काठमाडौं। अन्तर्राष्ट्रिय जर्सी लगाउने सपना बोकेका नेपाली खेलाडीको ठूलो चिन्ता अहिले खेल होइन, भविष्य बनेको छ। खेलबाट मात्रै जीवन धान्न गाह्रो भएपछि धेरै खेलाडी व्यवसाय, एकेडेमी र वैकल्पिक करिअरतर्फ मोडिन थालेका छन्।
‘ब्रेन ड्रेन’ मुलुकका लागि ठूलो समस्याका रुपमा रहँदै आएको छ। आर्थिक असुरक्षाकै कारण खेलकुद क्षेत्र पनि यसमा अछुतो छैन। क्षमता भएका खेलाडीलाई टिकाउनै नसक्दा अन्तर्राष्ट्रियस्तरमा हात पार्नुपर्ने नेपालका सहभागिता उत्साहजनक हुन सकेको छैन।
खेल व्यावसायिक नहुँदा खेलाडीले खेलुञ्जेल पनि आर्थिक चिन्ता छाड्दैन भने उर्वर समय खेलमा लगानी गरेर रिटायरमेन्ट लिएपछि के गर्ने भन्ने जवाफ न खेलाडीसँग हुन्छ भने त्यो खेलको संघसँग नै हुन्छ। त्यसैले फुटबल जस्ता ठूला खेलमा समेत पछिल्ला वर्षहरुमा खेलाडी पलायन हुने क्रम भयावह छ। पछिल्ला वर्षमा प्लेइङ ११ भित्रै पनि आधा दर्जनभन्दा बढी खेलाडीको आउने र जाने क्रम बढ्दो छ।
विश्वका ठूला लिग खेलिसकेकी महिला टोलीकी कप्तान सावित्रा भण्डारीले केही महिना अघिमात्र उपचारका लागि ‘क्राउड फण्डिङ’को गुहार लगाइन्। पैसा पनि २४ घण्टाभित्र चाहिएजति उठ्यो पनि। तर, यसले अझ गम्भीर प्रश्न खेलाडीसामू नै उभिएको छ – हामी आर्थिकरुपमा कति सुरक्षित छौं?
पलायनको मुख्य कारण यो एउटा हो। तर, केही खेलाडी यस्ता पनि छन् जसले खेलसँग ‘साइड हसल’ पनि गरिरहेका छन्। धाविका सन्तोषी श्रेष्ठ जस्ता खेलाडीहरु खेलसँगै शैक्षिक योग्यतालाई पनि सँगै लैजानुपर्छ भनेर पैरवी गरिरहेका छन्। केहीले क्याफे खोलेर भविष्यको ‘सेफ ल्याण्डिङ’ खोजिरहेका छन् भने केही खेल करिअर राम्ररी सुरु हुनुभन्दा अघिदेखि नै खेलकुदको व्यवस्थापनमा जुटेका छन्। केही खेल करियरसँगै एकेडेमी खोलेर आयआर्जनको धरातललाई बलियो पार्न खोजिरहेका छन्।

