काठमाडौं । नयाँ सरकार बन्नु अघि चैत ८ गते २३ अर्ब ५९ करोड रुपैयाँको सेयर किनबेच भयो। सेयर बजार सूचकसँगै निर्वाचनपछि कारोबार रकमले उचाइँ लियो।
फागुन २१ गतेको निर्वाचनपछि चैत दोस्रो सातासम्म लगातार बढेको बजार २८६० अंकसम्म पुगेको थियो। त्यतिबेला बजारमा दैनिक १५ अर्ब रुपैयाँ बढीको सेयर किनबेच हुन थालेको थियो।
तर, चैत दोस्रो साता राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि सूचकसँगै कारोबार रकम निरन्तर ओरालो लागेको छ। कारोबार खुम्चिएर दैनिक ५ अर्ब रुपैयाँभन्दा तल आएको छ।
बजारमा बैशाख ३० गते २ अर्ब ८० करोड रुपैयाँको सेयर कारोबार भयो। यो कारोबार पछिल्लो ७ महिनायताकै न्यून हो। बजारमा यसअघि कात्तिक ९ गते २ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
बजारको बियरिस ट्रेन्डले बिहीबार पनि निरन्तता पाएको छ। बिहीबार सूचक १० अंक घट्दा ३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भयो। बैशाख २ गते १० अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएकामा त्यसयता कुनै कारोबार दिन ९ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छैन।
सरकारका विभिन्न निकायले उद्योगी शेखर गोल्छा, काम रोकिएका विषयमा छलफलका लागि बोलाउने बहानामा प्रहरीले लिएर निर्माण व्यवसायी रमेश शर्मालाई भौतिक मन्त्रालयमा पठाउनेदेखि बैंकर ज्योतिप्रकाश पाण्डे पक्राउसम्मको घटनाले उद्योगी व्यवसायी आतंकित बनेका छन्।
त्यति मात्रै होइन पक्राउ पर्नेको सूचीनै तयार भएको ‘रुमर’ समेतले सेयर बजारका लगानीकर्ता समेत त्रसित बनेका छन्। कतिपय उद्योगी व्यवसायी विदेश गएर बसेका छन्। बजारमा होल्ड भएका उद्योगी व्यवसायी थप लगानी नगर्ने मनस्थितिमा छन्।
सरकारका एकपछि अर्को कदमले लगानीकर्ता त्रसित हुँदा सूचकसँगै कारोबार रकममा लगातार घटिरहेको ब्रोकरहरु बताउँछन्।
‘बजार सुस्त हुनुको पछिल्लो कारण धरकपकड नै हो। ठूला लगानीकर्ताहरु डराइरहेका छन्। अर्कैतिर व्यवसाय गरिरहेका तर बजारमा सक्रिय रहेका व्यवसायी पनि समातिइरहेका छन। त्यसैको प्रभाव देखिएको हो,’ स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘त्यसपछि साना लगानीकर्ता र ट्रेड गर्नेहरु माहौल नदेखिँदा आकर्षित भएका छैनन्। बजारमा जसले पनि नाफा कमाउन लगानी गर्ने हो। यस्तो बजारमा तत्कालै नाफा हुने नदेखिएपछि किन लगानी गर्ने भन्ने परेको छ।’
बजार लगातार बियरिस बन्दा पछिल्लो डेढ महिनामा लगानीकर्ताले करिब ४ खर्ब रुपैयाँ गुमाएका छन्। चैत १० गते बजार २९६० विन्दुमा हुँदा ५० खर्ब २१ अर्ब रुपैयाँ बजार पुँजीकरण पुगेकामा पछिल्लो डेढ महिनामा ४६ खर्ब ५६ अर्बमा आएको छ।
‘बजारमा करोबार रकम घट्दै गएको छ। इन्भेष्टका लागि लगानीकर्तामा कन्फिडेन्स नै देखिएन। सरकारको बोलिमा एउटा व्यवहारमा अर्कै कुरा देखियो। यसले लगानीकर्ता नै डराउनुपर्ने अवस्था आएको छ,’ स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उधाध्यक्ष नितेशकुमार अग्रवालले भने, ‘दुईतिहाइको सरकार बनेपछि राजनीतिक स्थिरता भएर लगानीको माहौल हुन्छ भन्ने थियो। तर, एकातिर बजेटको तयारी छ अर्कोतिर नीति कार्यक्रमको छलफलमै प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अनिश्चितता देखिएको छ।’
