BIZMANDU
www.bizmandu.com

सेयर बजारमा चलखेल रोक्न आपूर्ति बढाइने, म्युचुअल फण्डलाई लकइन अवधि हटाउँदै सेबोन

२०८३ जेठ ४

सेयर बजारमा चलखेल रोक्न आपूर्ति बढाइने, म्युचुअल फण्डलाई लकइन अवधि हटाउँदै सेबोन
सेयर बजारमा चलखेल रोक्न आपूर्ति बढाइने, म्युचुअल फण्डलाई लकइन अवधि हटाउँदै सेबोन


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले म्युचुअल फण्ड (सामूहिक लगानी कोष)लाई आइपीओको लकइन अवधि हटाउन लागेको छ। सेबोनले म्युचुअल फण्डलाई ६ महिने लकइन अवधि हटाउन लागेको हो।

Tata
GBIME

सेबोनको आन्तरिक अध्ययनले आइपीओमा म्युचुअल फण्डको लकइन अवधि हटाउनुपर्ने देखाएको छ।

आइपीओ बिक्रीपछि सेयर बजारमा सूचीकृत हुने कम्पनीको मूल्यमा अस्वाभाविक वृद्धि हुने प्रवृत्ति नरोकिएपछि त्यसलाई रोक्ने उपायस्वरुप म्युचुअल फण्डलाई लकइन हटाएर आपूर्ति बढाउन लागेको सेबोनका अधिकारीहरुले बताएका छन्।

‘आइपीओ निष्कासन गरेर नेप्सेमा सूचीकृत भए लगत्तै धेरै कम्पनीको सेयर मूल्य उच्च माग सिर्जना गरी अस्वाभाविकरुपमा उचाल्ने गरिएको छ। त्यसैले बजारमा सप्लाइ बढाउन म्युचुअल फण्डका लागि वितरण गरिने सेयरको लकइन अवधि हटाउनुपर्ने सुझाव यसअघि नै विभागीय तहबाट आएको थियो,’ सेबोन स्रोतले भन्यो, ‘त्यही सुझावलाई आधार मानेर नै लकइन हटाउन लागिएको हो।’

सेबोनका अधिकारीहरुका अनुसार नयाँ अध्यक्ष नियुक्त भएपछि लकइन हटाउने प्रक्रिया अगाडि बढ्नेछ।

सामूहिक लगानी कोष नियमावली अनुसार कम्पनीहरुले आइपीओको ५ प्रतिशत म्युचुअल फण्डलाई वितरण गर्नुपर्छ। म्युचुअल फण्डका लागि वितरण गरेको सेयरमा अहिले ६ महिना लकइनको व्यवस्था छ।

सेबोनले २०८० कात्तिकदेखि म्युचुअल फण्डलाई आइपीओमा ६ महिने लकइन अवधि लागू गरेको थियो। बजारमा अहिले बन्द र खुला गरेर करिब ५ दर्जन म्युचुअल फण्ड सञ्चालनमा छन्।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार संस्थापक र आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ३ वर्षे लकइन अवधि लागू हुन्छ। सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको मितिले ३ वर्षसम्म कम्पनीका संस्थापकले पनि सेयर बिक्री गर्न पाउँदैनन्।

लकइन अवधि सकिएपछि स्वत: साधारण सेयरमा परिणत भएर संस्थापकले बजार मूल्य अनुसार बिक्री गर्न पाउँछन्। आइपीओ निष्कासनपछि बजारमा सूचीकृत सेयरमध्ये कारोबारमा आउने थोरै परिमाणमा हुने भएकाले अस्वाभाविक रुपमा मूल्य उचाल्ने गरिएको छ।

आइपीओपछि कम्पनीको मूल्यमा हुने अस्वाभाविक उतारचढाव रोक्न म्युचुअल फण्डलाई लकइन हटाउँदा त्यसले राम्रो गर्ने मर्चेन्ट बैंकरहरु बताउँछन्।

‘अहिले आइपीओ सूचीकृत भएपछि कम्पनीको सेयरको उच्च माग सिर्जना गरी मूल्य पुर्‍याउने काम भइरहेको छ। यसलाई सम्हाल्नका लागि सेयर सप्लाइ बढाउन आवश्यक हुन्छ। त्यसका लागि अहिले सेबोनले म्युचुअल फण्डका लागि लगाइएको लकइन अवधि हटाउँदा सकारात्मक प्रभाव पर्ने देखिन्छ,’ मर्चेन्ट बैंकर सौगात पन्तले भने।

म्युचुअल फण्डका लागि लकइन हटाउने प्रस्ताव सेबोनका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसामु प्रस्ताव पुगेको थियो। तर उनले राजीनामा दिएका कारण निर्णय भएको छैन।

‘तत्कालीन अध्यक्षसमक्ष प्रस्ताव पुगे पनि उहाँले राजीनामा दिनुभएकाले अगाडि बढेको छैन। अब नयाँ अध्यक्ष आएपछि प्रक्रिया अगाडि बढ्छ,’ सेबोनका एक कर्मचारीले भने।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा तानिने भएपछि सन्तोषनारायणले वैशाख पहिलो साता सेबोन अध्यक्षबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाइसकेको छ।

‘सेबोनले आन्तरिक रुपमा विभिन्न कानुन संशोधनका लागि यसअघिकै अध्यक्षका पालामा गृहकार्य गरिसकेको थियो। तर, नयाँ अध्यक्षको नियुक्ति नभएकाले निर्णय हुन सकेको छैन,’ सेबोनका सहप्रवक्ता तोलाकान्त न्यौपानेले भने, ‘अब नयाँ अध्यक्ष आएपछि उहाँको नीतिअनुसार कामकारबाही अगाडि बढ्नेछ।’