BIZMANDU
www.bizmandu.com

फिफाको ‘प्रतिबन्ध’को दवाबबीच राखेपले गर्‍यो एन्फाको निलम्बन फुकुवा!

२०८३ जेठ १

फिफाको ‘प्रतिबन्ध’को दवाबबीच राखेपले गर्‍यो एन्फाको निलम्बन फुकुवा!
फिफाको ‘प्रतिबन्ध’को दवाबबीच राखेपले गर्‍यो एन्फाको निलम्बन फुकुवा!


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को निलम्बन फुकुवा भएको छ। जिल्ला र प्रदेश हुँदै केन्द्रको निर्वाचन गर्ने सहमति भएपछि एन्फाको निलम्बन राखेपले फुकुवा गरेको बताइए पनि निलम्बन गरेको राखेपले भने आधिकारिक विज्ञप्ति जारी गरेको छैन। केके शर्तमा निलम्बन फुकुवा भयो भन्ने पनि स्पस्ट छैन।

Tata
GBIME

एन्फाले भने विज्ञप्ति निकाल्दै निलम्बन हटाइएकोमा सरकार, राखेपलगायतलाई धन्यवाद दिएको छ।

‘नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरिदिएकोमा नेपाल सरकार, माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यू, प्रमुख सल्लाहकार सिद्दी ब्यन्जन्कारज्यू, सल्लाहकार राजु सिंहज्यू, सदस्य सचिव राम चरित्र मेहताज्यू लगायत यस कार्यमा संलग्न सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय हो,’ एन्फा प्रवक्ता सुरेश शाहले भनेका छन्।

यसअघि राखेपलाई पेलेरै अर्ली इलेक्सनमा जान खोजेको एन्फालाई चैत ११ गते राखेपले निलम्बित गरेको थियो। राखेपले प्रचलित कानून, नियमावली तथा निर्देशनको पालना नगरेको आरोप लगाउँदै एन्फालाई निलम्बन गरेको थियो।

एन्फाले जिल्ला र प्रदेश अधिवेशन नगरी पुरानै प्रतिनिधिको उपस्थितिमा चैत १३ गते चुनावी साधारण सभा गर्न लागेको विषयलाई लिएर राखेपले रोक्न भन्दै स्पष्टीकरणसमेत सोधेको थियो। राखेपले खेलकुद विकास ऐन र नियमावली अनुसार प्रक्रिया पूरा नभएको भन्दै निर्वाचन स्थगित गर्न निर्देशन दिएकामा एन्फाले बेवास्ता गर्दै आएको थियो।

जिल्ला र प्रदेशको निर्वाचन नगराइ यसअघि आफूलाई जिताउने पुरानै प्रतिनिधिको उपस्थितिमा चुनाव गरेर दोहोरिने एन्फा नेतृत्वको योजनाको संस्थापन इतर र स्टेकहोल्डरले विरोध गरिरहेका थिए।

यसबीचमा फिफा/एएफसी र एन्फाका बीचमा पटकपटक वार्ताहरु समेत भएका थिए। फिफाले पत्र काट्दै राखेपको निलम्बनलाई तेस्रो पक्षको हस्तक्षेप मान्ने र निलम्बन नहटाए एन्फालाई प्रतिबन्ध गर्ने चेतावनी दिएको थियो। यता राखेपको सिफारिसमा सरकारले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाएको थियो।