काठमाडौं । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनहरूले जनताको अधिकारलाई संरक्षण गर्ने दायित्व सरकारको भएको पनि स्मरण गराएका हुन्।
सांसद विश्वराज पोखरेलले ओखलढुंगा जिल्लामा प्रसारण लाइनबाट करेन्ट लागी घाइते भए पनि उपचार नपाएकाले उपचारको व्यवस्थाका साथै प्रसारण लाइन दुर्घटना नहुने गरी व्यवस्थापन गर्न माग गरे।

सांसद बुद्धरत्न महर्जनले चापागाउँ क्षेत्रको सडक जीर्ण भएकाले छिटो निर्माण गर्न माग गरे। सांसद बुद्धिप्रसाद पन्तले वीरगंज जीवनकै कठिन अवस्थाबाट गुज्रिएको, वीरगंजको सडक भत्किएको, हेटौँडामा २५ गज, वीरगंजमा २५ मिटरको सडक मापदण्ड बनाउँदा एउटै राजमार्गमा दोहोरो हुनेगरी नीतिगत र कानुनी व्यवस्था गर्न नहुने बताए।
सांसद भरतबहादुर स्वाँरले अछामको विकासमा कञ्जुस्याइँ गरिएको जिल्ला अस्पताललाई १०० शय्याको बनाइनुपर्ने माग गरे। सांसद भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोकको गुठी समस्या समाधान गरी किसानलाई जग्गा दिन माग गरे।
जिल्लामा बाँदर तथा बँदेलका कारण कृषक बाली उठाउन नपाउने भएकाले नियन्त्रणको कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिएका थिए। सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरका पुल निर्माण सम्पन्न नभएकाले वर्षायाम अगावै वैकल्पिक व्यवस्था गर्न माग गरिन्।

सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका हकअधिकारलाई उच्च प्राथमिकता दिएको आगामी बजेट निर्माण गरिनुपर्नेमा जोड दिइन्।
सांसद मञ्जु भुसालले बुटवलबाट प्रादेशिक राजधानी सारिएपछि बजार सुनसान भएको, बुटवल क्षेत्रका जनताको सुरक्षित बसोबास निश्चित गरी बस्ती व्यवस्थित बनाउने काम अघि बढाउन माग गरिन्।
सांसद मनदकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रमको बुँदा नं ५८ मा गरिएको अपाङ्गका लागि गरिएको व्यवस्था उपयुक्त नभएकाले विशेष व्यवस्था गर्न माग गरे।
सांसद मनमाया विकले सुकुमवासी समस्याका विषयमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट अनुगमनमा जाँदा विद्यार्थीले पढ्न नपाएको, डोजरले घर भत्काएको दृश्यले मानसिक समस्यामा रहेकाले समस्या समाधान गर्न माग गरे।
सांसद मनिष खनालले ३५ वर्षदेखि लालपुर्जाको राजनीति अब बन्द हुनुपर्ने बताउँदै वास्तविक सुकुमवासी समस्या समाधान गर्न प्राधिकरण गठन गरिनुपर्ने माग गरे।

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गर्नुभयो । जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो।
सांसद मोहनलाल आचार्यले प्राचीन तिलौराकोट रहेको कपिलवस्तुको पर्यटकीय विकास गर्नेगरी बजेट ल्याउन माग गरे। सांसद महम्मद फिरदोस आलमले रौतहटको सीमावर्ती क्षेत्रमा चारपाङ्ग्रे सवारी निषेध गर्दा समस्या भएकाले समाधान माग गरे। जिल्लामा उखु किसानका उखु थन्किएकाले गरुडाको श्रीराम सुगर मिल तत्काल सञ्चालनमा ल्याउन माग गरे।
सांसद वसुमाया तामाङले रैथाने र मौलिक परिकारलाई विश्वमा चिनाउन माग गरिन्। ६० प्रतिशत जनता कृषिमा निर्भर भएकाले रैथाने र मौलिक कृषि उपज विदेशमा निर्यात गर्न र विश्व व्यापार सङ्गठनमा गरेको प्रतिबद्धता पूरा गर्न माग गरे। रासस