बजारमा सानाठूला मात्रै होइन म्युचुअल फण्ड,इन्स्योरेन्स कम्पनी लगायत संस्थागत लगानीकर्ता पनि लगानी गर्न तयार छैनन्।
‘बजारमा कन्फिडेन्स नहुँदा प्राविधिक रुपमा बजार सही जोनमा आउँदा किन्नेकी भन्ने पनि हुन्छ। लगानीकर्तालाई प्रतिफल दिनुपर्ने भएकाले त्यसलाई सही ठाउँमा उपयोग गर्नुपर्ने हुन्छ। त्यसैले संस्थागत लगानीकर्ताले बजारमा ठूलो रकम लगानी गरिहालेको देखिंन,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिषनारायण जोशीले भने,’ म्युचअल फण्डको हकमा ओपन इन्डेडहरुले एक तहमा लगानी गरिहरेका छन्। बजार अहिले साइटेवेजमा छ। भोलुम सुकेको छ। कोल्याट्रलको लिमिटको प्रभाव पनि देखिएको छ।’
बैंकको ब्याजदर न्यून विन्दुमा आउँदा मुद्दती निक्षेपको ब्याजदर होल्ड गरेका लगानीकर्ताले बजारमा पनि लगानी बढाएका छैनन्। बजारमा अनिश्चितता देखिएकाले संस्थागत लगानीकर्ता पनि लगानी गर्न तयार नभएका हुन।
ऋणको माग नभएर निक्षेप लगातार थुप्रिंदा बैंकहरुले ब्याजदर निरन्तर घटाइरहेका छन्। बिहीबार जेठका लागि अधिकांश बैंकले ब्याजदर घटाए। तर, बजारमा त्यसको प्रभाव देखिन छोडेको छ।
बैंकको ब्याजदर घट्दा विगतमा तरलता सेयर बजारतिर सिफ्ट हुने गरेकामा यसपटक बजार नै सुस्ताएको हो। बजारमा अहिले उधारो कारोबारमा कडाइ गरिएको छ।
सेटलमेन्टमा समस्या देखिएपछि नेप्सेले ब्रोकरलाई २५ प्रतिशत कोल्याट्रल अनिवार्य गराउन निर्देशन दिएपछि कारोबारको आकार प्रभावित बनेको ब्रोकर बताउँछन्।
‘बजारमा कारोबार घट्नुको अर्को मुख्य कारण उधारो कारोबारमा गरिएको कडाइ हो,’ अग्रवालले भने, ‘पहिले ब्रोकरले ट्रस्टेबल मान्छेलाई लगानी गर्न पैसा दिन्थे। अहिले त्यो लिबरेज आउट भयो। त्यसको ठूलै प्रभाव देखिएको छ।’
नेप्से सूचक गत साउनमा ३००.२ अंक पुगेकामा अहिले २७०० विन्दु वरिपरी छ। डेढवर्षअघि २०८१ असार ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी सेयर कारोबार भएकामा त्यो रेकर्ड ब्रेक भएको छैन।
बजार घटिरहँदा प्रधानमन्त्री- अर्थमन्त्री के गर्दैछन् ?
सरकार बनेको सुरुवातमा सेयर बजार घट्दा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले केही चिन्तित देखिन्थे। लगातार बजार घटेपछि चैत २३ गते स्टक ब्रोकरलाई भेटेर सुधारलाई अघि बढाउने प्रतिवद्धता अर्थमन्त्री वाग्लेले गरेका थिए।
उनले बजार प्रवर्धन गर्ने कार्यक्रम आउने र विगार्ने कुनै कार्यक्रम नआउने प्रतिवद्धता गर्दै पूर्व अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने बताएका थिए। त्यति मात्रै होइन उद्योगी व्यवसायी धरपकड समेत नहुने प्रतिवद्धता गरेका थिए।
अर्थमन्त्री वाग्लेको प्रतिबद्धता विपरित उद्योगी व्यवसायीदेखि बैंकर पक्राउ परिरहेका छन् भने केही दिनअघि अर्थ समितिमा गएर उनैले प्रधानमन्त्री बालेन शाहले सरकारको पहिलो वर्षलाई सुशासनको वर्षको रुपमा अघि बढाउन खोजेको अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्तिसँगै सेयर बजार अझै ओरालो लाग्यो भने कारोबार तीन अर्बभन्दा कममा झर्यो।
प्रधानमन्त्री शाह सचिवालय समेत सेयर बजार ओरालो लागेकोमा चिन्तित छ। ‘बजार घट्नु पक्कै पनि राम्रो होइन। हामीले आर्थिक क्षेत्रमा रहेका विकृतिलाई रोकेर झन सुधार गर्न खोजेका हौं। सुधारले मुलुकको अर्थतन्त्र झन् फराकिलो हुन्छ,’ सचिवालय स्रोतले भन्यो, ‘बजार केही समयमै राम्रै छलाङ मार्छ भन्ने लाग्छ।’