काठमाडौं। दुई तिहाई नजिकको जनमत पाएर सरकार हाँकिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पहिलो पटक निजी क्षेत्रलाई छलफलमा डाकेको छ।
रास्वपा सभापति रवि लामिछानेले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतमा आवद्ध उद्योगी व्यवसायीसँग अहिले होटल हिमालयमा छलफल गर्न लागेका हुन्।
व्यवसायीसँगको छलफलमा रविबाहेक पार्टी प्रवक्ता मनिष झा समेत रहनेछन्। उद्योगी व्यवसायीलाई दुई वटा प्रमुख नीतिगत वा व्यवहारिक एजेण्डा पूर्वतयारीका लागि उपलब्ध गराउन भनिएको छ।
‘यहाँलाई वर्तमान आर्थिक अवस्था र व्यावसायिक वातावरणका विषयमा आयोजित एक महत्वपूर्ण अन्तर्क्रियामा हार्दिक निमन्त्रणा गर्न चाहन्छौं। अर्थतन्त्रलाई गति दिन र व्यावसायिक वातावरण सुधारका लागि निजी क्षेत्रले भोगिरहेका वास्तविक सुधारका लागि निजी क्षेत्रले भोगिरहेका वास्तविक समस्या तथा सुझाव सुन्नु हाम्रो प्राथमिकता हो,’ निम्तामा भनिएको छ।
रास्वपाको सरकार स्थापना हुने बेलामा उत्साहित भएको निजी क्षेत्र पछिल्लो समय त्रसित बनेको आभाष भएपछि आश्वस्त तुल्याउन रविले उद्योगी व्यवसायीलाई छलफलमा डाकेका हुन्।
‘सरकारका काम गराइमा निजी क्षेत्र त्रसित बनेको देखिएपछि उनीहरुलाई ढाडस दिनका लागि छलफल कार्यक्रम गरिएको हो,’ स्रोतले भन्यो, ‘त्रसित भएको रिफ्लेक्सन पुँजी बजारमा पनि देखिएको छ। त्यसैले निजी क्षेत्रको मनोबल बढाउन छलफलमा बोलाइएको हो।’
स्रोतका अनुसार नयाँ सरकार आएपछि केही सांसदले उद्योगी व्यवसायीसँग छलफल गरेका थिए। त्यो छलफलमा जग्गाको हदबन्दीदेखि खानीको समस्या सुल्झाउन सकेमा ठूलो लगानी भित्रिएर मुलुकको अर्थतन्त्रले छलाङ मार्ने सुझाव उद्योगी व्यवसायीले दिएका थिए। तर, त्यसको प्रतिकूल सरकारबाट एकपछि अर्को निर्णय हुन थालेपछि उद्योगी व्यवसायी त्रसित बनेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउसँगै उद्योगीहरुमा ‘टेरर’ सुरु भएको थियो। त्यसपछि एमआरपीको मुद्दाले एकैपटक उद्योगी व्यवसायीले सरकारलाई हेर्ने दृष्टिकोण बदलिएको थियो।
‘राज्य दोहनको मनपरी गर्ने केही व्यक्ति पक्राउ पर्नु जायज थियो। तर, कसैलाई नथुनीकन बयान गर्न सकिने अवस्था हुँदाहुँदै पक्राउ गरेपछि सबै व्यवसायी त्रसित बने,’ एक उद्योगीले बिजमाण्डूसँग भने, ‘रुमर यतिसम्म फैलियो कि देशभित्र नाम चलेका सबै उद्योगी व्यापारी पक्राउ पर्दैछन्। त्यसले ठूलो मोरल डाउन भयो।’
ती उद्योगीका अनुसार सरकारले आश्वस्त पार्न पहल नगर्दा समस्या झन् ठूलो बन्यो। ‘रुमरका बारेमा बुझ्ने कुनै निकाय नै भएन। मन्त्रीज्यूहरुसँग इजी एक्सेस भएन। ठूलो अविश्वास खडा भयो,’ उनले भने, ‘सभापतिज्यूसँगको छलफलले ब्रेक थ्रु होला भन्ने अपेक्षा गरेका छौं।’
कार्यक्रममा रास्वपाका उपनेता गणेश पराजुली र अर्थ समितिकी सदस्य विदुषी राणा पनि सहभागी छन्। पार्टी सभापतिले सरकारको अविभावकका रुपमा निजी क्षेत्रसँग समन्वय सुरु गरेको छलफलमा सहभागी एक सांसदले बताए।
प्रधानमन्त्रीले पनि भेट्दै
प्रधानमन्त्री बालेन्द्र शाहले पनि उद्योगी व्यवसायीसँग छलफलको योजना बनाएको स्रोतले बताएको छ।
उद्योगी व्यवसायीलाई कन्फिडेन्समा लिएर अगाडि बढ्नुपर्ने सुझाव प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार वेनसम्म पुगिसकेको छ। त्यही सुझावका आधारमा निजी क्षेत्रसँग बालेनले छलफल गर्ने योजना बनेको हो।
स्रोतका अनुसार छलफलमा प्रधानमन्त्री बालेनलाई छोटो समय सहभागी गराइनेछ। ‘कति जना र को-को उद्योगी व्यापारीलाई सहभागी गराउने भन्ने तय भएको छैन। तर, सानो टिमसहित छलफल अगाडि बढाउने भन्नेछ, स्रोतले भन्यो।’