BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको अगुवाईमा मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

२०८३ बैशाख ३१

सिटिजन्स बैंकको अगुवाईमा मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी
सिटिजन्स बैंकको अगुवाईमा मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी


काठमाडौं। मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। ५० मेगावाट क्षमताको उक्त आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको हुन्।

GBIME
Tata

बुधबार आयोजनाको प्रवर्धक कम्पनी दिव्यज्योती हाइड्रोपावर लिमिटेड र लगानीकर्ता बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ। उक्त परियोजना लमजुङको मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिकामा निर्माण हुनेछ।

परियोजनाको अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ छ। जसमध्ये सहवित्तीयकरणमा बैंकहरूले ६७:३३ को ऋणःस्वपुँजी अनुपातमा ७ अर्ब ५० करोड बराबरको ऋण लगानी गर्नेछन्। ३३ प्रतिशत स्वपुँजी प्रवर्धकबाट जुटाइने छ।

आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको उदीपुर स्थित सबस्टेसनमा जोडिने छ। कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट गरी वार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरूसँगको सह वित्तीयकरण कर्जामार्फत जलविद्युत् लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताए। उनले बैंकिङ क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरूको संयुक्त लगानीबाट धेरै आयोजनाहरूको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए।

हालसम्म निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा जलविद्युत् आयोजना र निर्माणाधीन १ हजार ३३०.८२५ मेगावाट क्षमताका २६ वटा जलविद्युत् आयोजनासहित कुल १ हजार ६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत् आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको उनले जानकारी दिए।

सिटिजन्स बैंकले हाल सम्म १८ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १७ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी गरेको छ।