BIZMANDU
www.bizmandu.com

एफएनसीसीआईको राजनीतिमा नयाँ ट्विस्ट : अन्जनको प्यानलबाट प्रबलजंग समूह आउट

२०८३ जेठ ६

एफएनसीसीआईको राजनीतिमा नयाँ ट्विस्ट : अन्जनको प्यानलबाट प्रबलजंग समूह आउट
एफएनसीसीआईको राजनीतिमा नयाँ ट्विस्ट : अन्जनको प्यानलबाट प्रबलजंग समूह आउट


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचनमा नयाँ ट्विस्ट आएको छ। महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको समूहमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा सहमति नजुट्दा फुट आएको छ।

Tata
GBIME
Nepal Life

अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधानलाई अगाडि सारेपछि यो समूहमा फुट आएको हो।

महासंघका एसोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे पक्षले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई वा भरत आचार्य र कोषाध्यक्षमा अम्बिका पौडेललाई अघि सारेको छ।

स्रोतका अनुसार अध्यक्ष श्रेष्ठले एकतर्फी रुपमा वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधानलाई ल्याएपछि पाण्डे समूह आक्रोशित बनेको हो।

‘अन्जनजीलाई यसअघि वरिष्ठ उपाध्यक्ष बनाउनका लागि सबै त्याग गरियो। अध्यक्ष बनेपछि एकपछि अर्को उम्मेदवार ल्याएर विगतको सहमति तोड्ने काम भयो,’ पाण्डे समूहका एक कार्य समिति सदस्यले बिजमाण्डूसँग भने, ‘कोषाध्यक्षमा उहाँले एकतर्फी रुपमा नाम अघि सार्नुभयो। त्यसले हामीलाई दु:खित बनाएको छ।’

प्रबलजंग पाण्डे

पाण्डेले विगतको सहमतिकै आधारमा संघईलाई वरिष्ठ उपाध्यक्ष बनाउन जोडबल गरेका थिए। वरिष्ठ उपाध्यक्षमा एकाएक सुरकृष्णलाई अगाडि सारिएपछि पाण्डे संशकित बनेका थिए। त्यसमा पनि चुनाव लगत्तै श्रेष्ठले प्रधानलाई कोषाध्यक्ष प्रस्ताव गरेपछि विश्वासघात भएको निष्कर्ष पाण्डेले निकालेका छन्।

ती सदस्यका अनुसार अध्यक्ष भएपछि श्रेष्ठले पाण्डे पक्षसँग राम्रोसँग छलफल समेत गरेका छैनन्। महासंघमा मनोनीत हुने सात सदस्यका बारेमा कुनै छलफल भएको छैन।

‘अध्यक्ष बनेपछि खासै छलफल छैन। मनोनीत गर्ने उद्योगी व्यवसायीका बारेमा कुरै भएको छैन। हुँदाहुँदै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षका लागि बेग्लै अभियान गर्न थाल्नुभएको छ,’ उनले भने, ‘चुनावी क्याम्पेनमा समेत बाइकट गरेर आफ्नो हिसाबले अगाडि बढेपछि द्वन्द्व झन् चर्किएको छ।’

महासंघको निर्वाचन तथा अन्य महत्वपूर्ण विषयहरुमा महासंघका अध्यक्ष अन्जन श्रेष्ठसँग विचार विमर्श तथा छलफल भनेर निम्तो कार्ड छापिएको छ।

गोदावरीस्थित वेस्टर्न प्लस गोदावरी रिसोर्टमा बिहीबार राखिएको भेलामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार सुरकृष्ण र कोषाध्यक्षका उम्मेदवार मनिषलाललाई राखिएको छ। यस्तै जिल्ला उपाध्यक्षद्वय कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठको नाम पनि राखिएको छ। त्यो कार्डमा एसोसिएट उपाध्यक्ष प्रबलजंगको नाम राखिएको छैन।

योसँगै अन्जन समूहमा औपचारिक फुट देखिएको अर्का एक व्यवसायीले बताए। ‘अन्जन समूहमा फुट देखिइसकेको छ। अब पाण्डे समूहले संघई वा आचार्यलाई अगाडि सार्छ। कोषाध्यक्षमा पौडेलको उम्मेदवारी घोषणा भइसकेको छ,’ ती व्यवसायीले भने, ‘अन्जन समूहमै रहेर विगतमा सहमति गरेका भनिएका किशोरकुमार प्रधान पनि रुष्ट छन्।’

अन्जन श्रेष्ठ

उनका अनुसार किशोरलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति अन्जनले गरेका थिए। किशोरले समेत अन्जन एकतर्फी रुपमा अगाडि बढेको बताए।

‘पहिला मलाई वरिष्ठ उपाध्यक्ष बनाउँछु भनेर सहमति गर्नेमा अन्जन पनि हुनुहुन्थ्यो। अहिले उहाँले अरुलाई नै बोकेर हिंड्नुभएको छ,’ प्रधानले बिजमाण्डूसँग भने, ‘महासंघ धेरै तल गइसकेका बेला मिलाएर लैजानुपर्ने हो। तर, झन् विग्रह ल्याउने काम भएको छ।’

महासंघको वरिष्ठ उपाध्यक्षमा अर्को प्यानलबाट हेमराज ढकाल उम्मेदवार हुनेछन्।

कार्यकारिणी समितिको जेठ ८ गतेको बैठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ। मनोनीतसहित ८९ जनाले मतदान गर्नेछन्। वैशाख २१ र २२ गते काठमाडौंमा भएको ६०औं वार्षिक साधारण सभाले महासंघमा नयाँ नेतृत्व चयन गरेको थियो।