सन् १९८५ मा न्युजिल्यान्डकी १३ वर्षीया एक किशोरीले ‘यङ मिस’ नामक पत्रिकामा बैजनी रङका ओठजस्ता आकार भएका सनग्लास देखिन्। उनले आफ्नी अमेरिकी पेन-फ्रेन्डलाई त्यो चस्मा पठाइदिन आग्रह गरिन्। चार दशकपछि, यसै वर्ष मार्चमा, अमेरिकाको न्युह्याम्पसायरबाट करिब ९ हजार माइल यात्रा गरेर उनकी साथी होली रामराइडले अन्ततः त्यो सनग्लास उनलाई हस्तान्तरण गरिन्। यसरी ४० वर्ष पुरानो एउटा सानो चाहना पूरा भयो।
दुवैको मित्रता इन्टरनेशनल यूथ सर्भिस नामक संस्थामार्फत सुरु भएको थियो, जसले विभिन्न देशका बालबालिकालाई पेन-फ्रेन्ड बनाइदिने काम गर्थ्यो। त्यो संस्था अहिले बन्द भइसकेको छ। तर पेन-फ्रेन्ड बनाउने परम्परा भने हराएको छैन। बरु इन्टरनेट र सामाजिक सञ्जालको युगमा पनि धेरै मानिस फेरि हातले चिठी लेख्ने संस्कृतितर्फ आकर्षित हुन थालेका छन्।
न्युयोर्कर पत्रिकाकी लेखिका रेचल साइमेले कोरोना महामारीका बेला ‘पेनपालुजा’ नामक पेन-फ्रेन्ड कार्यक्रम सुरु गरेकी थिइन्। २०२० मा मात्रै १५ हजारभन्दा बढी मानिस त्यसमा सहभागी भए। अहिले पनि उनले नयाँ चरण सुरु गर्दा सयौँ मानिस सहभागी हुन खोज्छन्। उनले लेखेको ‘सायम्स लेटर राइटर – अ गाइड टु मोडर्न करेस्पन्डेन्स’ पुस्तकका कार्यक्रममा पनि मानिसहरू पेन-फ्रेन्ड खोज्दै पुग्छन्।
साइमेका अनुसार अहिलेका युवाहरू मोबाइल र इन्टरनेटबाट थाकेका छन्। त्यसैले उनीहरू केही ढिलो, स्पर्श गर्न सकिने, मन लगाएर गर्ने र इन्टरनेटबाट टाढा रहने गतिविधितर्फ आकर्षित भइरहेका छन्। हातले लेखिएको चिठीले उनीहरूलाई त्यही अनुभव दिन्छ।
होली रामराइडले आफ्नी न्युजिल्यान्डकी साथी मौली नन्सबाट पाएको पहिलो चिठी अझै सम्झिन्छिन्। हल्का निलो कागजमा लेखिएको त्यो एरोग्रामको अन्त्य ‘यर्स (होपफुली) मोली नन्स’ भनेर गरिएको थियो। केही वर्षमै उनीहरूको सम्बन्ध निकै घनिष्ठ बन्यो। चिठीहरूमा उनीहरूले विद्यालय, साथीभाइ, प्रेमभावना र परिवारका कुरा साटासाट गर्थे। मौलीले आफ्नो नामको अक्षरमा साना मुटु कोर्थिन् र ‘लट्स एण्ड लट्स अफ लव’ भनेर चिठी टुंग्याउँथिन्।
सन् १९८६ मा मौलीले लेखेकी थिइन्, ‘तिमी एकदम राम्रो पेन-फ्रेन्ड हौ। हामीले कहिल्यै चिठी लेख्न नछोडौँ र एकदिन भेटौँ भन्ने चाहना छ।’
अस्ट्रेलियाकी जुली डेलब्रिजको अनुभव पनि यस्तै थियो। उनले किशोरी अवस्थादेखि संसारका धेरै देशका साथीहरूसँग चिठी आदानप्रदान गरिन्। उनका अनुसार त्यो समय उनका अभिभावकको सम्बन्ध बिग्रिरहेको थियो र पेन-फ्रेन्डहरूले उनलाई भावनात्मक सहारा दिए। पछि उनी इन्टरनेशनल पेन फ्रेन्ड्स संस्थाकी अध्यक्षसमेत बनिन्।
५९ वर्षको इतिहासमा उक्त संस्थाले ८ वर्षदेखि ८० वर्षभन्दा माथिका २० लाखभन्दा बढी मानिसलाई पेन-फ्रेन्ड उपलब्ध गराइसकेको छ। इन्टरनेट आएपछि सदस्य संख्या घटे पनि कोरोना महामारीपछि फेरि बढ्न थालेको छ। विशेषगरी २१ देखि २६ वर्ष उमेर समूहका युवाहरू अहिले बढी आकर्षित देखिएका छन्।
अमेरिकामा विद्यालय र विश्वविद्यालयहरूमा पनि चिठी लेख्ने अभ्यास पुनः सुरु भइरहेको छ। केही शिक्षकले विद्यार्थीलाई हातले चिठी लेख्न लगाएर सहानुभूति र भावनात्मक समझ बढाउने प्रयास गरिरहेका छन्। उनीहरूका अनुसार तत्कालै हुने डिजिटल संवादभन्दा ढिलो आउने चिठीमा भावनाको गहिराइ बढी हुन्छ।
यस्तै, ‘स्लोली’ नामक मोबाइल एपले पनि आधुनिक प्रविधिमा पुरानो पेन-फ्रेन्ड अनुभव दिन खोजेको छ। त्यसमा पठाइएका सन्देश तुरुन्त पुग्दैनन्, दूरीअनुसार केही घण्टा वा दिनपछि मात्र पुग्छन्। यसले मानिसलाई छोटो ‘हाई’ भन्दा लामो र विचारपूर्ण सन्देश लेख्न प्रेरित गर्छ। सन् २०१७ देखि यो एपका १६० भन्दा बढी देशमा एक करोड प्रयोगकर्ता भइसकेका छन्।
तर रेचल साइमेका लागि चिठीको असली आनन्द भने कागज, कलम र खाममै छ। उनी भन्छिन्, ‘चिठी लेख्नु केवल सजावट होइन, त्यसमा लेखिएका भावनाहरू नै सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्।’
होली र मौलीले १५ वर्षसम्म चिठी आदानप्रदान गरेपछि पहिलोपटक सन् २००० मा न्यूयोर्कमा भेटेका थिए। त्यसपछि उनीहरू लन्डनमा पनि भेटिए र २०१८ मा मौली आफ्नो परिवारसहित न्युह्याम्पसायर पुगिन्।
यसपटक होलीले मौलीलाई ती पुराना चिठीहरू स्क्यान गरेर बनाएको २०० पृष्ठको पुस्तक पनि उपहार दिइन्। किशोरावस्थामा लेखिएका ती चिठी अहिले कृत्रिम बुद्धिमत्ताले केही सेकेन्डमै सारांश बनाउन सक्ने डिजिटल फाइल बनेका छन्। तर होलीलाई सबैभन्दा अचम्म लाग्ने कुरा भनेको उनीहरूको सम्बन्धको गहिराइ हो।
बिदाइका बेला विमानस्थलमा उनीहरू भावुक बने। अनि होलीले आफ्नो पुरानो शैलीमै भेट अन्त्य गरिन् – ‘हामी फेरि अवश्य भेट्नेछौँ। तबसम्मका लागि, धेरै धेरै माया।’ (एपी)