काठमाडौं। टर्किस एयरलाइन्सको जहाजको ल्याण्डिङ गियरमा आगो लागेको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सोमबारको उडान तालिका नै प्रभावित पारेको छ। जहाज अवतरणका क्रममा आगोको मुस्लो देखिएपछि बिहान विमानस्थल करिब डेढ घण्टा बन्द भएको थियो।
बिहान ६: ३५ मा विमानस्थल बन्द भएको थियो। जहाजलाई ट्याक्सी वेबाट पार्किङ वेमा लगेपछि ८:१२ मिनेटमा विमानस्थल खुल्यो। यस अवधिमा विमानस्थल १ घण्टा २७ मिनेट विमानस्थल बन्द भएको थियो।
यसको असर आज (सोमबार) दिनभरको उडान नै प्रभावित हुने त्रिभुवन विमानस्थलका एक कर्मचारीले बताए। उनकाअनुसार आजको आन्तरिक र अन्तर्राष्ट्रिय उडान डेढ घण्टासम्म डिले हुने भएको छ।
‘बिहान करिब डेढ घण्टा एयरपोर्ट क्लोज भयो।यसले एयर ट्राफिकमा असर अवश्य हुन्छ नै। यसले आज दिनभरको फ्लाइट सेड्युअल नै प्रभावित हुने भएको छ,’ उनले भने, ‘अब प्रत्येक डोमेस्टिक र इन्टरनेशनल फ्लाइट कम्तीमा डेढ घण्टा डिले हुन्छ।’

के भएको थियो विमानस्थलमा?
टर्किस एयरलाइन्सको एयरबस ३३०-३०० को उडान नम्बर टिके ७२६ नम्बरको जहाजमा विहान ६:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्यो। जहाज अवतरण हुनेवित्तिकै ल्यान्डिङ गियरमा आगोको मुस्लो देखियो। त्यसपछि विमानस्थलमा फायर कन्ट्रोल मेकानिजम परिचालन गरियो।
जहाजको दायाँ साइटको ल्यान्डिङ गियरमा आगो देखिएको थियो। त्यसपछि इन्जिन बन्द गरिएको थियो। सबै यात्रुलाई जहाजबाट सुरक्षित रुपमा अवतरण गराइयो। जहाजमा ११ जना क्याविन क्रु र २७७ जना यात्रु थिए।
जहाजको इन्जिन बन्द गरेपछि फाइर कन्ट्रोल भेहिकलमार्फत आगोलाई नियन्त्रणमा लिइएको विमानस्थल स्रोतले बतायो।
जहाज अहिले पनि ट्याक्सी वे मा रोकिएको थियो । जसको कारण विमानस्थलको उडान अवतरण पू्र्ण रुपमा बन्द भएको थियो।


