काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक संजालमा सरकारी दुग्ध विकास संस्थान (डीडीसी) ले उत्पादन गरेको याक चिजको फोटो राखेका थिए। उक्त फोटो राखेपछि बजारमा याक चिज खरिद गर्ने उपभोक्ताहरु बढ्न थालेको र माग धेरै भएपछि नपाइने अवस्था भएको हल्ला फैलियो।
तर, डीडीसीले भने बजारमा हल्ला चलेजस्तो चिजको माग नभएको जनाएको छ। संथानका सूचना अधिकारी निलकण्ठ गौतमले याक चिज ‘सर्टेज’ हुने गरी माग नआएको बताए।
‘डीडीसीको बिक्री काउण्टरहरूमा केही भिड बढेर लगेको चिज सकिएको हुन सक्छ। तर, नपाइने गरी स्टक सकिएको छैन,’ उनले भने।
हाल संस्थानको लैनचौरमा करिब ३ हजारदेखि ३ हजार ५०० केजी याक चिज स्टक रहेको उनले जानकारी दिए। बिक्री कक्षहरूमा स्टक सकिए लैनचौरबाट फेरि समाग्री पठाइन्छ।
‘गत वैशाखदेखि चिज बन्ने सिजन सुरु भएकोले बजारमा अभाव हुँदैन। हरेक दिन चिज बनिरहने हुनाले माग अनुसार चिजको उपलब्धता छ,’ उनले भने।
डीडीसीको चिज देशभर १४ उत्पादन केन्द्रबाट उत्पादन हुँदै आएको छ। हरेक वर्ष उत्पादन बढ्दै करिब ४५ हजार केजीभन्दा बढी उत्पादन हुने गरेको छ। वार्षिक करिब ५५ देखि ६० लाख रुपैयाँको कारोबार हुने गरेको छ।
‘अहिले पनि याक चिजको माग बजारमा राम्रो छ। प्रधानमन्त्री र कृषीमन्त्रीले सरकारी डेरीले उत्पादन गरेका डेरीजन्य पर्दाथलाई प्रसार गर्दा बजारीकरणमा सहयोग पुग्छ। सरकारले प्रवर्धन गरेको डेरीजन्य पदार्थले राम्रो बजार पाउने अनुमान गरेको छौं,’ उनले भने।

पहिले पनि याक चिजको माग नै नभएको भने होइन। चिजको खपत सीमित क्षेत्र र उपभोक्ताले गर्ने हुँदा याक चिज अरुभन्दा महँगो हुने भएकोले माग कम भएको उनले बताए।
‘हाल डीडीसीमा याक चिज प्रति केजी १६०० रुपैयाँ छ। याक चिज खाने बानी नपरेकोले उपभोक्ताबाट माग कम हुने गरेको छ,’ उनले भने, ‘डीडीसीले उत्पादन गर्ने ३ चिजमध्ये याक चिज कम खोजिन्छ। अरु कन्चन र मोजरेल्ला चिजको माग बढी छ।’
याक चिज याकको दुधबाट बन्ने अर्गानिक चिज हो। कन्चन र मोजरेल्ला चिज गाई भैँसीको दुधबाट बन्ने भएकोले याकभन्दा सस्तो पर्छ।
याक चिज उत्पादन गर्न गाह्रो हुने र बढी पैसा तिरेर दुध किन्नु पर्ने अवस्था रहेको उनले सुनाए।
‘गाई भैंसीको जस्तो चौरीले धेरै दुध दिनैन। दुध संकलन गर्न सजिलो छैन। जसले गर्दा यो महँगो हुन गएको हो। डीडीसीले बजारको मागलाई असर नपर्ने गरी उत्पादन गरिरहेको छ,’ गौतमले भने।
यो चिज वैशाखदेखि कात्तिकसम्म मात्रै उत्पादन हुने गरेको छ। हिउँ पर्ने भएकोले कात्तिकदेखि चैतसम्म याक चिज उत्पादन हुँदैन। करिब ५ महिना याक चिजको उत्पादन पुरै बन्द रहने उनले जानकारी दिए।
डीडीसीले २००९ देखि लाङटाङबाट याक चिज उत्पादन सुरु गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार डीडीसीको चिजको विज्ञापन सामाजिक संजालबाट गरेपछि अहिले त्यसको सर्वत्र चर्चा भएको हो। त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पनि शनिबार डीडीसीका दुग्धजन्य उत्पादन प्रयोग गरेको तस्बिर सार्वजनिक गरेकी थिइन्।
चौधरीले स्वदेशमै उत्पादित गुणस्तरीय वस्तुको उपभोग बढाउनुपर्ने आवश्यकता औँल्याउँदै डीडीसीका उत्पादन प्रयोग गरेको बताएकी थिइन्।
डीडीसीले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिम लगायतका विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ। संस्थानले किसानबाट दूध संकलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउँदै आएको छ।