BIZMANDU
www.bizmandu.com

कुशलको सानदार शतकीय पुनरागमन, अमेरिकामाथि नेपालको सहज जित

२०८३ जेठ २

कुशलको सानदार शतकीय पुनरागमन, अमेरिकामाथि नेपालको सहज जित
कुशलको सानदार शतकीय पुनरागमन, अमेरिकामाथि नेपालको सहज जित


काठमाडौं। नेपाली क्रिकेट टोलीले अमेरिकालाई हराएको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकामाथि ९ विकेटको प्रभावशाली जित निकालेको हो।

Tata
GBIME

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेलको शतकीय इनिङ्सको सहायतामा १ विकेटको क्षतिमा ३६.४ ‌ओभरमा सहजै लक्ष्य भेट्टाएको हो।

नेपाललाई लक्ष्यसम्म पुर्‍याउने क्रममा भुर्तेलले सानदार पुनरागमन गरे। शीर्षक्रमको ब्याटरले खेल्न नसकेपछि अघिल्लो सिरिजबाटै भुर्तेलले टोलीमा स्थान बनाइरहेका थिएनन्। तर, जसै उनले मौका पाए शतकसँग पुनरागमन गर्न सफल भए। उनले ११८ बलमा अविजित १२० रन बनाउँदा बनाउँदा अर्का ओपनर आशिफ शेखले ५८ रन बनाए। त्यस्तै, इशान पाण्डे २० रनमा अविजित रहे। बलिङमा अमेरिकाका लागि एउटै विकेट मोहम्मद मोसिनले लिए।

अमेरिकाको इनिङ्स

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले ४३.३ ओभरमा अलआउट हुँदै १९५ रन बनाएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ८३ रनको योगदान दिँदा सेहान जयसूर्याले ५० तथा मिलिन्द कुमारले २८ रनको योगदान दिए।

फिल्डिङमा नेपाली खेलाडी। तस्बिर: क्यान

बलिङमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए।

नेपालको टोलीमा आज कुशल भुर्तेलले पुनरागमन गर्दा इशान पाण्डे पनि प्लेइङ ११ मा आएका छन्। यसअघिका खेलमा विनोद भण्डारी र अर्जुन कुमालले स्थान बनाउँदै आएका थिए। त्यस्तै, करण केसीको स्थानमा सोमपाल कामी टिममा छन्।

अंकतालिकामा राहत

यो जितले नेपाललाई अंकतालिकामा राहत दिएको छ। नेपाल सातौँ स्थानमै छ तर २६ औँ खेलबाट २० अंक बनाउन सफल भएको छ। अब, अर्को खेलमा सोमबार स्कटल्याण्डलाई हराउन सके नेपाल २२ अंकसहित पाँचौँ स्थानमा उक्लन सक्छ। अहिले छैटौँ स्थानको क्यानडाको २१ अंक छ भने पाँचौँ स्थानको नामिबियाको २२ अंक छ। नेपालले अब स्कटल्याण्डलाई हराए नेपालले सातौँ स्थानबाट एकैपटक दुई स्थान फड्को मारेर पाँचौँ स्थानमा पुग्न सक्छ।

यता शीर्षस्थानमा स्कटल्याण्डलाई नेपालको जितले राहत मिलेको छ। ३० खेलबाट ३८ अंकसहित स्कटल्याण्ड शीर्षस्थान छ भने २६ खेलबाट ३६ अंकसहित अमेरिका दोस्रो स्थानमा छ।