’ अर्का होलसेलरले भने, ‘उद्योगका कारण बजारमा चिनीको कालोबजारी हुने भयो। हामी चाहिं ब्यर्थैमा घानमा पर्ने डर भयो।’

उद्योगीले मूल्य बढाउने आइडिया निकाल्दा साल्ट ट्रेडिङले गत वर्षकै भाउमा चिनी बेचिरहेको छ। साल्ट ट्रेडिङले मसिनो चिनी किलोको ९३ र मोटो ९४ रुपैयाँका दरले बेचिरहेको हो।

काठमाडौंका अर्का व्यवसायी अभिनव गुप्ताले बागमती खाँडसारीले साउन लागेपछि मात्र पर्याप्त दिन सकिने बताएको जानकारी दिए। साउन लागेपछि अझ मूल्यवृद्धि हुने र राम्रो नाफा लिन सकिने उद्देश्यका साथ बागमतीले बिक्री नियन्त्रण गरेको हो।

तर उद्योगका सञ्चालक जगदीशप्रसाद अग्रवालले आफूले चिनी बिक्री नगरेको नभई बिक्री नै नभएको जवाफ दिए। ‘बजारमा चिनी फालाफाल छ। इम्पोर्टको चिनीले उद्योगको चिनी बिक्री हुने अवस्था छैन। त्यसैले हामीले नदिएको होइन, हाम्रो चिनी नबिकेको हो। नदिएको भन्ने त व्यवसायीको झुट्टा आरोप मात्र हो,’ उद्योगी अग्रवालले भने।

उनले असारदेखि चिनीको बिक्री सहज हुने बताए। ‘साउन होइन असारदेखि चाहिँ सहज हुन्छ,’ उनले भने।

व्यवसायी गुप्ताका अनुसार चिनीका सबैभन्दा ठूला खेलाडी एभरेस्ट सुगर र हिमालय सुगर मिल्स हुन्। तर दुबै मिल्सको चिनी उद्योगमा जाने गर्छ। वैशाख २८ सम्म एभरेस्टसँग १ लाख ७२ हजार ६८२ र हिमालयसँग १ लाख २८ हजार ४०४ क्विन्टल चिनी छ।

‘एभरेस्ट र हिमालयले उद्योगलाई मात्रै बिक्री गरिरहेका छन् भने १० उद्योगले बिक्रीमा कडाइ गरेका छन्। अनि हामीले कसरी व्यवसाय गर्ने?,’ गुप्ताले प्रश्न गरे।