काठमाडौं । काठमाडौंमा अव्यवस्थित रुपमा बसेका सुकुम्बासी हटाइएपछि उनीहरु बसेको स्थानमा पार्क र ढल प्रशोधन केन्द्र बनाउने सरकारको योजना छ।
आउने बजेटमा उक्त योजनाहरु बनाउन सरकारले तयारी गरेको राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले जानकारी दिए। यस्तै, हाल खाली गरिएका करिडोरहरुमा सडक निर्माण गर्ने गृहकार्य पनि भइरहेको थापाले बताए।
अहिलेको जस्तै करिडोर सडकलाई अब झन ठूलो बनाएर विस्तार गर्नेबारे पनि छलफल भइरहेको छ। यसमा दुई तीन वटा मोडलमा काम गर्ने तयारी भएको उनले जानकारी दिए। यसले उपत्यकामा भइरहेको ट्राफिक जामलाई व्यवस्थति बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।
‘कतै चिल्ड्रेन पार्क बन्नेछन भने कतै ढल ट्रिटमेन्ट प्लान्ट,’ थापाले भने, ‘खोला करिडोरमा आवश्यकता अनुसार प्रशोधन केन्द्र बनाइनेछ।’
यसअघि पनि ढल सिधै खोलामा मिसाउन नदिनका लागि विभिन्न स्थानमा प्रशोधन केन्द्रहरु निर्माण भइरहेका छन्। सल्लाघारी, कोड्कु र धोबीघाटमा करिब ६९ मिलियन लिटर फोहोर पानी दैनिक प्रशोधन गर्ने क्षमतासहितको केन्द्रहरु बनिरहेको छ।
यसका लागि यो बजेटमा कम्तिमा २ अर्ब बजेट छुट्याउने तयारी सरकारको छ। त्यस्तै, आवश्यकता अनुसार क्षेत्र तोकेर ब्युटिफेकेसन गर्ने काम अगाडि बढाउने योजना पनि छ।
यो योजनाको लागि अहिले सहरी विकास र प्रधामन्त्री कार्यालयका इन्जिनियरहरुको टिमले अध्ययन तथा डिजाइनहरु बनाउने काम गरिरहेको छ।