१६ वर्षकै उमेरमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेका खेलाडी!
१६ वर्षको उमेरमा एउटा खेलाडीले केके गर्न सक्छ? सामान्य हिसाबले हेर्दा उसको करिअरकै टुंगो लागेको हुँदैन। आर्थिक, सामाजिक परिस्थितिदेखि पढाइसम्म अघि बढाउने संघर्ष उसले गरिरहेको हुन्छ।
कबड्डी खेलाडी कल्याण भुजेल यसको अपवाद हुन्। १६ वर्षको उमेरमै उनले राष्ट्रिय प्रतियोगिता आयोजना गरे। उनले आफ्नो दिवगंत दाजुको नाममा जुनियर स्तरको राष्ट्रिय प्रतियोगिता मधेश प्रदेशमा आयोजना गरे। यो प्रतियोगितालाई उनले तीन संस्करणसम्म आफ्नै बलबुताले आयोजना गरे। त्यसपछि पनि यो प्रतियोगिता सञ्चालनमा छ। तर, यसपछि भने प्रदेश सरकारको सहयोग उनलाई मिल्यो।
‘मैले कबड्डी सुरु गर्दा नेपालमा खासै प्रतियोगिता हुँदैनथ्यो। खेल्नै नपाए कसरी चिन्छ, कसरी अगाडि बढ्ने? यही सोचेर मैले आफैं केही गर्ने निर्णय गरें। म जम्मा १६ वर्षको थिएँ जब मैले पहिलो पटक जुनियर राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गरेँ,’ भुजेल भन्छन्, ‘सुरुमा कुनै सरकारी सहयोग थिएन। दाइहरूलाई सोधेर, जोसँग जति सहयोग पाइन्छ भनेर माग्दै, आफ्नै लगानीमा टुर्नामेन्ट गराएँ। दुई-तीन वटा प्रतियोगिता मैले एकदमै आफ्नै प्रयासले गराएँ, सरकारी डोनेसन नलिई।’
उनले त्यही उमेरमा किन प्रतियोगिता गराउन सुरु गरे? यसमा उनको आफ्नो भिजन छ। उनले करिअर थाल्दा कबड्डीको प्रतियोगिता कम हुने हुँदा अघि बढ्ने बाटो पहिल्याउन सकेनन्। प्रतियोगिता नभए पछि के गर्ने? त्यसपछि उनी आफैंले प्रतियोगिता गर्ने अठोट गरे। तर, अठोट गर्नु एउटा कुरा, यसका लागि लगानी जुटाउनु अर्को कुरा।
”जिल्ला स्तरको प्रतियोगितामा खेलाडीको खाजा, इन्स्योरेन्स, अफिसियलको खर्च सब जोड्दा तीन-चार लाख रुपैयाँ लाग्छ। प्रदेश स्तरमा गराउँदा जिल्ला अनुसार बजेट फरक हुन्छ- कुनै प्रदेशमा १४ वटा जिल्ला, कुनैमा १२, कुनैमा आठ। त्यहाँ करिब १० लाख सम्म खर्च हुन सक्छ,’ उनले भने, ‘राष्ट्रिय प्रतियोगितामा सात प्रदेश र विभागसहित करिब २० देखि २५ लाख रुपैयाँ सम्म लाग्छ- खाना, बस्न, इन्स्योरेन्स, रेफ्री सबै गरेर।’

अर्को महिना फेरि प्रतियोगिता हुँदैछ। पछिल्ला प्रतियोगिता उनको व्यक्तिगत लागतमा नभएर सरकारको सहयोगमा हुने गरेको उनी बताउँछन्। तर, यसको व्यवस्थापन? सबैतिर उनी दौडिरहेका हुन्छन्। उनलाई यसैको चटारो रहन्छ।
‘अहिले मैले मधेश प्रदेश सरकारसँग मिलेर काम गर्छु। मधेश खेलकुद परिषद र मधेश प्रदेश कबड्डी संघसँग समन्वय गर्दै राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता आयोजना गर्दैछु। परिषदका सदस्य सचिव र प्रमुखसँग समन्वय गर्दै कबड्डीको लागि बजेट माग्नु पर्छ।’ उनले भने।
भुजेल राष्ट्रिय कबड्डी टोलीबाट पनि लामो समय खेलिसकेका खेलाडी हुन्। पहिलो संस्करणको नेपाल कबड्डी लिगमा उनी विराटनगर टोलीको कप्तान थिए। अहिले भने उनी खेल जीवनबाट अघि बढेर विराटनगरको प्रशिक्षण सम्हाल्ने तयारीमा छन्।
प्रतियोगिता आयोजना गराउन व्यवस्थापनकै काम पनि सहज नहुने उनी बताउँछन्।
‘दिनरात नभनी मन्त्रालय दौडिनु पर्छ, परिषद जानु पर्छ, हाकिमहरूलाई बुझाउनु पर्छ – यति पैसा राख्दा प्रतियोगिता हुन्छ, प्रदेशको नाम हुन्छ, सबै प्रदेशले देख्छन् कि मधेशले राष्ट्रिय टुर्नामेन्ट गरायो भनेर। कसैले पनि आफैं पैसा दिन्छु भन्दैन। त्यसैले आफैं अघि सर्नु पर्छ।’
अहिलेको जिम्मेवारीमा उनी टिमहरू बोलाउने, अफिसियल हेर्ने, कार्यक्रम कसरी सञ्चालन हुन्छ त्यो व्यवस्थापन गर्नेलगायतका काम गर्छन्।
कप्तानका क्याफे
नेपालमा सबैभन्दा चर्चित खेल कुन हो? यसको जवाफ खोज्न फुटबल, भलिबल र क्रिकेटका समर्थकबीच राम्रै बहस हुन सक्छ। तर, नेपालका चर्चित तीनमध्ये दुई खेल भनेर फुटबल र क्रिकेटलाई लिँदा यसमा बहस आवश्यक पनि पर्दैन।
पुरुष फुटबलका कप्तान र क्रिकेट टोलीका कप्तानको साझा कुरा हो यी दुई खेलाडीको व्यवसाय। यी दुबै कप्तानले क्याफे चलाउँदै आएका छन्।

