काठमाडौं । सरकार निर्माण व्यवसायीको समस्या समाधान गर्न तयार नदेखिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने भएको छ।
खाडीमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्रीहरू, ढुवानी तथा श्रमिकको लागत मूल्य बढिरहेको तर अप्रत्याशित मूल्यवृद्धिको समस्या समस्या सम्बोधन गर्न सरकार तयार नभएको महासंघले जनाएको छ।
मूल्यवृद्धिका कारण अब उप्रान्त निर्माण कार्य बन्द हुने परिस्थितिका विषयमा महासंघले बिहीबार सडक तथा उर्जा, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशकहरुलाई ज्ञापन पत्र बुझाउँदै सम्बन्धित विभागमा धर्ना दिने तय गरेको छ।
त्यस्तै, शुक्रबार र आगामी सोमबार शहरी विकास तथा भवन निर्माण र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशको कार्यालयमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिइने महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिएका छन्।
घिमिरेका अनुसार महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले बिहीबार नै प्रमुख जिल्ला अधिकारी समक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन्।
जिल्ला संघहरुले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन र सिंचाई कार्यालयहरूमा ज्ञापनपत्र बुझाइ आधा घण्टा धर्ना दिनेछन्।
त्यस्तै, ७ वटै प्रदेशमा निर्माण व्यवसायी महासंघले शुक्रबार मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बु्झाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने तय भएको छ।