BIZMANDU
www.bizmandu.com

निर्माणाधीन ऊर्जा परियोजना निर्धारित समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

२०८३ जेठ १

निर्माणाधीन ऊर्जा परियोजना निर्धारित समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
निर्माणाधीन ऊर्जा परियोजना निर्धारित समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन्।

Tata
GBIME

शुक्रबार विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा श्रेष्ठले आयोजना कार्यान्वयनमा ढिलासुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

श्रेष्ठले एक दिन काम रोकिँदा समेत परियोजनाको लागत उल्लेख्य रूपमा बढ्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गरे। उनले स्पष्ट कार्यतालिका बनाएर पूर्ण क्षमताका साथ काम अघि बढाउन निर्देशन दिएका हुन्।

दुवै कम्पनी मन्त्रालयका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै श्रेष्ठले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए। कुन आयोजनालाई कहिले र कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने उनको भनाइ थियो।

निरक्षणमा विराजभक्त श्रेष्ठ

उनले वित्तीय क्षमता र स्रोतको अवस्थालाई आधार मानेर यथार्थपरक कार्ययोजना तयार गर्न निर्देशन पनि दिए। साथै, नीतिगत समस्याको समाधानका लागि मन्त्रालय सदैव सहकार्य गर्न तयार रहेको बताएका थिए।

कुनै परियोजनामा नीतिगत वा प्रशासनिक अवरोध भए त्यसको समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने उनले स्पष्ट पारेका थिए।

श्रेष्ठले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि ऊर्जा पूर्वाधार विकासलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै पूर्वतयारी पूरा भएका आयोजनालाई तत्काल कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई आग्रह गरेका छन्। त्यसक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव चिरन्जीवी चटौतले कम्पनीका प्राथमिकता र प्रतिफलको विषयमा गम्भीर हुन आग्रह गरे।