BIZMANDU
www.bizmandu.com

स्नो रिभर्सको ७ लाख ७८ हजार १२५ कित्ता आइपीओ सर्वसाधारणका लागि खुला

२०८३ बैशाख २९

स्नो रिभर्सको ७ लाख ७८ हजार १२५ कित्ता आइपीओ सर्वसाधारणका लागि खुला
स्नो रिभर्सको ७ लाख ७८ हजार १२५ कित्ता आइपीओ सर्वसाधारणका लागि खुला


काठमाडौं। स्नो रिभर्स लिमिटेडले आइपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई वितरण गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन खुलाएको हो।

Vigo
GBIME
Tata

कम्पनीले सर्वसाधारणका लागि ७ करोड ७८ लाख १२ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्कासन गरेको छ।

आइपीओमा लगानीकर्ताले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्। स्नो रिभर्सले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँको १८ लाख ७५ हजार कित्ता सेयर बिक्रीको अनुमति पाएकामा पहिलो चरणमा स्थानीय र वैदेशिक रोजगारलाई वितरण गरिसकेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५०० कित्ता सेयर छुट्याएको छ।

अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङा गाउँपालिका-८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र सिरिजङा-१, २, ३, ४, ५, ६ र ७, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथिभरा याङवारक गाउँपालिका-५ र ६ तथा पाँचथरको हिलिहाङ गाउँपालिका-१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर वितरण गरेको छ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कम्पनीले ९३ हजार ७५० कित्ता सेयर बिक्री गरेको छ। कम्पनीले निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

स्नो रिभर्स कम्पनीले संचालन गरेको १३.५ मेगावाटको सुपर काबेली खोला ए जलविद्युत् आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल छ।

आर्थिक वर्ष २०८२/८३ को पुससम्म कम्पनीको प्रति सेयर आम्दानी ४.९८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०७.४६ रुपैयाँ छ। यस्तै, संचित मुनाफा ५ करोड ५९ लाख रुपैयाँ रहेको कम्पनीले विवरण पत्रमा उल्लेख गरेको छ।