BIZMANDU
www.bizmandu.com

बर्डफ्लुको असर लेयर्समा बढी, ‘उत्पादन घट्दा बजारमा ९ महिनासम्म प्रभाव पर्छ’

२०८३ बैशाख २१

बर्डफ्लुको असर लेयर्समा बढी, ‘उत्पादन घट्दा बजारमा ९ महिनासम्म प्रभाव पर्छ’
बर्डफ्लुको असर लेयर्समा बढी, ‘उत्पादन घट्दा बजारमा ९ महिनासम्म प्रभाव पर्छ’


काठमाडौं। करिब १ महिनायता तराई क्षेत्रका विभिन्न स्थानमा बर्डफ्लुको संक्रमण फेला परिरहेको छ। गत चैतको पहिलो सातादेखि फैलिएको बर्डफ्लुले हालसम्म ४० वटा फार्ममा असर परेको छ।

Tata
GBIME

पशु सेवा विभागका अनुसार चितवन, झापा, मोरङ, सुनसरी, नवलपरासी, बारा र काठमाडौंमा बर्डफ्लु भेटिएको छ। त्यसमध्ये काठमाडौंको एक फार्मसहित उपत्यकाबाहिर ३९ फार्ममा बर्डफ्लु भेटिएको हो।

बर्डफ्लु पुष्टि भएका स्थानमा ४ लाख ३५ हजार ८३९ कुखुरा नष्ट गरिएको विभागले जनाएको छ। ६ लाख ५८ हजार ४६२ अण्डा नष्ट गरिएको छ। १ लाख ८१ हजार ३३० केजी दाना नष्ट गरिएको छ।

विभागले संकलन गरेको वैशाख १५ गतेसम्मको तथ्यांकमा लेयर्स अर्थात अण्डा पार्ने कुखुरामा बर्डफ्लु बढी फैलिएको उल्लेख छ। हालसम्म नष्ट गरिएको कुखुरामा प्यारेन्ट ७ प्रतिशत, लेयर्स ७९ प्रतिशत, ब्रोइलर १२ प्रतिशत र लोकल कुखुरामा १ प्रतिशत छन् भने अन्य १ प्रतिशत कुखुरामा बर्डफ्लु भेटिएको छ।

नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल बर्डफ्लुका कारण अण्डा उत्पादन घट्ने अवस्था आएको बताए।

‘बर्डफ्लु पुष्टि भएयता हालसम्म ४ लाखभन्दा बढी लेयर्स कुखुरा नष्ट गरिएको छ। यसले ९ महिनासम्म उत्पादनमा असर पर्छ,’ उनले भने, ‘कुखुरा नै नष्ट गरेपछि अण्डा उत्पादन, कारोबार सोझै घट्छ।’

यतिबेला दैनिक ३५ देखि ४० लाख अण्डा उत्पादन हुँदै आएको छ। पहिले दैनिक ५० लाखभन्दा बढी अण्डा उत्पादन हुनेमा पछिल्लो समय उत्पादन कम भइरहेको उनले बताए।

हाल देशभर किसान तथा व्यावसायिक फार्मले करिब ५० देखि ५५ लाख लेयर्स पाल्दै आएका छन्। जुन यतिबेला ४ लाखभन्दा बढी नष्ट गरिएको छ। अब गर्मी समयमा कुखुराहरू धेरै मर्ने भएकाले लेयर्सको संख्या थप घट्ने उनले जानकारी दिए।

त्यस्तै, संघका सचिव मदन पोखरेलले अबको केही समयमा बर्डफ्लुको असर बजारमा देखिने बताए।

‘साढे ४ लाख लेयर्सबाट दैनिक साढे ३ लाखभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो,’ उनले भने, ‘अब त्यो उत्पादन कम हुने भएको छ।’

अहिले बर्डफ्लुको असर यतिमात्र देखिएको छ तर गर्मीका कारण अरु पनि लेयर्स मरेका छन्। हालको क्षतिअनुसार बर्डफ्लुले अनुमानित करिब १ अर्बको भन्दा बढी हाराहारीमा क्षति पुर्‍याएको छ।

कुखुरासँगै अण्डा र दाना पनि नष्ट गरिएको छ। बर्डफ्लु देखिएपछि अण्डा र दाना प्याकिङ गर्ने खोल लगायतका मालवस्तु पनि सबै नष्ट भएको छ।

करिब १ महिनादेखिको बर्डफ्लुले गर्दा पश्चिमको बजार पुरै घटेको छ। अण्डा र मासु लगायत सबैको खपत घट्न थालेको थियो।

ब्रोइलरमा धेरै संक्रमण नफैलिएको हुनाले उत्पादन र आपूर्तिमा धेरै असर नपरेको व्यवसायीले बताएका छन्। यस पटक बर्डफ्लु भेटिए पनि बजारमा मासु तथा अण्डा महँगिएको छैन। खपत सामान्य अवस्थामा छ।

