BIZMANDU
www.bizmandu.com

कालीगण्डकी नदीको बढ्दो दोहन रोक्न सांसद खड्काले संसद्‍मा उठाए आवाज

२०८३ बैशाख ३०

कालीगण्डकी नदीको बढ्दो दोहन रोक्न सांसद खड्काले संसद्‍मा उठाए आवाज
कालीगण्डकी नदीको बढ्दो दोहन रोक्न सांसद खड्काले संसद्‍मा उठाए आवाज

काठमाडौं। रास्वपा सांसद सुशील खड्काले प्रतिनिधि सभा बैठकमा कालीगण्डकी नदीको बढ्दो दोहन रोक्न आवाज उठाएका छन्। सांसद खड्काले कालीगण्डकी नदीमाथि भइरहेको अवैध उत्खननले प्राकृतिक, धार्मिक र सांस्कृतिक अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन्।

Tata
GBIME
Nepal Life

सांसद खड्काले कालीगण्डकी नेपाली सभ्यता र आस्थाको महत्त्वपूर्ण धरोहर भएको उल्लेख गर्दै पछिल्लो समय नदी क्षेत्रमा अनियन्त्रित रूपमा डोजर र क्रसर प्रयोग भइरहेको बताए।

ढुंगा, गिटी र बालुवा उत्खनन् भइरहेकोप्रति गम्भीर उनले चिन्ता व्यक्त गरे। उनले यसले नदीको प्राकृतिक बहाव, जैविक विविधता र वातावरणीय सन्तुलनमा गम्भीर असर पुर्‍याएको बताए।

‘विश्वमै दुर्लभ मानिने शालिग्राम पाइने एक मात्र नदी कालीगण्डकीको संरक्षण आजको प्रमुख आवश्यकता हो,’ उनले भने, ‘नदीको अस्तित्व नै संकटमा पर्दै गएको छ। समयमै कदम नचालिए भविष्यमा कालीगण्डकी पनि बागमतीजस्तै ‘मृत नदी’ बन्न सक्छ।’

सांसद खड्काले स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख गर्दै यसअघि बागलुङ-१, बागलुङ-२ र पर्वतबाट निर्वाचित सांसदहरूले संयुक्त विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराइसकेको पनि उनले स्मरण गराए। तर, त्यसपछि पनि नदी दोहन नरोकिएको उनको गुनासो थियो।

संसद्‍मार्फत उनले कालीगण्डकी नदीमा भइरहेको दोहन तत्काल रोक्न, नदीलाई ‘संरक्षित नदी’ घोषणा गर्न र ‘कालीगण्डकी संरक्षण ऐन’ पारित गरी तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेका छन्।

यसैबीच, सांसद खड्काले २८ वर्षदेखि अधुरो रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-बिहुँ सडक खण्डको निर्माण कार्य छिटो सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सम्बन्धित ठेकेदारलाई तत्काल ताकेता गरी कामलाई तीव्रता दिन आग्रह गरे।