BIZMANDU
www.bizmandu.com

चेसमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव, कीर्ते र तस्करीसँगै यी हुन् ११ आरोप

२०८३ जेठ ५

चेसमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव, कीर्ते र तस्करीसँगै यी हुन् ११ आरोप
चेसमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव, कीर्ते र तस्करीसँगै यी हुन् ११ आरोप


काठमाडौं । नेपाल बुद्धिचाल संघ (चेस)का अध्यक्ष र महासचिवविरुद्ध प्रतिनिधि परिषदका सदस्यहरुले अविश्वासको प्रस्ताव ल्याएका छन्। संघले जेठ १० गते हेटौँडामा साधारण सभा बोलाएको छ।

Tata
GBIME

कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लगायतका प्रतिनिधिले भने आज पत्रकार सम्मेलन गर्दै साधारण सभा काठमाडौँमै गर्न माग राख्दै अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामाविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुको ११ वटा कारण दिएका हुन्। उनीहरुले अध्यक्ष र महासचिवमाथि मानव तस्करीदेखि कीर्ते रिपोर्ट बनाएकोसम्म आरोप लगाएका छन्।

आरोपमा मानव तस्करीको प्रयास गरेको, खेलाडीलाई धम्काएर पैसा मागेको, नक्कली रिपोर्ट बनाएको जस्ता आरोपहरु लगाएका छन्। खेलाडीलाई धम्काएको सन्दर्भमा यसअघि खेलाडीले पनि राष्ट्रिय खेलकुद परिषदमा उजुरी दिएका थिए।

दुई वर्षअघि चेस ओलम्पियाड खेल्न हंगेरी हिँडेको नेपाली टोलीले दिल्लीबाट हंगरीको भिसा लगाउन खोज्दा असफल भएको थियो। यसमा असम्बन्धित व्यक्तिहरु समेटेर मानव तस्करी गर्न खोजेको उजुरी परेपछि खेलाडीले भिसा नपाएको चर्चा चेस वृत्तमा थियो। उक्त प्रतियोगिता खेल्न बिदाइ भएका खेलाडी दिल्लीबाट फर्किएका थिए।

चेसका अध्यक्ष र महासचिवलाई कार्यसमिति सदस्यले लगाएको ११ आरोप

१) प्रत्येक ३ (तीन) महिनामा १ (एक) पटक वा १ (एक) वर्षमा अनिवार्य ४ (चार) पटक हुनुपर्ने महासंघको बैठक नराखी स्वेच्छाचारी र मनोमानी ढंगले निर्णय गर्दै विधानको दफा ६ को उपदफा (१) को उल्लंघन गरेको।

२) विधान बमोजिम वर्षमा १ (एक) पटक बस्नुपर्ने साधारण सभा नबोलाइएको/नगरिएको, विधानको दफा १० को उपदफा ५ को (ठ), (ड) र (ढ) मा भएको व्यवस्था विपरीतका कार्य गरेको, विधानले निर्दिष्ट गरेको जिम्मेवारीहरू पुरा नगरेको ।

३) चेस ओलम्पियाडमा बुद्धिचाल खेलसँग असम्बन्धित व्यक्तिहरूलाई सहभागी गराउने उद्देश्यले रकम लिएको कारण नेपालको सहभागिताको अवसर नै गुमेको।

४) विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देशको प्रतिनिधित्व गर्ने खेलाडी छनौटमा अनियमितता गरेको, मनोमानी ढंगले कार्य सञ्चालन गरेको, विधानअनुसार साधारण सभाबाट वार्षिक कार्यक्रम र बजेट पास नगरेको।

५) विभिन्न च्याम्पियनसिपमा खेलाडी सहभागिताको प्रक्रियामा मनोमानी गरेको, फिडे लगायतका निकायबाट प्राप्त हुने रकमको हिसाब नदेखाएको, खेलाडीहरूलाई पैसा माग्दै धाक धम्की दिएको।

६) चेस खेल भन्दा बाहिरको मान्छेहरूलाई विदेश पठाइदिने नाममा मानव तस्करी जस्तो जघन्य अपराध समेत गर्ने प्रयत्न गरेको।

७) नेपाल बुद्धिचाल महासंघको विधानको दफा २ को उपदफा (३) अनुसार महासंघको कार्यसमिति पदाधिकारी वा सदस्यहरूमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ व्यवस्था भए पनि विधानबमोजिम ३३ प्रतिशत महिलाको प्रतिनिधित्व नगराएको ।

८) अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघमा नक्कली रिपोर्ट (प्रतिवेदन) पठाएको।

९) खेलाडी कल्याणकोषको रुपमा हरेक प्रतियोगिताबाट उठाइएको ५% (प्रतिशत) रकम दुरुपयोग गरेको।

१०) महासंघको आधिकारिक सामाजिक सञ्जाल ग्रुपहरू कुनै निर्णय बिना बन्द गरिएको।

११) विभिन्न मितिमा साधारणसभाको मिति निश्चित गरेर पनि बिना सूचना बारम्बार स्थगित गरिएको।