साथै, पशु सेवा विभागले पनि यो वर्ष बर्डफ्लु समयमा नियन्त्रण गर्दा पहिले जस्तो धेरै ठाउँमा नदेखिएको बताएको छ। तराईको क्षेत्रमा धेरै बर्डफ्लु देखिएकोले यसलाई अन्य ठाउँमा फैलन नदिन कुखुरा, दाना, अण्डा सबै नष्ट गरिएको छ। यसरी नष्ट गर्दा बर्डफ्लु एक ठाउँबाट अर्को ठाउँमा नसर्ने विभागले जनाएको छ।

हरेक वर्ष नेपालमा कुखुरामा लाग्ने रोग र अन्य कारणले ५१ प्रतिशत फार्ममा रहेका कुखुरामा क्षति भएको राष्ट्रिय तथ्यांक कार्यालयको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ ले देखाएको छ। व्यवसायीहरूसँग भने क्षतिको यकिन रिर्पोट हुँदैन।

के हो बर्डफ्लु?

बर्डफ्लु पक्षीहरूमा फैलिने अत्यन्त संक्रामक भाइरल रोग हो, जसलाई वैज्ञानिक रूपमा एभियन इन्फ्लुएन्जा भनिन्छ। यो रोग मुख्यतः इन्फ्लुएन्जा ‘ए’ समूहका भाइरसबाट हुन्छ। विशेषगरी एच५एन१, एव५एन८ जस्ता प्रकारले कुखुरा, हाँस, बट्टाइ लगायतका पक्षीमा ठूलो क्षति पुर्‍याउन सक्छन्।

यो रोग फैलिन थालेपछि कुखुरा अचानक बिरामी हुने, दाना कम खाने, अण्डा उत्पादन घट्ने, सास फेर्न गाह्रो हुने र ठूलो सङ्ख्यामा मर्ने जस्ता लक्षण देखिन्छन्। केही प्रकारका भाइरस मानिसमा पनि सर्न सक्ने भएकाले यसलाई सार्वजनिक स्वास्थ्यका दृष्टिले पनि गम्भीर मानिन्छ।

संक्रमण पुष्टि भएका ठाउँमा कुखुरा र कुखुराजन्य पदार्थ किन नष्ट गरिन्छ भने संक्रमितलाई जिउँदै राख्दा रोग तीव्र रूपमा अन्य फार्ममा फैलिन सक्छ। भाइरस हावा, दिसा, पानी, दाना, गाडी, जुत्ता वा मानिसको सम्पर्कबाट पनि सर्न सक्छ।

एकपटक फार्ममा फैलियो भने हजारौँ कुखुरा छोटो समयमै मर्न सक्छन्। मानिसमा संक्रमण सर्ने जोखिम कम गर्न पनि संक्रमित तथा जोखिममा रहेका कुखुरा मारेर व्यवस्थापन गरिन्छ।

त्यसैले पशु स्वास्थ्य निकायहरूले संक्रमित क्षेत्रका कुखुरा नष्ट गर्ने, अण्डा तथा मासु ओसारपसार रोक्ने, फार्म डिसइन्फेक्ट गर्ने र क्वारेन्टाइन लागू गर्ने गर्छन्। यो कदमले आर्थिक रूपमा नोक्सानी भए पनि महामारी नियन्त्रणका लागि प्रभावकारी मानिन्छ।

अण्डाको मूल्य बढ्ने

लेयर्स मासिएकाले अब दैनिक उत्पादनमा कमी आउँदा अण्डाको मूल्य बढ्दै जाने संकेत संघले गरेको छ। संघका अध्यक्ष पोखरेलले बर्डफ्लुभन्दा पनि उत्पादन कम हुने समय भएकाले हरेक वर्ष यो समयमा भाउ महँगिने गरेको बताए।

‘अहिले बजारमा अण्डाको माग राम्रो छ। तर, उत्पादन कम हुँदै जादा माग अनुसारको सप्लाइ दिन सकिएको छैन,’ उनले भने।

यसपटक बर्डफ्लु र गर्मीले गर्दा अण्डा महँगिने हिसाब आइरहेको उनले बताए। बिस्तारै उत्पादन घट्दा आपूर्ति परिमाणमा पनि गिरावट आउनले संघले जनाएको छ।

यद्यपि, पहिलेभन्दा बर्डफ्लुको असर कम हुँदै गएको छ। उत्पादन घट्न थालेपछि संघले भाउ बढाएर एक्सएल क्रेटको ४८५, मिडियम क्रेटको ४१५ र सानो प्रति पेटी २१०० रुपैयाँ पुर्‍याएको थियो।