BIZMANDU
www.bizmandu.com

स्थिर सरकारसँग डराए लगानीकर्ता, सक्रिय कारोबारी तितरबितर, बजार अझै अनिश्चित

२०८३ बैशाख १८

स्थिर सरकारसँग डराए लगानीकर्ता, सक्रिय कारोबारी तितरबितर, बजार अझै अनिश्चित
स्थिर सरकारसँग डराए लगानीकर्ता, सक्रिय कारोबारी तितरबितर, बजार अझै अनिश्चित


काठमाडौं। बालेन्द्र शाह प्रधानमन्त्री हुनुअघि सेयर बजार सूचक २९५० अंकमा थियो। बालेन्द्रले चैतको १३ गते शुक्रबार १६ जना मन्त्रीसहित सपथ लिए।

Tata
GBIME

शुक्रबार र शनिबारको बिदापछि आइतबार खुलेको बजारले झण्डै दुई तिहाइ बहुमतसहितको सरकारलाई विश्वास गर्न सकेन, सूचक आइतबार ७१ र सोमबार ४७ अंकले घट्यो।

बालेन प्रधानमन्त्री भएयताको २४ कारोबार दिनमध्ये बजार सूचक १५ दिन घटेको छ। बिहीबारसम्म नेप्से सूचक २१२ अंकले घटेर २७३८ अंकमा आइसकेको छ।

उच्च अंकले घट्ने र झिनो अंकले मात्र उक्लिने क्रमले निरन्तरता पाएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चैत २३ गते पत्रकार तथा लगानीकर्तासँग भेटेर ‘सूचक घट्दैमा आत्तिनु पर्दैन, सरकारले सुनौलो दिनका लागि काम गरिरहेको छ’ भनेर आश्वस्त पार्न खोजे।

त्यसको प्रभाव दुई दिनभन्दा बढी टिक्न सकेन, बजार पुन: ओरालो लाग्न थाल्यो। नयाँ सरकार बनेयता लगानीकर्ताको ३ खर्ब ३८ अर्ब रुपैयाँको पुँजी क्षयीकरण भइसकेको छ। छोटो समयमा उच्च दरले पुँजी क्षयीकरण मात्र भएको छैन, लगानीकर्ता बजारबाट बाहिरिन थालेका छन्।

स्टक ब्रोकरहरुका अनुसार, सरकारसँग लगानीकर्ता डराएका छन्। हरेक दिनजस्तो व्यवसायी पक्राउ पर्ने र सम्पति शुद्धीकरण सम्बन्धी अनुसन्धानको त्रासले लगानीकर्ता बजारबाट टाढा हुन थालेका हुन्।

‘कारोबार रकमले नै धेरै कुरा पुष्टि गर्छ,’ ती ब्रोकरले भने, ‘स्थिर सरकार भए पनि उसको कार्यशैली मनोबल बढाउने, लगानी आकर्षित गर्ने खालको छैन। सामान्य आरोपमा पनि छानबिनमा पर्नु पर्ने अवस्था छ।’

सेयर बजारका नियमित र ‘बल्क कारोबारी’मा संस्थागत लगानीकर्ताबाहेक विभिन्न क्षेत्रका व्यवसायी र व्यापारी छन्।

‘उनीहरूमाथि छानबिन भइरहेको र हुने भन्ने समाचार आइरहेका हुन्छन्,’ अर्का एक ब्रोकरले भने, ‘यसले डरको माहोल बनाएको छ। डरमा कसैले लगानी गर्दैन।’

सेयर बजारलाई ‘भाइब्रेन्ट’ बनाउने खास समुदाय अहिले तितरबितर भएको छ। जुनसुकै बेला धरपकडमा परिने डरले उनीहरूमध्ये धेरैले नेपाल छाडेका छन् वा सबै गतिविधि बन्द गरेर ‘अन्डर ग्राउण्ड’ भएका छन्।

‘अन्यत्र कतै लगानी गर्ने ठाउँ नहुँदा अरु बेला सबैले पैसा सेयर बजारमा लगाउँथे,’ ती ब्रोकरले भने, ‘संकटका बेलामा नेपालको सेयर बजार उकालो लाग्ने गरेको थियो। यसपालि सेयर बजारमा समेत लगानी गरेनन्।’

कतिपय भने लगानीकर्ताहरूले बजेट र मौद्रिक नीति कुरिरहेको बताउँछन्।

‘अरु बेला पनि बजेट र मौद्रिक नीतिअघि बजार घट्ने वा स्थिर हुने गर्थ्यो। यसपालि पनि बजारले त्यही प्रवृत्तिलाई पच्छ्याएको छ,’ अर्का ब्रोकरले भने।

बालेनले देशको शासन सत्ता सम्हालेपछि बजार पुँजीकरण ५० खर्ब ९ अर्बबाट घटेर ४६ खर्ब ७१ अर्बमा ओर्लिसकेको छ।

बजारलाई चलायमान बनाउने ‘स्पेकुलेटर’हरू पनि निस्कृय भएका छन्। आधार-प्रमाणविनै राज्यले धरपकड गर्न सक्ने त्रास उनीहरूमा छ। लगानीका लागि सबै सूचक सकारात्मक हुँदाहुँदै पनि बजार घट्नुको प्रमुख कारण डर रहेको उनीहरू बताउँछन्।

‘नयाँ सरकारसँग अपेक्षा पनि गरेको देखिन्छ। तर, त्योभन्दा ठूलो डर देखिन्छ,’ ती ब्रोकरले भने, ‘अर्थमन्त्रीले माहोल बनाउन खोजेको देखिन्छ। तर, सरकारको गतिविधि ठिक विपरीत छ।’

बजार घट्दा सस्तो सेयर उठाउनेहरू विगतमा सक्रिय हुन्थे। यसपालि ती लगानीकर्ता पनि बजार प्रवेश गर्न डराइरहेका छन्।

उनका अनुसार सरकारले लिने दिशा अझै स्पष्ट छैन। सरकारको नीति र काम गराइ स्पष्ट नहुन्जेल सेयर बजारमा डरको माहोल रहिरहने छ।

‘अहिले बजार अन्य सूचकका कारणले, अस्थिरताका कारणले घटेको होइन,’ ती ब्रोकर भन्छन्, ‘डरले घटेको हो।’