BIZMANDU
www.bizmandu.com

लिग नजिकिँदै गर्दा खेलमा ‘ग्लामर’ जोड्दै कबड्डी : डकुमेन्ट्री र लिगको एन्थम सार्वजनिक

२०८३ बैशाख ३०

लिग नजिकिँदै गर्दा खेलमा ‘ग्लामर’ जोड्दै कबड्डी : डकुमेन्ट्री र लिगको एन्थम सार्वजनिक
लिग नजिकिँदै गर्दा खेलमा ‘ग्लामर’ जोड्दै कबड्डी : डकुमेन्ट्री र लिगको एन्थम सार्वजनिक


काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो संस्करणको मिति नजिकिँदै गर्दा आयोजकले प्रचारलाई तीब्र बनाएको छ। फ्रेन्चाइज लिग एनकेएलले खेललाई ‘ग्लामर’सँग जोडेर माहोल बनाउन थालेको हो।

Tata
GBIME

नेपाली कबड्डीको इतिहासलाई समेट्दै तयार पारिएको डकुमेन्ट्री ‘माटोदेखि मैदानसम्म’ आयोजकले बुधबार क्युएफएक्समा स्क्रिनिङ गरेको छ। योसँगै नेपाल कबड्डी लिग दोस्रो सिजन तयारीको क्रममा एनकेएल एन्थम सङ पनि सार्वजनिक गरियो।

निशान शाहीद्वारा निर्देशित डकुमेन्ट्रीमा २०३४ सालमा स्थापित अखिल नेपाल कबड्डी संघ, त्यसको दुई वर्षपछि सुरु भएको राष्ट्रिय प्रतियोगिता, माओवादी जनयुद्धताका प्रतियोगिताविहिन ११ वर्षको कठिन अवधिलाई पनि देखाउने प्रयास गरिएको छ। डकुमेन्ट्रीमा माटोदेखि म्याटसम्मको रुपान्तरणलाई संघर्ष र सफलताको कथाको रुपमा चित्रण गरिएको छ। एक घन्टा लामो डकुमेन्ट्रीले गत वर्ष एनकेएलको सुरुआतसँगै पुनरुत्थानको युग प्रारम्भलाई प्रष्ट पारेको छ।

एनकेएलको आयोजक एस्ट्रोनिक्सका अध्यक्ष अमित बेघानी।

डकुमेन्ट्री स्क्रिनिङलगत्तै र्यापर भियोमाद्वारा तयार पारिएको एनकेएलको एन्थम सङ पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा ‘एनकेएल, कबड्डी र व्यावसायिकता’ विषयमा बहस कार्यक्रम समेत चलाइएको थियो। यसमा संघकी अध्यक्ष तुलसा थापा, एनकेएलका प्रमुख अमित बेघानी, प्रशिक्षक पार्वती राईलगायतमा भारतमा प्रो लिगपछि कबड्डीले बनाएको आर्थिक उन्नती र नेपालमा कबड्डीको व्यवसायिकरणको योजनाबारे छलफल गरेका थिए।

नेपाल कबड्डी लिग (एनकेएल) सिजन २ जेठ २२ (जुन ५ तारिख) सुरु हुँदैछ। एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। ती टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत् स्वदेशी ५४ र बिदेशी ३० गरी ८४ खेलाडी अनुबन्ध गरिसकेका छन्।

दशरथ रंगशालास्थित राखेप कभर्डहल, त्रिपुरेश्वरमा हुने एनकेएल सिजन २ मा विराटनगर बाहुबली (कोशी प्रदेश), डिफेन्डिङ च्याम्पियन जनकपुर नाइट्स (मधेश प्रदेश), काठमाडौं माभरिक्स (बाग्मती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले खेल्नेछन्।