काठमाडौं । खाडी क्षेत्रमा लगातारको तनाव, उद्योगहरूको उत्पादनमा आएको गिरावट र देशभर भइरहेको निरन्तर वर्षाले यस वर्ष नेपाल विद्युत प्राधिकरणलाई विद्युतको ‘लोड म्यानेजमेन्ट’ अपेक्षाकृत सहज बनाएको छ। विगतका वर्षहरूमा चैत–वैशाख प्राधिकरणका लागि सबैभन्दा चुनौतीपूर्ण समय मानिन्थ्यो। तर यस पटक उद्योगहरूको विद्युत माग घट्नु र वर्षाका कारण ऊर्जा उत्पादन बढ्नुले प्राधिकरणलाई व्यवस्थापनमा राहत दिएको हो।
प्राधिकरणका अधिकारीहरूका अनुसार सुक्खायाममा नदीको बहाव घट्दा बर्सेनि आन्तरिक उत्पादन कम हुन्छ। त्यसमाथि भारतबाट पनि २४ सै घण्टा विद्युत आयात सुनिश्चित नहुने भएकाले चैत र वैशाखमा विद्युत व्यवस्थापन निकै कठिन बन्थ्यो। यस वर्ष भने परिस्थिति केही फरक देखिएको छ।
प्राधिकरणका एक कर्मचारीका अनुसार खाडी क्षेत्रमा जारी तनावका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। अर्कोतर्फ लगातारको वर्षाले जलविद्युत आयोजनाहरूमा पानीको बहाव कायम राखेकाले उत्पादन पनि गत वर्षको तुलनामा उल्लेख्य बढेको छ। ‘पूर्ण सहज अवस्था त होइन, तर गत वर्षको तुलनामा लोड व्यवस्थापन धेरै सहज भएको छ,’ ती कर्मचारीले भने।
वर्षाका कारण तापक्रम घट्दा घरायसी क्षेत्रमा एसी, पंखा लगायतका उपकरणको प्रयोग पनि कम भएको छ। त्यसले घरेलु विद्युत खपतमा समेत कमी आएको प्राधिकरणको भनाइ छ। उद्योग र घरायसी दुवै क्षेत्रमा माग घट्दा प्रणालीमाथिको दबाब कम भएको हो।
प्राधिकरणका अनुसार अहिले पिक आवरमा आन्तरिक उत्पादन करिब १४०० देखि १५०० मेगावाट हाराहारी पुगेको छ। अघिल्ला वर्षहरूमा यही अवधिमा पिक उत्पादन करिब १२०० मेगावाट आसपास सीमित हुन्थ्यो। प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार राष्ट्रिय पिक डिमाण्ड २१०० मेगावाटभन्दा माथि पुगेको छ भने कुल प्रणाली माग २३०० मेगावाट हाराहारीमा छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की ले निरन्तर वर्षाका कारण अधिकांश आयोजनाको उत्पादन गत वर्षभन्दा २० देखि २५ प्रतिशतसम्म बढेको बताए। ‘यो समय सामान्यतया उत्पादन घट्ने बेला हो। तर यस वर्ष लगातार पानी परेकाले अधिकांश आयोजनाले राम्रो उत्पादन दिएका छन्,’ उनले भने।

उद्योग क्षेत्रको माग घट्नु पनि प्राधिकरणका लागि राहतको अर्को कारण बनेको छ। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारु का अनुसार निर्माण क्षेत्र सुस्त हुँदा सिमेन्ट उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन्। ‘खाडी तनावका कारण कच्चा पदार्थ महँगिएको छ, निर्माण क्षेत्र पनि सुस्त छ। बजारमा माग नै घटेको छ,’ उनले भने, ‘उत्पादन गत वर्षको तुलनामा करिब २५ प्रतिशतले घटेको छ।’
प्लास्टिक उद्योगहरूमा अवस्था अझ जटिल छ। सञ्चालनका लागि बिजुलीमा निर्भर उक्त क्षेत्रको खपत निकै नै कम छ। नेपाल प्लास्टिक उद्योग संघका पूर्व अध्यक्ष शरद शर्मा का अनुसार अधिकांश उद्योग अहिले आंशिक रूपमा सञ्चालनमा छन्, केही उद्योग बन्द छन्। ‘कच्चा पदार्थ भारतबाट ल्याउनुपर्छ। भारतले आफ्नै उद्योगलाई प्राथमिकता दिइरहेको छ। पाइहाले पनि मूल्य ६५ देखि ७० प्रतिशतसम्म बढेर आएको छ,’ उनले भने, ‘त्यसैले धेरै उद्योग सञ्चालनमै छैनन्।’
नेपालभर भाँडा, पाइप, अस्पतालमा प्रयोग हुने सिरिन्ज लगायत उत्पादन गर्ने करिब ७०० प्लास्टिक उद्योग सञ्चालनमा छन्। ती उद्योग शतप्रतिशत विद्युतमा आधारित छन्। उद्योगहरू बन्द वा आंशिक सञ्चालनमा रहँदा विद्युत माग उल्लेख्य घटेको व्यवसायीहरू बताउँछन्।
प्राधिकरणको तथ्यांकअनुसार अहिले निजी क्षेत्रबाट पनि उल्लेख्य विद्युत आपूर्ति भइरहेको छ। दैनिक ऊर्जा आपूर्तिमा निजी उत्पादकहरूको योगदान बढ्दो छ भने आयातमा निर्भरता तुलनात्मक रूपमा घटेको देखिन्छ।
विद्युत क्षेत्रका जानकारहरूका अनुसार यस वर्षको सहजता अस्थायी हुन सक्छ। उद्योगहरू पुनः पूर्ण क्षमतामा फर्किए वा वर्षा कम भएमा प्राधिकरण फेरि पुरानै दबाबमा पर्न सक्छ। त्यसैले प्रसारण लाइन विस्तार, ऊर्जा भण्डारण र दीर्घकालीन माग व्यवस्थापनमा ध्यान नदिए भविष्यमा पुनः संकट दोहोरिन सक्ने उनीहरूको भनाइ छ।