रोहित पौडेलको बुद्धनगरमा क्याफे छ – १७ बिन्स क्याफे। रोहितले सामाजिक सञ्जालसहित अन्य नेपाली क्रिकेटर र विदेशी क्रिकेटरसमेत नेपाल आएका बेला आफ्नो क्याफेमा लगेर प्रचार गर्दै आएका छन्। यही महिना नेपाल सिरिज खेल्न आएका यूएईका कप्तान मोहम्मद वसीमलगायत रोहितको क्याफेमा पुगेका थिए। रोहितले लगानी क्याफेमा गर्न उपयुक्त भन्ने सुझाव पाएपछि लगानी गरेको बताउँदै आएका छन्।
त्यस्तै, फुटबलका कप्तान किरण चेम्जोङको क्याफे ‘चिया टाइम १६’ मध्य बानेश्वरमा छ। उनी पनि सामाजिक सञ्जालबाट आफ्नो व्यवासयको प्रचारप्रसार गरिरहन्छ। फुटबलका खेलाडीदेखि कलाकारहरुसम्म उनको क्याफेमा सामाजिक सञ्जालमा प्रचारप्रसार देख्न सकिन्छ। यसमा ३० लाख हाराहारीको लगानी भएको बताइएको छ।

एकेडेमीमा फुटबल खेलाडीको झुकाव!
फुटबल खेलाडीहरुको प्याटर्न हेर्दा चाहिँ दुईवटा मुख्य विकल्पमा काम गरिरहेको देखिन्छ। पहिलो करियरको बीचमा विदेश जाने र अर्को करियरसँगसँगै एकेडेमी चलाउने। यसरी एकेडेमीमा भविष्य देखिरहेका खेलाडीको सूची भने लामो छ।

नेपाली पुरुष राष्ट्रिय टोलीका लागि सर्वाधिक १३ गोल गर्ने तीन खेलाडीमध्येका एक अञ्जन विष्टले अघिल्लो महिनामात्र अञ्जन विष्ट ‘एकेडेमीबाट नेक्स्ट जेन बुट क्याम्प’ आयोजना गरे। ललितपुरको बुद्धिविकास फुटबल मैदानमा उनले यो क्याम्प आयोजना गरेका थिए।
गत वर्ष असार राष्ट्रिय टोलीका दाजुभाइ खेलाडी जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले धुलिखेलमा डिभाइन एलाइट फुटबल एकेडेमी खेले। उनीहरु जस्तै राष्ट्रिय टोलीका गोलकिपर रहिसकेका र घरेलु फुटबलमा सक्रिय विशाल श्रेष्ठको पनि कपनमा नर्थ स्टार फुटबल एकेडेमी छ।

यी सक्रिय खेलाडीबाहेक एकेडेमी चलाउने पूर्व-खेलाडीको सूची भने लामो छ। खेलकुद व्यावसायिक र आर्थिक रूपमा अझै स्थिर बन्न नसक्दा खेलाडी मैदानसँगै भविष्यको सुरक्षाका लागि वैकल्पिक बाटो खोज्न बाध्य छन्। क्याफे, एकेडेमी, व्यवस्थापन र विदेश पलायनतर्फ बढ्दो आकर्षणले खेल क्षेत्रको संरचनागत कमजोरी पनि उजागर गरेको छ।
खेलाडीलाई दीर्घकालीन आर्थिक सुरक्षा, बीमा, रोजगारी र व्यवस्थित करिअर योजना दिन सकिएन भने प्रतिभा टिकाउने चुनौती अझ गम्भीर बन्ने देखिन्छ।