काठमाडौं। बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि सूचना प्रविधि क्षेत्रमा सबैभन्दा ठूलो लगानी गर्न लागिएको छ।
औद्योगिक क्षेत्रमा अग्रणी कयाल ग्रुप, फेयर ग्रुप र मारुती सिमेन्टका सञ्चालक शरद गोयलले ब्लूचिन डेटा भोल्ट प्रालि मार्फत् ५ अर्बको लगानीमा डेटा सेन्टर सञ्चालन गर्न लागेका हुन्।
उनीहरुले वीवीडीएन टेक्नोलोजिज र गुगल क्लाउडसहितका विश्वप्रसिद्ध आइटी कम्पनीले ब्लूचिन डेटासँगको रणनीतिक सहकार्यमा डेटा सेन्टर सञ्चालनमा ल्याउने भएका हुन्।
यही वैशाख २४ मा यसको औपचारिक घोषणा हुने भएको छ। काठमाडौंमा हुने घोषणा सभामा गुगल, माइक्रोन, एएमडी र वीवीडीएनका उच्च अधिकारी सहभागी हुँदैछन्।
कम्पनीका अनुसार यो डेटा सेन्टर एआई क्लाउडसहितको हुनेछ र गुगलसँग कम्पनीले एक्स्क्ल्युसिभ टाईअप गरेको छ।
कम्पनीले आगामी अगस्ट महिनादेखि वीरगंज र चोभार गरी दुई ठाउँमा एकै पटक डेटा सेन्टर सञ्चालनको सुरुआत गर्नेछ। लगानीका लागि कम्पनीले कर्जा लिने प्रक्रिया समेत अघि बढाइसकेको छ।
समूहले २ अर्ब ६४ करोड रुपैयाँ लगानी गर्ने योजनासहित कर्जाका लागि रेटिङ समेत गराएको छ। यो परियोजनाका लागि २ अर्ब ११ करोड रुपैयाँ वित्तीय संस्थाबाट कर्जा लिने समूहले जनाएको छ।
आगामी तीन वर्षभित्र यस परियोजनामा ५ अर्ब लगानी पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ। यो सेन्टर डेटा स्टोरेज र सफ्टवेयर विकास तथा एआईका लागि नेपालको सबैभन्दा ठूलो प्लेटफर्म हुनेछ।
ब्लूचिन डेटा भोल्टले यसको संरचना अत्याधुनिक प्रविधियुक्त बनाउने र नयाँ पुस्तामा एआईको विकास गर्न निर्णायक भूमिका निर्वाह गर्ने दाबी गरेको छ।
यसले स्टार्टअप र इनोभेसनलाई प्रोत्साहन गर्न र विभिन्न उद्योगमा विस्तारयोग्य डिजिटल रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने एक लगानीकर्ताले बताए।
‘आज हरेक ठूला र मझौला उद्योग व्यवसायलाई नयाँ नयाँ सफ्टवेयर चाहिएको छ। यी उद्योग व्यवसाय एआई प्रविधिमा जान चाहन्छन् तर कहाँबाट प्राप्त गर्ने भन्ने समस्या छ। यही आवश्यकता पूरा गर्न हामी आएका हौं,’ ब्लूचिनका एक सञ्चालकले भने।
उनले कम्पनीले स्कुल, कलेज र अस्पतालमा एआईका प्रयोगशाला राख्ने कार्य गर्ने छ। यसबाट स्कुल कलेजको अध्ययन अध्यापन प्रभावकारी हुनेछ साथै अस्पतालमा उपचार प्रक्रिया छिटो र कुनै पनि परीक्षणको एक्चुअल रिपोर्ट तत्काल प्राप्त हुनेछ।
कम्पनीले कुनै पनि अस्पताल, नर्सिङ होम वा मेडिकल कलेजले एआई प्रक्रियाबाट परीक्षण र शल्यक्रिया गर्ने प्रविधि राख्न चाहेमा त्यसको पनि परिपूर्ति गर्नेछ। ‘हामीसँग आइटी र एआईका सम्पूर्ण पूर्वाधार हुनेछन। यो नेपालको अहिलेसम्मको ठूलो लगानीको पहिलो आईटी उद्योग हुनेछ,’ ती सञ्चालकले भने।
ब्लूचिन डेटा भोल्टले बिजुलीको लाइन दुईतिरबाट ल्याउने छ। डेटा सेन्टरमा बिजुलीको लाइन अनवरत भइरहनु पर्ने हुँदा दोहोरो विद्युत् लाइन जडान गरिने भएको हो। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ठूलो डेटा सेन्टरमा वर्षमा २६ मिनेटभन्दा बढी विद्युत् अवरोध हुनु हुँदैन।
प्रधानमन्त्रीको ‘इन्ट्रेस्ट’को क्षेत्र
सूचना प्रविधि सम्बन्धी लगानीमा प्रधानमन्त्री बालेनको सबैभन्दा बढी चासो रहने गरेको छ। उनले आफ्ना निकटहरुलाई डेटा सेन्टरको ठूलो सम्भावना रहेको बताउने गरेका छन्।
बालेनको चासोका कारण आगामी बजेटमा समेत डेटा सेन्टरका लागि केही सहुलियत घोषणा हुनसक्ने अनुमान गरिएको छ।
‘प्रधानमन्त्रीज्यू डेटा सेन्टरमा ठूलो लगानी आउनसक्ने भन्दै उत्साहित हुनुहुन्छ। डेटा सेन्टरसँगै विश्व बजारमा रहेका अरु सम्भावनाका क्षेत्र खोल्न सकिनेमा विश्वस्त हुनुहुन्छ,’ स्रोतले भन्यो।
बालेन आफैंले पनि आफ्नो सम्पत्ति विवरणमा फेसबुक, युट्युब र टिकटकबाट १ करोड ४६ लाख रुपैयाँ कमाई गरेको उल्लेख गरेका छन्।